कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा ‘गर्मीसे बेहाल ? चलो नेपाल’ अभियान 

उद्योग परिसंघको भारत र बंगलादेश लक्षित पर्यटन प्रबर्द्धन अभियान

काठमाडौँ — नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटक लक्षित ‘समर टुरिजम क्याम्पेन’ संचालन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको घोषणा गरिएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ पछि भारत र बंगलादेशका नागरिक बाहिरी मुलुकको भ्रमणमा निस्कन थालेको अवस्था रहेकाले उनीहरुलाई नेपालमा आकर्षित गर्न अभियान थालिएको बताए ।

भारतमा ‘गर्मीसे बेहाल ? चलो नेपाल’ अभियान 

उनले भने ‘हाल भारत तथा बंगलादेशमा निकै गर्मी छ, गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्नेछ ।’ गर्मीलाई लक्षित गर्दै परिसंघले भारतमा ‘गर्मीसे बेहाल ? चलो नेपाल’ अभियान थालेको हो । उस्तै शब्द बंगलादेशमा पनि चलाइने छ । ‘पर्यटन यस्तो उद्योग हो, जहाँ एक विदेशी एक पटक आउँदा त्यसले धेरै क्षेत्रमा मूल्य अभिवृद्धि गर्नुका साथै विदेशी मुद्रा आर्जन हुन्छ’ अग्रवालले भने ‘त्यसैले परिसंघले नेपालमा पर्यटक भित्र्याउन यो अभियान संचालन गरेको हो ।’ यो अभियानले भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने अग्रवालको भनाइ छ ।

भारत र बंगलादेश द्रुत रुपमा आर्थिक वृद्धि भइरहेका मुलुक हुन् । नेपालसँग हवाई सञ्जाल राम्रो र सहज पनि भएकाले यी देशका नागरिक अन्य मुलुकमा भ्रमण गर्नुभन्दा नेपालमा आउन सहज रहेको अग्रवाल बताउँछन् । ‘त्यसैले उनीहरुलाई हाम्रो गन्तव्य, मौसमको बारेमा राम्ररी जानकारी गराउनुपर्छ’ उनले भने ‘कोभिडपछि उनीहरु विस्तारै बाहिर निस्कन थालेकाले यो अभियान अहिले जरुरी भइसकेको हो ।’ सन् २०१९ मा २ करोड ६३ लाख बढी भारतीयहरु र २५ लाख बंगलादेशी नागरिक अन्य मुलुकको भ्रमणमा निस्किएको तथ्यांक छ ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले भारत र बंगलादेशमा उच्च गर्मीबाट शितलता खोजिरहेका नागरिकलाई अहिले नेपालको मौसम अनुकूल रहेकाले आकर्षित गर्नुपर्ने बताए । ‘यतिबेला नेपालमाजस्तो अनुकूल मौसम अन्य कुनै पनि मुलुकमा छैन । कोभिडका कारण दुई वर्ष बाहिर निस्किएनन् । त्यसैले उनीहरुलाई नेपालको मौसममा रमाउनका लागि यो अभियानले पक्कै आकर्षित गर्नेछ’ उनले भने ।

परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रबर्द्धन गरिने बताए । परिसंघले भारतमा अल इन्डिया एसोसिएसन अफ इन्डस्ट्रिज, फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिज, फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रिज, पीएचडी च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिसँग सहकार्य गर्दै आएको छ । यस्तै बंगलादेशको मेट्रोपोलिटिन च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्री र ढाका च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग पनि परिसंघले सहकार्य गर्दै आएको छ । यो अभियान यी संस्थाहरुमार्फत पनि ती देशमा प्रबर्द्धन गरिने जोशीले बताए । यस्तै भारत र बंगलादेशमा रहेका पर्यटनसँग सम्बन्धित संस्थाहरुसँग पनि परिसंघले अन्तर्राष्ट्रिय रुपमा समन्वय र सहकार्य गर्दै आएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?