कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संस्थानमा सरकारी लगानी खेर

नाफामा सञ्चालित २२ संस्थानको खुद नाफा ४०.३० प्रतिशत कम, नोक्सानीमा सञ्चालित १९ संस्थानको खुद नोक्सानी ३.६१ प्रतिशत वृद्धि

काठमाडौं — सार्वजनिक संस्थानमा भएको सरकारी लगानी खेर गइरहेको देखिएको छ । यी संस्थानमा सरकारी लगानी प्रत्येक वर्ष बढेको देखिए पनि लाभांशमा भने कमी आइरहेको छ । सरकारले शनिबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–०७९’ अनुसार आर्थिक वर्ष ०७६/७७ मा सार्वजनिक संस्थानमा ५ खर्ब १९ अर्ब ५५ करोड लगानी भएको थियो ।

संस्थानमा सरकारी लगानी खेर

आर्थिक वर्ष ०७७/७८ मा आइपुग्दा सरकारी लगानी ९.१८ प्रतिशत बढेर ५ खर्ब ६७ अर्ब २८ करोड पुग्यो । तर यस अवधिमा समग्र खुद नाफा ४५.४३ प्रतिशत घटेर २६ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ । ०७६/७७ मा समग्र खुद नाफा ४८ अर्ब २९ करोड रुपैयाँ थियो ।

नाफामा सञ्चालित संस्थानको खुद नाफा पनि ४०.३० प्रतिशत घटेर ३२ अर्ब १९ करोड पुगेको छ । जब कि आर्थिक वर्ष ०७६/७७ मा नाफामा सञ्चालित संस्थानहरूको खुद नाफा ५३ अर्ब ९२ करोड रुपैयाँ थियो । समीक्षाअनुसार संस्थानहरूबाट आर्थिक वर्ष ०७७/७८ मा ६ अर्ब ७२ करोड लाभांश प्राप्त भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ५२.३३ प्रतिशत कम हो । यसले पनि सार्वजनिक संस्थानहरूमा लगानी बढे पनि घाटा गहिरिएको देखाउँछ ।

सरकारले भने विश्वव्यापी रूपमा फैलिएको कोभिडको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालिएका कदमबाट समग्र अर्थतन्त्र नै प्रभावित हुँदासमेत संस्थानको अवस्था सन्तोषजनक रहेको दाबी गर्छ । कोभिडका कारण सार्वजनिक संस्थानहरूको कार्यसम्पादनमा केही संकुचन आए पनि तिनको समग्र वित्तीय स्थिति सन्तोषजनक रहेको सरकारको भनाइ छ । ‘आर्थिक वर्ष ०७६/७७ मा संस्थानको कुल सञ्चालन आय ४ खर्ब २८ अर्ब रहेकामा आर्थिक वर्ष ०७७/७८ मा २६ अर्ब ३५ करोड पुगेको छ,’ समीक्षामा भनिएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७७/७८ मा आइपुग्दा अस्तित्वमा रहेकामध्ये २२ संस्थानले नाफा कमाएका छन्, १९ ले घाटा बेहोरिरहेका छन्, बाँकी संस्थान शून्य अवस्थामा छन् ।

- लगानी बढ्दो, घाटा गहिरिँदो

- संस्थानको खुद नाफा ४५.४२ प्रतिशतले घट्यो

- २२ संस्थान नाफामा, १९ घाटामा

‘आर्थिक वर्ष ०७७/७८ मा जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ । विद्युतीय उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामै छ,’ समीक्षामा भनिएको छ, ‘नोक्सानीमा सञ्चालन भइरहेको संस्थानमध्ये नेपाल ओरिएन्ट म्याग्नेसाइट, बुटवल धागो कारखानाको व्यावसायिक कारोबार छैन । नेपाल रेलवे कम्पनीको व्यवसाय सञ्चालन प्रक्रियामा रहे पनि यी तीन कम्पनीको खर्च हुने नै भएकाले नोक्सानी बेहोरिरहेका छन् ।’

नोक्सानीमा सञ्चालित १९ संस्थानको खुद नोक्सानी ३.६१ प्रतिशत बढेको छ । अर्थ मन्त्रालयका अनुसार ०७७/७८ सम्ममा ४४ संस्थान अस्तित्वमा छन् । यसमध्ये नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका २१ र अधिकांश स्वामित्वमा रहेका २३ संस्थान छन् । सामाजिक क्षेत्रमा रहेका सबै संस्थान नेपाल सरकारको पूर्ण स्वामित्वमा छन् । औद्योगिक क्षेत्रका दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट, हेटौंडा सिमेन्ट, जनकपुर चुरोट कारखाना र नेपाल औषधि लिमिटेडमा सरकारको शतप्रतिशत सेयर लगानी छ । धौवादी फलाम कारखानामा निजी क्षेत्रको समेत लगानी हुने भए पनि हालसम्म नेपाल सरकारले मात्रै लगानी गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार ०७७/७८ मा औद्योगिक क्षेत्रका धेरैजसो संस्थान घाटामा छन । दुग्ध विकास संस्थानको खुद नोक्सान १६ करोड ७१ लाख, हेटौंडा सिमेन्ट १७ करोड ४ लाख, नेपाल औषधि लिमिटेडका १३ करोड ७४ लाख, उदयपुर सिमेन्ट ३० करोड ६० लाख रुपैयाँ पुगेको छ । नेपाल ओरिएन्ट म्याग्नेसाइट १४ करोड ८४ लाख, बुटवल धागो कम्पनी ३ करोड ५६ लाख, जनकपुर चुरोट कारखाना ३४ लाख रुपैयाँ पुगेको छ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी भने १ करोड ९१ लाख रुपैयाँ नाफामा छ । व्यापारिक क्षेत्रका ४ मध्ये ३ संस्थान घाटामै छन् । सबैभन्दा बढी नेपाल आयल निगमको घाटा ४३ करोड २ लाख, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको घाटा ५ करोड ३५ लाख र नेपाल वन निगम लिमिटेडको नोक्सानी ९६ लाख रुपैयाँ छ । कृषि सामग्री कम्पनी लिमिटेडले भने १२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।

सेवा क्षेत्रका पनि धेरैजसो संस्थान नोक्सानमा छन् । सबैभन्दा बढी नेपाल वायुसेवा निगम ३ अर्ब ६६ करोड ३० लाख, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास २ करोड ८५ लाख, नेपाल रेलवे कम्पनी लिमिटेड १ करोड ६५ लाख र नेपाल पूर्वाधार निर्माण कम्पनी ५४ लाख घाटामा रहेको उल्लेख छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ५ लाख, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी ७ करोड ६७ लाख, साझा यातायात सहकारी संस्था १४ करोड ३७ लाख र विशाल बजार कम्पनीले १२ करोड ८९ लाख नाफा गरेको उल्लेख छ ।

सामाजिक क्षेत्रका ५ संस्थानमध्ये ३ नोक्सानमा छन् । जनोपयोगी क्षेत्रमा ५ सार्वजनिक संस्थान छन् । तीमध्ये ४ नाफामा छन् भने एक संस्थान नोक्सानमा रहेको समीक्षामा उल्लेख छ । ०७७/७८ मा नेपाल खानेपानी संस्थानको नोक्सानी ३६ करोड ३७ लाख थियो । वित्तीय क्षेत्रअन्तर्गत रहेका ९ सार्वजनिक संस्थान नाफामा छन् ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?