प्रतिपक्षीलाई अर्थमन्त्रीको जवाफ : बजेटमा अनुदान छैन, प्रोत्साहन छ

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित नभएको बताएका छन् । बरु यो बजेटले किसानहरूलाई प्रोत्साहन गरेको उनले बताए । प्रतिपक्षी दलका सांसदहरूलाई लक्षित गर्दै उनले बजेटमा अनुदानको कुरा नभएर प्रोत्साहनको कुरा रहेको उनको भनाइ थियो ।

प्रतिपक्षीलाई अर्थमन्त्रीको जवाफ : बजेटमा अनुदान छैन, प्रोत्साहन छ

बुधबार राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

यसअघि प्रतिपक्षी दल नेकपा एमालेसहित दलका सांसदहरूले बजेटले चुनाव लक्षित भएर 'कार्यकर्तालाई पैसा बाँड्ने' काम गरेको टिप्पणी गरेका थिए । अर्थमन्त्री शर्माले भने आगामी आर्थिक वर्षको बजेट चुनावलाई लक्षित गरेर नल्याइएको भन्दै बजेटमा पैसा बाँड्ने कुरा कतै नगरेको दाबी गरेका छन् । मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा अनुदान बाँडिएको अभ्यासको झझल्को अहिले पनि आइरहेको व्यंग्य गरे ।

‘बजेटमा चुनावलाई ध्यानमा राखेर पैसा बाँड्ने कार्यक्रम मात्रै बनाइयो भन्ने छ तर यहाँ कतै पैसा बाँड्ने काम छैन । अनुदान भन्ने कतै पनि छैन । अनुदान भनेर हिजो बाँडिएको अभ्यासको स्मरण होला । तर यसमा बिल्कुल अनुदान छैन । प्रोत्साहन छ । किसानले दुध दुह्यो, त्यसले प्रोत्साहन पायो । प्रोत्साहन छ, अनुदान छैन । त्यसकारण यहाँ कतै बाँडिदैन । दुध दुहेको बेला सरकारले भोट कसलाई दियो सोध्दैन, दुध दुह्यो कि दुहेन यति सोध्छ, त्यसकारण यसमा ढुक्क हुन आग्रह गर्दछु,’ अर्थमन्त्री शर्माले भने ।

मन्त्री शर्माले प्रतिपक्षले इन्डक्सन चुलो बाँडेर भोट साट्न खोजेको आरोप लगाइएको भन्दै प्रतिपक्षीलाई पनि साथमा लिएर चुलो बाँड्ने कार्यक्रम बनाउने बताएका थिए । उनले इन्डक्सन चुलो निर्वाचनसँग केन्द्रित नभएको भन्दै चुलोमा राजनीति नगरेको पनि बताए । मन्त्री शर्माले नेपालको विद्युतीय संयन्त्रले २५ प्रतिशत मात्रै विद्युतीय उपकरणको प्रयोग धान्न सक्ने भएकोले त्यसै अनुसारका संरचनामा बजेटले जोड दिएको बताए ।

मन्त्री शर्माले भने, ‘विद्युतको कुरा, विद्युतीय चुलोको कुरा गर्दा इन्डक्सन चुलो बाँड्न लाग्यो, निर्वाचनमा जान थाल्यो, निर्वाचनको बारेमा सोचेको होइन । इन्डक्सन चुलो निर्वाचनसँग सम्बन्धित छैन । यो बाँड्नेमा प्रतिपक्ष दललाई पनि सँगै लगेर बाँड्ने कार्यक्रम बनाउन सकिन्छ । सँगै लैजाउँला । चिन्ता गर्नु पर्दैन । यो कुनै राजनीति गरेको होइन । यो देशको आजको आवश्यकता हो । तर आवश्यक्ता आज नै सबै पूर्ति हुँदैन । आज कति धान्छ तपाइँको संयन्त्रले भनेर विद्युत प्राधिकरणको एमडीलाई बोलाएर सोधेँ । उहाँले २५ प्रतिशत मात्रै भन्नुभयो । यो वर्ष २५ प्रतिशत मात्रै दिन सकिने संरचनाको लागि थप बजेटको व्यवस्था गरिएको छ । संरचना वृद्धि गर्दै जाँदा त्यसलाई सय प्रतिशत पुर्‍याउने कुरा हो । त्यसलाई सिंहदरबारबाट सुरु गर्ने भनिएको छ, बिस्तारै जनतामा जान्छ । योसँग भोट साट्ने कुरा बिल्कुल छैन । ढुक्क हुनुभए हुन्छ ।’

यस्तै अर्थमन्त्री शर्माले देश ठूलो संकटमा गइरहेको कुरा उठिरहेको भन्दै देशको आर्थिक संकटलाई सरकारले हालै प्रस्तुत बजेटले समाधान गर्ने बताएका थिए । उनले सरकारले देशभरबाट जनताले दिएका गुनासोका आधारमा नै बजेट निर्माण गरेको बताए ।

प्रकाशित : जेष्ठ १८, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?