२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ठेक्का तोडे पनि टिकुलिया पुलको काम गर्दै पप्पु

ठेकेदारले सडक डिभिजनलाई झुक्यायो
साइडमा सडकका कर्मचारी छैनन्
शिव पुरी

रौतहट — पप्पु कन्स्ट्रक्सनले ठेक्का तोडिएकै पुलको काम धमाधम अघि बढाएको खुलेको छ । लामो समय अलपत्र छाडेको पुलको काम सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरलाई थाहै नदिई झुक्याएर सुटुक्क सुरु गरेको हो । उक्त पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिएको ५ वर्ष हुन लागेको छ ।

ठेक्का तोडे पनि टिकुलिया पुलको काम गर्दै पप्पु

गौर नगरपालिका–४ स्थित लालबकैया नदीको टिकुलिया घाटमा पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको पुलको सडक डिभिजन चन्द्रनिगाहपुरले जेठ १० मै ठेक्का तोडिसकेको छ । ठेकेदारले सम्झौताअनुसार काम नगरेको र पटकपटक लिखित तथा मौखिक ताकेता गर्दा पनि बेवास्ता गरेकाले सम्झौताको सर्तबमोजिम ठेक्का तोडिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पप्पु कन्स्ट्रक्सनले ठेक्का सकारेको लालबकैया नदीको पुल, नीलगिरि नेसनल क्यानन जेभीको झाँझ नदी पुल, गौर पिपरा सडक र सपना निर्माण सेवाले ठेक्का सकारेको चाँदी खोला विश्रामपुर हजरियाको पुलको गत जेठ १० मै ठेक्का तोडिएको हो । ठेक्का तोडेको अवस्थामा पप्पु कन्स्ट्रक्सनले कुनै जानकारी नदिई काम गरेको फेला पारिएको सडक डिभिजन प्रमुख दरोगाप्रसाद साहले जनाए । ‘ठेक्का तोडिसकेपछि ठेकेदारले काम गर्न पाउँदैन,’ उनले भने, ‘उक्त ठेक्काको म्याद पनि सकिएको छ । थपिएकै छैन । अब अर्को प्रक्रियामा गइसकेको छ ।’ पुल निर्माणको काम भइरहेको साइडमा सडकका कर्मचारी छैनन् । सडक कार्यालयलाई काम सुरु भएकै थाहा छैन । साइडमा पप्पुले आफ्ना इन्जिनियर जमुना यादवलाई खटाएको छ । यादवकै नेतृत्वमा धमाधम पुलको स्ल्याब ढलान भइरहेको छ । ढलान गुणस्तरीय छ/छैन भनी निगरानी गर्ने सडकका प्राविधिक छैनन् ।

पप्पुले निर्माणाधीन अवस्थामा बीचमै काम छाडेर गएपछि ठेकेदारको लापरबाही भन्दै सडकले म्याद नथपेको हो । सम्झौताअनुसार ठेकेदारले काम गर्ने म्याद सकिएको झन्डै ५ वर्ष भइसकेको छ । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो । लागत एस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर सकार गरेर तीन वर्षभित्र निर्माण कार्य पूरा गर्ने लिखित सम्झौता गर्दै ०७१ असार २९ मा पप्पु कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले सम्झौता गरेका थिए । लालबकैया नदी टिकुलिया घाटको पुलको ठेक्का नम्बर १३९–०७१/०७२ हो ।

ठेकेदारले बिनाकारण बीचमै काम छाडेर गएपछि पुल अलपत्र परेको थियो । ठेक्काको सम्झौता ०७४ असार २५ मा सकिएको छ । यहीबीचमा ठेकेदारले निर्माणमा लापरबाही गरेपछि सडक डिभिजनले ०७४ माघ २९ मा सम्झौताअनुसार काम किन नसकेको भन्दै पत्र पठाएको थियो । पत्रको ठेकेदार कम्पनीले बेवास्ता गर्‍यो । चैत ६ मा अर्को पत्र पठाएर काम चित्तबुझ्दो नभए सार्वजनिक खरिद ऐनअनुसार कारबाही हुने चेतावनी दिइयो । सडक डिभिजनले ७ दिनभित्र कामको प्रगति विवरणसहित उपस्थित हुन भन्दै चैत २५ मा थप पत्र पठायो । ‘पटकपटक ताकेता गरे पनि कामै नगरी चुप बसेपछि बाध्य भई ठेक्का ताडेका हौं । अब सुटुक्क काम सुरु गर्छ भने यो गलत हो,’ प्रमुख दरोगाले भने । लामो समय काम छाडेर चुप बसेको ठेकेदारले ठेक्का तोडेको थाहा पाएपछि तीन दिनअघिबाट काम सुरु गरेको हो । उसले उच्च अदालत वीरगन्जमा ठेक्का रद्दबारे मुद्दा दिएको छ । अदालतले ठेक्का रद्द गर्नुको कारणबारे सडक कार्यालयसँग जवाफ मागेको छ । सडक डिभिजनका अनुसार रद्द भएको अवस्थामा अदालतले अन्तरिम आदेशमा काम गर्न दिनू भनेको छैन । ठेकेदारले जबर्जस्ती काम गरेको सडकको आरोप छ । ६ वटा स्पानमध्ये ४ वटाको काम सकेर अब दुुई मात्र बाँकी रहेको ठेकेदार कम्पनीका इन्जिनियर यादवले बताए ।

‘ठेक्का रद्द भए पनि अदालतले अन्तरिम आदेशबाट काम सुरु गरेका हौं,’ उनले भने, ‘सडक डिभिजनलाई भनेरै काम थालेका हौं । यसको जानकारी माथिल्लो निकायलाई समेत दिनहुँ गराइरहेका छौं ।’ पुलको काम ७० प्रतिशत सकिएको उनको दाबी छ । सडकलाई म्याद थपका लागि जति पटक भने पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

आठ वर्षमा ठेकेदारले ७० प्रतिशत निर्माणको काम गरेको छ । पुलको पश्चिम भागको दुई वटा गडरको काम गुणस्तरहीन भएकाले चर्किएको सडकले जनायो । लामो समय निर्माणकै अवस्थामा साइड छाडेपछि पिलर र स्पानमा लगाउन राखिएका डन्डीमा खिया लागेको छ । तिनै रड राखेर ठेकेदारले धमाधम ढलानको काम गरेको छ । टिकुलिया घाटमा पुल नबन्दा वर्षाका बेला स्थानीयले सास्ती भोग्नुपरेको छ । पुलकै कारण ०७५ भदौ ९ मा डुंगा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । उक्त डुंगामा सवार २४ जनाले पौडिएर ज्यान जोगाएका थिए ।

प्रकाशित : जेष्ठ २९, २०७९ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?