कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

एक वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुन्छ : कृषिमन्त्री यादव

काठमाडौँ — कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्रराय यादवले अबको एक वर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।

एक वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुन्छ : कृषिमन्त्री यादव

एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज) ले शुक्रबार आयोजना गरेको ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष ७९/८० को नीति तथा कार्यक्रममा कृषिलाई जोड दिएकोले कार्यान्वयनलाई लागू गर्ने हो भने नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुने बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रमा, उत्पादनको क्षेत्रमा र निर्यातको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने बताए । मन्त्री यादवले कृषि नेपालको मेरुदण्ड भएको बताउँदै कृषिलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको प्रमुख चुनौती भएको बताए । उनले नेपालमा जनशक्तिको अभाव रहेको पनि बताए । उनले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कृषि नीति आवश्यक रहेकोले कृषि नीति बनाएर नै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइने स्पष्ट पारे । उनले मन्त्रालय कृषि नीति पास गराउन लागि परेको पनि बताए ।

‘यो बजेटले नेपाली जनताको कृषि क्षेत्रमा, उत्पादनको क्षेत्रमा र निर्यातको क्षेत्रमा महत्त्वपूर्ण योगदान हुनेछ । हामी अबको एक वर्षभित्रमा कमसेकम कृषिमा आत्मनिर्भर हुनसक्छौं । कृषि नेपालको मेरुदण्ड हो । कृषिलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने कुरा हाम्रो लागि चुनौतीको कुरा हो । यसपालिको बजेट जुन नीति कार्यक्रममा आएको छ, त्यो विगतको भन्दा धेरै परिवर्तनको रुपमा कृषि क्षेत्रमा आएको छ । तर त्यसलाई हामीले कसरी कार्यान्वयन गर्ने भन्ने मुल समस्या हो,' मन्त्री यादवले भने, 'बजेटमा कति निर्धारण हुन्छ त्यसकै आधारमा हामीले कृषि क्षेत्रको विकासलाई कार्यक्रममा अघि बढाउने हो । यसपटकको बजेट देशको आर्थिक स्थितिको डामाडोलस्थितिलाई मध्येनजर गरेर ल्याइएको छ । गत वर्षकै जति बजेट भएपनि यसलाई पारदर्शी, कार्यान्वयन र उत्पादनलाई कसरी वृद्धि गर्ने कुरा मुल चुनौतिको विषय हो । जनशक्तिको अभाव छ देशमा । अर्को चुनौती भनेको बजेटको कार्यान्वयनको सवाल हो, त्यसको लागि कृषि नीति आवश्यक छ । संघीयता अनुसारको कृषिनीति बन्नुपर्दछ । प्रदेश र स्थानीय तहमा छलफल भएर अहिले कृषि नीति अन्तिम चरणमा पुगेको छ, ऐनहरु पास गर्ने कुरामा मन्त्रालय लागि परेको छ । अब चाँडै नै कृषि ऐन पास हुन्छ ।’

मन्त्री यादवले नेपालको कृषि उत्पादन व्यवसायीकरण नभएको बताए । उनले कृषिका उत्पादन सामग्री बिक्रीका लागि किसानले बजार नपाउने समस्या रहेको बताए । मन्त्री यादवले कृषिमा हुनुपर्ने बजारीकरण, यान्त्रिकीकरण, भण्डारणको व्यवस्थापन नहुनुले पनि कृषिमा थप समस्या सिर्जना भइरहेको बताए ।

मन्त्री यादवले भने, ‘हाम्रो कृषि उत्पादन भनेको व्यवसायीकरण छैन । अहिलेको उत्पादन थोरै मात्रामा व्यवसायीकरण भएको छ । तर किसानले बजार पाएका छैनन् । बजारको व्यवस्थापन हुनसकेको छैन । यन्त्रीकीकरण भएको छैन । गोदामको व्यवस्था हुनुपर्ने हो । भण्डारणको व्यवस्था भएको छैन । यसपालिको बजेटमा सबै प्रदेशहरुमा एउटा भण्डारण घर बनाउने, प्रत्येक गाउँपालिकामा साना साना गोदामहरु बनाउनका लागि मन्त्रालयले बजेट छुट्याउन लगाएको छ ।’

मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशहरुमा एउटा भण्डारण घर र प्रत्येक गाउँपालिकामा स–साना गोदामहरु बनाउनका लागि बजेट छुट्याउने बताए ।

प्रकाशित : जेष्ठ १४, २०७९ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?