मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

ब्याजदर बढ्ने संकेत 

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाको ब्याजदर पुन: बढ्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो संकेत गरेको हो । तीन महिना अघि दोस्रो त्रैमासिक समीक्षामार्फत नीतिगत ब्याजदर (बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नु पर्ने ब्याजदर) २ प्रतिशत बिन्दुले बढाएको थियो । राष्ट्र बैंकले पुन: क्षेत्रगत रुपमा ब्याजदर वृद्धिको संकेत गरेको छ। 

ब्याजदर बढ्ने संकेत 

तेस्रो त्रैमासिक समीक्षामा थोक रुपमा सबै क्षेत्रको ब्याजदर वृद्धि नगरेर क्षेत्रगत आधारमा (अनुत्पादक र कम उत्पादनशील) क्षेत्रमा ब्याजदर वृद्धि गर्ने संकेत गरेको हो । ‘आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिनेछ,’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनर्कर्जा दरहरुलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवर्द्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइने पनि राष्ट्र बैंकले जनाएको छ ।

‘मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकाले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘तर, मुद्रास्फिति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ ।’ यस्तै कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि प्रदान गरिँदै आएको पुनर्कर्जा सुविधा पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?