विद्युत् जडित क्षमता २ हजार २ सय ५ मेगावाट पुग्यो


काठमाडौँ — नेपालको कुल जडित विद्युत् क्षमता २ हजार २ सय ५ मेगावाट बराबर पुगेको छ । २०७८ असार मसान्तसम्ममा १ हजार ६ सय ६५ मेगावाट रहेको जडित क्षमता फागुन मसान्तसम्म ८ महिनामा ५ सय ४० मेगावाट अर्थात् ३०.९ प्रतिशतले बढेको आर्थिक सर्वेक्षण २०७८/७९ मा उल्लेख छ ।


हाल राष्ट्रिय प्रसारणलाइनमा जोडिएको कुल बिजुलीमध्ये २ हजार २२ मेगावाट जलविद्युत्, ४९.७६ मेगावाट सौर्य प्लान्टबाट, ५३.४ मेगावाट थर्मल प्लान्टबाट, ७४ मेगावाट वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रबाट र ६ मेगावाट चिनी मिलबाट उत्पादन भइरहेको छ । जलविद्युत् आयोजनामध्ये नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा सञ्चालित परियोजनाबाट ५८१ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित विद्युत् परियोजनाबाट १ हजार ४ सय ४० मेगावाट बिजुली उत्पादन भइरहेको छ ।
आर्थिक सर्वेक्षणअनुसार २०७८ फागुनसम्ममा ९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । त्यस्तै विद्युत् उपयोग गर्ने ग्राहकको संख्या ५२ लाख २८ हजार पुगेको छ । यो संख्या सामुदायिक संस्थाबाहेक हो । हाल सामुदायिक संस्थातर्फ ५ लाख ८० हजार ग्राहकले विद्युत् सेवा उपयोग गरिरहेका छन् ।
हालसम्म ६६ केभी क्षमताभन्दा माथिको प्रसारणलाइन ४ हजार ७ सय ९५ सर्किट किलोमिटर पुगेको छ भने वितरणतर्फ १ लाख ६३ हजार २ सय २ किलोमिटर पुगेको छ । चालु आर्थिक वर्षको ८ महिना अवधिसम्ममा भारतबाट ५ सय ५७ गिगावाट आवर विद्युत् आयात भएको र १ सय ८३ गिगावाट आवर बराबर विद्युत् निर्यात भएको जनाइएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा विभिन्न १८ वटा विद्युत् आयोजना सम्पन्न भई ८ सय ४३ मेगावाट राष्ट्रिय प्रसारणलाइनमा जोडिने लक्ष्य राखिएको छ । त्यस्तै आगामी आर्थिक वर्ष २०७९/८० मा ४३ वटा आयोजना सम्पन्न भई थप ७ सय १३ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने अनुमान छ । प्रसारणलाइनतर्फ चालु आर्थिक वर्षको अन्त्यसम्ममा विभिन्न ९ वटा आयोजनाको ५ सय ९३ सर्किट किलोमिटर निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
प्रकाशित : जेष्ठ १५, २०७९ १४:०६