१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बजेट कार्यान्वयनका लागि सहयोग गर्न तयार छौं : एनआरएनए 

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए)ले घोषित बजेट सकारात्मक रहेको जनाउँदै कार्यान्वयनका लागि सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएको छ । एनआरएनएले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेका गैरआवासीय नेपालीसँग सम्बन्धित घोषणाहरुलाई व्यवस्थित र प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्दछौं ।  यसको लागि आवश्यक सहयोग गर्न संघ तयार छ ।’ 

बजेट कार्यान्वयनका लागि सहयोग गर्न तयार छौं : एनआरएनए 

यो बजेटमार्फत नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट घटाएर २ करोड कायम गर्नुका साथै १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने घोषणा गरेको छ । जसलाई एनआरएनएले स्वागत गरेको छ ।

धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक निस्कासनमा दश प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्थाको एनआरएनएले प्रशंसा गरेको छ । त्यस्तै उत्पादनमूलक एवम् निर्यातजन्य उद्योगमा वैदेशिक लगानी आकर्षण गर्न तथा गैरआवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानीसम्बन्धी कानुन तथा प्रक्रियामा सुधार गर्ने, उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने साथै उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिन सकिने व्यवस्था मिलाउने घोषणा सकारात्मक रहेको एनआरएनएले जनाएको छ ।

एनआरएनएले भनेको छ ‘वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष मार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउने वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई राहदानी नवीकरण, कन्सुलर सेवा तथा श्रम स्वीकृति नविकरण वापत लाग्ने शुल्क वा दस्तुरमा ५० प्रतिशत छुट दिने घोषणा प्रशंसनीय छन् ।’


प्रकाशित : जेष्ठ १६, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?