चुनावी बजेट होइन, पुराना कार्यक्रमलाई थोरै तलमाथि गरेको मात्रै हो: अर्थमन्त्री - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावी बजेट होइन, पुराना कार्यक्रमलाई थोरै तलमाथि गरेको मात्रै हो: अर्थमन्त्री 

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनाव लक्षित नभई विगतकै कार्यक्रमको निरन्तरता दिइएको बताएका छन् । केही नयाँ कार्यक्रम थपिए पनि ती कार्यक्रम चुनाव लक्षित नरहेको उनको भनाइ छ । 'धेरै कार्यक्रम पुरानैको निरन्तरता हो । केहीमा थोरै यताउता गरेको मात्रै हो' उनले भने । 

आफूले ल्याएको बजेट उत्कृष्ट भनेर दाबी पनि आफूले नगर्ने अर्थमन्त्री शर्माले बताए । 'हामीले यति नै गर्न सक्यौं । सबै गर्न सक्यौं भन्ने होइन, धेरै कुरा छुटेका होलान् । सबैतिर ध्यान नपुग्दो रहेछ । कतै न कतै चिप्लिइँदो रहेछ', उनले भने । त्यस्तै बजेटले आर्थिक सूचकहरुमा निश्चित लक्ष्य राखेर अघि बढेको बताए । 'हामीले बजेटमा निश्चित लक्ष्य राखेर जाने भनेका छौं । ती लक्ष्य पूरा गर्न सम्पूर्ण सरकारी संयन्त्र परिचालन हुन्छ' उनले भने, 'गरिबी अन्त्य गर्ने लक्ष्य तोकिएको छ । मानवपुँजीको विकासलाई आधारभुत ढंगबाटै हेरिनुपर्छ भनेका छौं ।

प्रकाशित : जेष्ठ १६, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम : शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर महत्वाकांक्षी कार्यक्रमसहित वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

वाग्मती प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख शर्माले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तह संघको सहकार्यमा नमूना केन्द्रको रुपमा स्तरोन्नती गर्ने, दलित, अपांग, सीमान्तकृत एवं विपन्न विद्यार्थीलाई विद्यालय शिक्षामा पहुँच वृद्धि गरिने बताए । यस क्रममा उनले कोही पनि बालबालिका शिक्षाको पहुँचबाट बञ्चित हुन नपारोस् भन्ने योजना अघि सारिएको बताए ।

विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तीमा एक विद्यालयमा नमूना बाल विकास केन्द्र सञ्चालन गरिने पनि उनले बताएका छन् । गुरु योजना स्वीकृत भएका आवासीय विद्यालयकाहरुको भौतिक विकास गर्नुका साथै नमूना विद्यालयमा विकास गुरुयोजना कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशालाहरु स्थापना गरिने पनि प्रदेश प्रमुख शर्माले बताए ।

यस्तै प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । प्रदेशभित्रका माध्यमिक तहका विद्यालयहरुमा उक्त कार्यक्रमलाई निरन्तरता दिने घोषणा नीति तथा कार्यक्रम मार्फत् गरिएको छ । उच्च शिक्षा पढ्नका लागि ‘छोरी–बुहारीलाई छात्रवृत्ति’ कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ ।

‘जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयघात, मस्तिष्कघात र अप्स्टेट्रिक फिष्टुलालगायत रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बनाइने बताइएको छ ।

‘मृगौला रोगीका लागि सञ्चालित निःशुल्क डायलासिस सेवा प्रदेश मातहतका सबै अस्पतालहरूमा विस्तार गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘हेटौंडा अस्पताललाई दुई सय बेडको अस्पतालमा स्तरोन्नती गरी धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँगको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा समेत विस्तार गरिनेछ ।’

यस्तै वाग्मती सरकारले प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने भएको छ । प्रदेश प्रमुख शर्माले प्रदेशभित्र संचालनमा रहेका संचार गृहहरूको व्यवस्थित संचालन र विकास विस्तारका लागि प्राधिकरण स्थापना गर्ने बताए । त्यस्तै, प्रदेशभित्र संचालित संचार गृहलाई प्रदेशमै दर्ता नवीकरण गर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने उनले बताए ।

प्रदेश सरकारले ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापन गर्ने पनि नीति तथा कार्यक्रममा समेटेको छ । पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । यस्तै खेलकुदको क्षेत्रमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाइएको छ।

प्रकाशित : जेष्ठ १६, २०७९ १६:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×