उपभोग खर्च बढ्यो

गत वर्षको तुलनामा यस वर्ष नेपालीको उपभोग खर्च बढे पनि जीडीपीसँग उपभोग अनुपात घट्यो
यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षमा नेपालीहरूले उपभोगमा मात्र कुल ४४ खर्ब रुपैयाँभन्दा बढी खर्चिने भएका छन् । गत आर्थिक वर्षको तुलनामा यो करिब साढे ११ प्रतिशत बढी हो । यसले गत वर्षको तुलनामा यो वर्ष नेपालीले उपभोग्य वस्तु तथा सेवामा गर्ने खर्च बढेको देखाउँछ । गत आर्थिक वर्षमा नेपालीहरूले उपभोगमा ३९ खर्ब ४७ अर्ब रुपैयाँ खर्च गरेका थिए ।

उपभोग खर्च बढ्यो

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उपभोग खर्च ७.७ प्रतिशतले बढेको शनिबार सार्वजनिक ‘आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण’ले देखाएको छ । गत वर्षको तुलनामा यस वर्ष नेपालीको उपभोग खर्च बढे पनि सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँग उपभोग अनुपात भने घटेको छ । सर्वेक्षणका अनुसार चालु आर्थिक वर्षमा जीडीपीमा कुल उपभोगको अनुपात ९०.७ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ९२.३ प्रतिशत थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा प्रचलित मूल्यमा नेपालको जीडीपी १३.४३ प्रतिशत बढेर ४८ खर्ब ५१ अर्ब पुग्ने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ । गत आर्थिक वर्ष नेपालको कुल जीडीपी ४२ खर्ब ७७ अर्ब रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको जीडीपीमा निजी क्षेत्रको उपभोग अनुपात सबैभन्दा बढी ८०.८ प्रतिशत छ । सरकारी क्षेत्रले गरेको उपभोग अनुपात जीडीपीको ८.२ प्रतिशत र गैरनाफामूलक संस्थाको १.७ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । गत आर्थिक वर्षमा जीडीपीमा निजी क्षेत्रको उपभोग अनुपात ८२.२, सरकारीको ८.४ र गैरनाफामूलक संस्थाको १.७ प्रतिशत थियो । विगत १० वर्षको जीडीपीमा निजी क्षेत्रको उपभोग अनुपात औसत ८०.७, सरकारीको ८.३ र गैरनाफामूलक संस्थाको १.६ प्रतिशत छ । ‘कुल उपभोगमा सरकारी र निजी क्षेत्रको उपभोगको अंश क्रमशः ९.०८ र ८९.०२ प्रतिशत र गैरनाफामूलक संस्थाको हिस्सा १.८९ प्रतिशत छ,’ सर्वेक्षणमा भनिएको छ, ‘गत आर्थिक वर्षमा कुल उपभोगमा सरकारी क्षेत्रको उपभोगको हिस्सा ९.१०, निजी क्षेत्रको ८९.०३ र गैरनाफामूलक संस्थाको १.८७ प्रतिशत थियो ।’ चालु आर्थिक वर्षमा निजी क्षेत्रले गर्ने कुल उपभोग खर्चमा सबैभन्दा बढी ४९.१ प्रतिशत खाद्य वस्तुमा भएको देखिन्छ । यस्तै, ३२.४ प्रतिशत सेवा र बाँकी १८.६ प्रतिशत गैरखाद्य वस्तुमा रहेको सर्वेक्षणले देखाएको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालको कुल राष्ट्रिय बचत पनि बढेर १५ खर्ब ५० अर्ब रुपैयाँ पुग्ने देखिएको छ । गत आर्थिक वर्षमा कुल राष्ट्रिय बचत १४ खर्ब २४ अर्ब रुपैयाँ थियो । सर्वेक्षणका अनुसार जीडीपीसँग कुल राष्ट्रिय बचतको अनुपात ३२ प्रतिशत रहनेछ । गत आर्थिक वर्षको तुलनामा चालु वर्षमा यस्तो अनुपात केही घटेको हो । आर्थिक वर्ष ०७७/७८ मा यस्तो अनुपात ३३.३ प्रतिशत थियो । ‘खासगरी आर्थिक वर्ष ०७५/७६ यता कुल राष्ट्रिय बचत घट्दो प्रवृत्तिमा रहँदै आएको छ,’ सर्वेक्षणमा उल्लेख छ, ‘अर्थतन्त्र अझै पनि संकटमा रहेकाले अवस्था कोभिडपूर्वको अवस्थामा पुग्न थप केही समय लाग्ने देखिन्छ ।’

चालु आर्थिक वर्षमा मुलुकको कुल लगानी १८ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने देखिएको छ । गत आर्थिक वर्षको तुलनामा चालु वर्षमा यस्तो लगानी १८.१ प्रतिशतले मात्र बढ्ने भएको छ । आर्थिक वर्ष ०७७/७८ मा यस्तो लगानी २९.३ प्रतिशत बढेर १५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष ०७६/७७ मा कुल लगानी २५.९ प्रतिशत बढेको थियो । कोभिड महामारीको संक्रमण घट्दै गई आर्थिक गतिविधि सामान्य हुँदै गएकाले चालु आर्थिक वर्षमा सार्वजनिक एवं निजी क्षेत्रको खर्चमा बढोत्तरी हुने अपेक्षा गरिएको थियो । तर बैंक तथा वित्तीय बजारमा देखिएको तरलताको चाप र न्यून पुँजीगत खर्चका कारण चालु आर्थिक वर्षमा कुल लगानीको वृद्धि सामान्य हुने अनुमान सर्वेक्षणले गरेको छ ।

चालु आर्थिक वर्षमा बचत र लगानी अन्तर भने स्थिर (गत वर्षकै बराबर) रहने सरकारी प्रक्षेपण छ । यसअनुसार चालु आर्थिक वर्षमा बचत लगानी अन्तर २८ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा यस्तो लगानी २८.१ प्रतिशत थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा कुल लगानीभन्दा कुल गार्हस्थ्य बचत बढी दरमा वृद्धि भएकाले बचत र लगानी अन्तरमा केही कम भएको सर्वेक्षणमा उल्लेख छ ।


प्रकाशित : जेष्ठ १५, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?