लाइसेन्सका लागि नयाँ आवेदन खुल्दै, कसरी भर्ने ?

यसअघि भरेका सबै लाइसेन्सका आवेदन रद्द

काठमाडौँ — सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि यसअघि भरिएका आवेदन रद्द भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यसअघि फारम भरेका तर परीक्षा नदिएकाहरुको आवेदन रद्द गरी नयाँ प्रक्रियाबाट आवेदन खोल्न लागिएको जनाएको छ ।

लाइसेन्सका लागि नयाँ आवेदन खुल्दै, कसरी भर्ने ?

आज सोमबार साँझ ६ बजेपछि लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन भर्न सकिने विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । वर्ग थप गराउन चाहनेका लागि भने अर्को सोमबारबाट आवेदन खोलिने विभागले स्पष्ट पारेको छ । अब अनलाइनबाट फारम भर्नेहरुले पहिलेजस्तो धेरै समय कुर्न नपर्ने घिमिरेले बताए ।

‘कुन कार्यालयमा कति कोटा छ भन्ने जानकारी अनलाइनमै लिन सकिन्छ, अनलाइनबाट फारम बुझाएको करिब १५ दिनपछि बाेलाइन्छ’ उनले भने । यसअघि एकै व्यक्तिले दुईभन्दा धेरै फारम भरेकाले पछि भर्नेले परीक्षाका लागि लामो समय कुर्नुपर्ने अवस्था थियो । आवेदन दिएकालाई फोनबाटै सम्पर्क गरी परीक्षाका लागि बोलाइएको र परीक्षा लिइएको तथा परीक्षा दिन नआउनेको आवेदन अहिले रद्द भएको विभागले जनाएको छ ।

कसरी भर्ने त आवेदन ? सबैभन्दा पहिले आवेदन भर्नका लागि एप्लाईडीएल डट् डीओटीएम डट जीओभी डट् एनपी (applydl.dotm.gov.np)मा गई यूजर आईडी र पासवर्ड आफैले बनाउनुपर्छ । पहिलेजस्तो सिधै फारम भर्न पाइँदैन । यूजर आइडी र पासवर्ड आफैले बनाइसकेपछि फारम लगइन गरी पहिलेजस्तै आफ्नो तीनपुस्ते विवरण भर्नुपर्छ । विवरण भर्दा नागरिकताको प्रतिलिपी पनि अनलाइनबाट बुझाउनुपर्छ । त्यस्तै फारमको शुल्क भुक्तानी पनि अनलाइनबाटै गर्न सकिन्छ । फारम भरेर अन्त्यमा रहेकाे 'पेमेन्ट'मा क्लिक गरिसकेपछि कनेक्ट आईपीएसमार्फत रकम भुक्तानी गर्न सकिन्छ । अन्यथा अनलाइनमै भौचर बनाएर प्रिन्ट गरी बैंकमा लगेर शुल्क बुझाउन सकिन्छ । बैंकमै गई हालकै जस्तो भौचर भरेर पनि आवेदन दिन सकिने व्यवस्था रहेकाे घिमिरेले जानकारी दिए । फारम बुझाएपछि शारीरिक परीक्षण तथा फोटो खिच्नका लागि आवेदनमा छनोट गरिएको कार्यालयमा बोलाइन्छ । शारीरिक परीक्षण तथा फोटो खिचिसकेपछि मात्रै लिखित परीक्षा हुन्छ, लिखित परीक्षाको अर्को दिन मात्रै ट्रायल हुनेछ ।


प्रकाशित : जेष्ठ १६, २०७९ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?