आरोही र पदयात्रीले नाम्चे गुल्जार

१० महिनामा नेपाली ४७६८, सार्क मुलुकका ३१०४ र विदेशी १४९३२ पर्यटक आए
मनोज पौडेल

नाम्चे, सोलुखुम्बु — एक साताका लागि नेपाल घुम्न आएकी मेक्सिकोकी मारियाना नाम्चे पुग्दा औधी रमाइन् । भित्ता खोपेर बनाइएका हरिया छाना भएका घर र ढुंगा छापेको गोरेटो बाटो उनका लागि नौलो थियो । घरका झ्यालबाटै सेताम्य हिमाल देखेपछि झन् रोमाञ्चित बनिन् । यही कारणले आफ्नो यात्रा पाँच दिन थपिन् । उकालीओराली गर्दै सगरमाथा बेस क्याम्प पुगेर नाम्चे फर्कंदा उनी निकै खुसी थिइन् । ‘निकै खुसी भएँ,’ उनले भनिन्, ‘अर्को वर्ष परिवारै लिएर आउँछु ।’

आरोही र पदयात्रीले नाम्चे गुल्जार

उनीजस्तै जर्मनीकी पर्यटक भेरेना स्केलिमियार पनि पदयात्राका लागि नाम्चे आएकी थिइन् । ‘विश्वकै सर्वोच्च शिखर सगरमाथा सुरु प्रवेशद्वार लुक्लाबाट माथि छिचोलिँदा मनै रमाउन थाल्छ,’ उनले भनिन्, ‘नाम्चे पुग्दा स्वर्णिम आनन्दको अनुभूति भयो ।’ नाम्चेबाट आफू हिमालै हिमालले घेरिएको देख्दा अविस्मरणीय लागेको उनले सुनाइन् । ‘साँच्चै नाम्चेले पर्यटक आकर्षित गर्ने बरदानै पाएजस्तो छ,’ उनले भनिन्, ‘यहाँ एक साता बसेको पत्तै भएन ।’

कोरोना कहर कम भएसँगै मुलुकको प्रमुख पर्यटकीय स्थल नाम्चे बजार विस्तारै गुल्जार भएको छ । कोरोना महामारीका कारण दुई वर्ष ठप्प रहेको पर्यटन क्षेत्रमा चहलपहल बढेसँगै नाम्चे बजार पनि पुरानै लयमा फर्किन लागेको हो । अहिले जताततै पर्यटक देखिन्छन् । कोरोनाले दुई वर्षदेखि सुस्ताएको पर्यटन व्यवसायले गति लिएपछि व्यवसायी पनि खुसी छन् । समुद्र सतहदेखि ३ हजार ४ सय ४० मिटरको उचाइमा पर्ने नाम्चे सगरमाथा जाने प्रवेशद्वार हो । यस वर्षको पर्यटकीय मौसममा विदेशी पर्यटकको संख्या उल्लेख्य बढेको छ । यहाँ सगरमाथा आरोहण, बेस क्याम्पसम्मको पदयात्रा र सगरमाथा राष्ट्रिय निकुञ्ज भ्रमणका लागि विदेशी पर्यटक आउँछन् ।

दुई वर्षदेखि बर्सेनि मुस्किलले ३ हजार पर्यटक आएको नाम्चेमा यस वर्ष चैतमा मात्रै ८ सय ११ नेपाली, सार्क मुलुकका ३ सय ४ र तेस्रो मुलुकका ४ हजार ५१ पर्यटक आएको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु रोकायाले बताए । वैशाखमा नेपाली ८ सय ९०, सार्क मुलुकका १ हजार १ सय ७१ र तेस्रो मुलुकका ६ हजार पर्यटक आएका थिए । जेठ १५ गतेसम्म ७ सय नेपाली र ३ हजार बढी विदेशी पर्यटक नाम्चे आएको उनले बताए । चालु आवको १० महिनामा नेपाली ४ हजार ७ सय ६८, सार्क मुलुकका ३ हजार १ सय ४ र विदेशी १४ हजार ९ सय ३२ पर्यटक आएको रोकायाले बताए । ‘पर्यटक वृद्धिले यहाँ सबैलाई ऊर्जा थपेको छ,’ उनले थपे । महामारीले गर्दा लगभग दुई वर्ष पसल बन्द गरेर काठमाडौं गएका नाम्चेका व्यवसायीले पनि फर्किएर अहिले पुनः व्यवसाय सुरु गरिरहेका छन् । वसन्तयामको सुरुआतसँगै खुम्बु क्षेत्रमा आरोही र पदयात्रीको चहलपहल बढेको नाम्चे होटलकी सञ्चालक आङमाया शेर्पाले बताइन् । ‘गएको दुई वर्ष दिन काट्नै गाह्रो भयो,’ उनले भनिन्, ‘कहिले काठमाडौं कहिले नाम्चे गरेर बितायौं ।’ अहिले विदेशी पर्यटकको भीड देख्दा खुसीको सीमै नभएको उनले बताइन् ।

प्रायः सगरमाथा क्षेत्रमा पुग्ने आरोही र पदयात्रीका लागि आराम गर्ने स्थल नाम्चे बजार हो । केही आरोही खुम्बु आइसफलतिर लागिसकेका छन् भने केही आउने क्रम जारी छ । ‘अहिले पर्यटक आगमनले लय समातेको छ,’ व्यवसायी राजु पुलामी मगरले भने । हेलिकोप्टरलाई पर्यटक ओसार्न भ्याइनभ्याइ भएको तेन्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख द्वारिकानारायण अछामीले बताए । ‘लुक्लाबाट सीता, तारा र समिट एयरले दैनिक १६ उडान गर्दै आएका छन्,’ उनले भने, ‘तर कहिलेकाहीं त्यसले पनि पुग्दैन ।’

सगरमाथा र गोक्यो आरोहणमा जानेका लागि नाम्चे मुख्य बिसौनी हो । त्यस्तै रेन्जो र छो भन्ज्याङ हुँदै पदयात्रामा निस्कनेका लागि पनि नाम्चे पुग्नुपर्छ । अहिले सगरमाथा आरोही तथा सगरमाथा बेस क्यापसम्म जाने पर्यटकको किनमेलको थलोका रूपमा समेत परिचित हुँदै गएको छ, नाम्चे । अग्ला हिमालले घेरिएर फेदीमा चिटिक्क परेर रहेको सुन्दर बस्ती नाम्चे आउने पदयात्री र आरोहीलाई शेर्पा जातिको संस्कृतिले उस्तै आकर्षित गर्छ । नाम्चेमा खुलेका ७० भन्दा बढी होटल एवं लजले पर्यटकलाई छनोटको सुविधा दिएका छन् । बाटोभरि रंगीचंगी कपडाका बौद्ध परम्पराको ध्वजापताका र ठाउँठाउँमा ढुंगामा कुँदेर राखिएका माने, बुद्धका मूर्ति र अभिलेख पनि उत्तिकै छन् । नजिकै देखिने पूर्वमा ६ हजार ८ सय ८ मिटर अग्लो थाम्सेर्कु र पश्चिममा ६ हजार १ सय ८७ मिटर अग्लो कोङ्दे हिमालले नाम्चेको पर्यटकीय आकर्षणलाई गतिलो ऊर्जा थपेको छ ।

प्रकाशित : जेष्ठ २२, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?