१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बन्द हुने भयो इन्टरनेट एक्स्प्लोरर

एजेन्सी

काठमाडौँ — इन्टरनेट एक्स्प्लोरर बन्द हुने भएको छ । २७ वर्ष पुरानो यो वेब ब्राउजर असार १ (बुधबार) बाट सधैंका लागि बन्द हुने माइक्रोसफ्टले जनाएकाे छ । सन् १९९५ मा विन्डोज ९५ को एड–अन प्याकेजका रूपमा इन्टरनेट एक्स्प्लोरर सुरु भएकाे थियो । माइक्रोसफ्टको प्याकेज किन्दा एक्स्प्लोरर सित्तैमा उपलब्ध हुन्थ्यो ।

बन्द हुने भयो इन्टरनेट एक्स्प्लोरर

सन् ९० काे दशकमा इन्टरनेटमा प्रवेश गर्न प्राय: मानिसहरू इन्टरनेट एक्स्प्लोरर प्रयोग गर्थे । त्यतिबेला यो खुब लोकप्रिय थियो । तर, अन्य ब्राउजरले गुणस्तरीय सेवा दिन थालेपछि एक्स्पोलररको लोकप्रियता घट्दै गयो । समय यस्तो पनि आयो, एक्स्प्लोररलाई स्लो स्पिडको पर्याय मान्न थालियो । यसको ढिलो गतिलाई लिएर अनेक मिमहरू बनेका छन् ।

पछिल्लो समय विन्डोजमा अन्य ब्राउजर इन्स्टल गर्न इन्टरनेट एक्स्प्लोरर प्रयोग गर्ने गरिएको थियो । विन्डोज टेनबाट भने माइक्रोसफ्ट एजले एक्स्प्लोररको स्थान लिएको थियो । इन्टरनेट एक्स्प्लोरर बन्द भएपछि यसमा चल्ने वेबसाइट र एप्लिकेसनहरू अब एजमा हेर्न सकिनेछ । माइक्रोसफ्ट एजका प्रोग्राम म्यानेजर सन लिन्डरसेले भनेका छन्, ‘माइक्रोसफ्ट एज द्रुत, सुरक्षित र थप अद्यावधिक छ । साथै पुराना र प्रतिष्ठित वेबसाइट र एप्लिकेसनका लागि पनि यो निकै अनुकुल छ ।’

सन् ९० को दशकमा प्रयोगकर्तालाई इन्टरनेटबारे परिचित गराउन इन्टरनेट एक्स्प्लोरर विशेष माध्यम थियो । त्यो बेला एनसीएसए मोजाइक, नेटस्केपजस्ता ब्राउजर उपलब्ध थिए । नेटस्केप र एक्स्प्लोररबीच व्यापक प्रतिस्पर्धा हुन्थ्यो । सन् १९९७ मा माइक्रोसफ्टले इन्टरनेट एक्स्प्लोरर ४.० सार्वजनिक गरेपछि माहोल तात्तिएको थियो । कम्पनीले ठूलो आकारको ‘ई’ बनाएर नेटस्केपको मुख्यालय अगाडि स्थापना गरिदियो । नेटस्केपले ‘ई’ लाई त्यहाँबाट हटाएर मोजिलाको ठूलो डाइनोसर मस्कट राखिदियो ।

त्यसपछि माइक्रोसफ्टले इन्टरनेट एक्स्प्लोररलाई विन्डोज अपरेटिङ सिस्टममा समाहित गरेर विश्वभर निर्यात गर्न थाल्यो । चार वर्षभित्रमा यसले ७५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भयो । सन् १९९९ मा एक्स्प्लोररले ९९ प्रतिशत बजार हिस्सा ओगटेको थियो । बजारमा एकाधिकार कायम गरेकोमा माइक्रोसफ्टविरुद्ध मुद्दा हालियो । त्यही बेला नेटस्केपले आफ्नो कोडबेस (सोर्स कोड) सार्वजनिक गर्दै गैरनाफामूलक मोजिला ब्राउजर सुरु गर्‍यो । सन् २००२ मा यसले फायरफक्स बजारमा ल्याएपछि प्रयोगकर्ताले वेब ब्राउजिङमा विकल्प पाए ।

सन् २०१० सम्म आइपुग्दा ओपेरा, सफारी, गुगल क्रोमजस्ता ब्राउजर चल्तीमा आइसकेका थिए । यिनले एक्स्प्लोररको बजार हिस्सा स्वात्तै हटाइदिए । सन् २०१५ मा विन्डोज टेन सार्वजनिक गर्दा माइक्रोसफ्टले इन्टरनेट एक्स्प्लोररलाई माइक्रोसफ्ट एजले प्रतिस्थापन गरेको थियो ।

आजको दिनमा फायरफक्स, गुगल क्रोम, माइक्रोसफ्ट एज, सफारी र ओपेरा मुख्य प्रतिस्पर्धी हुन् । तर, अहिले इन्टरनेटमा पहुँच बनाउने अनेक तरिका आइसकेका छन् । अधिकांशले मोबाइल डिभाइसबाटै इन्टरनेटमा प्रवेश गर्ने गरेका छन् । तसर्थ, अनलाइनमा जान मोबाइल ब्राउजर र एप्लिकेसनको धेरै प्रयोग हुन्छ । अधिकांश कम्पनीले आईओएस र एन्ड्रोइड डिभाइसका लागि मोबाइल–मैत्री वेब ब्राउजर बनाइसकेका छन् । झन्डै तीन दशक लामो इतिहास भएको इन्टरनेट एक्स्प्लोरर बन्द हुने खबरले यसका पुराना प्रयोगकर्ता एक हिसाबले खिन्न बनेका छन् । आजसम्म पनि इन्टरनेट एक्स्पोलररबाटै वेब सर्फिङ गर्ने प्रयोगकर्ता छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?