तीन दिनदेखि सिमेन्ट उद्योगमा रोकियो चुनढुंगा ढुवानी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

तीन दिनदेखि सिमेन्ट उद्योगमा रोकियो चुनढुंगा ढुवानी

भाडामा मूल्य समायोजन र साप्ताहिक रकम उपलब्ध गराउन व्यवसायीको माग
माधव अर्याल

पाल्पा — पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुसारको भाडा समायोजन नभएपछि तिनाउका विभिन्न स्थानका साथै रैनादेवी छहरा गाउँपालिकाको शिद्देश्वरबाट तीन दिनदेखि चुनढुंगा ढुवानी ठप्प भएको छ । सिमेन्ट उद्योगले तिनाउ टिपर व्यवसायी समितिसंगको सम्झौता अनुसार साप्ताहिक भुक्तानी नदिएपछि ढुवानी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

समितिमार्फत ६ सय बढी टिपर सञ्चालनमा छन् । पाल्पाको तिनाउ र रैनादेवीछहरा गाउँपालिकामा सञ्चालित पाँच वटा चुनढुंगा खानीबाट ढुवानी सेवा बन्द भएको समितिका अध्यक्ष अरबिन्द पाण्डेयले बताए ।

टिपर व्यवसायीले ढुवानी सेवा बन्द गरेपछि सिमेन्ट उद्योगलाई कच्चा पदार्थ निर्यात हुन सकेको छैन । तिनाउ गाउँपालिकामा सञ्चालित सर्वोत्तम सिमेन्ट कचल, कञ्चन कोइरिज मरेक, सिद्धार्थ मिनिरल्स श्रीडाँडा, सत्यवती सिमेन्ट कोलडाँडा, विएस सिमेन्ट सुकेताल र रैनादेवी छहरा गाउँपालिकामा सञ्चालित सर्वोत्तम सिमेन्ट शिद्देश्वरबाट ढुवानी बन्द भएको हो । माथागढी गाउँपालिकाको हात्तीलुङको धामिगा र पाल्पा सिमेन्टको चुनढुंगा खानीबाटसमेत केही टिपरले ढुवानी गरेका छैनन् ।

पेट्रोलियम पदार्थमा पटकपटक भएको मूल्यवृद्धि अनुसार वैज्ञानिक भाडादर लागू नभएको र सिमेन्ट उद्योगले साप्ताहिक भुक्तानी नदिएकाले चुनढुंगा ढुवानी गर्न नगरेको व्यवसायीका अध्यक्ष पाण्डेयले बताए । तिनाउ टिपर व्यवसायी समितिले चुनढुंगा खानीबाट सिमेन्ट उद्योगसम्म ढुवानी गर्ने सम्झौता अनुसार डिजल मूल्य घटबढ हुँदा ढुवानी भाडामा समायोजन नभएकाले परिवर्तित मूल्य अनुसार भाडा दररेट कायम गर्न माग गर्दै आएको छ । भाडा समायोजनका लागि उद्योगसँग विगत देखि नै माग राख्दै आएको व्यवसायीले बताए ।

माग सम्बोधन नभएकाले चुनढुंगा ढुवानी ठप्प पारेको समितिले जनाएको छ । तिनाउ र सिद्धेश्वरमा सञ्चालित चुनढुंगा खानीबाट दैनिक ६ सय टिपरले रुपन्देही, नवलपरासी र कपिलवस्तुमा संचालित सर्वोत्तम, अर्घाखाँची, बुटवल सिमेन्ट उद्योगमा चुनढुंगा निकासी हुने गरेको छ । लामो समयदेखि भाडा समायोजन नभएकाले व्यवसायी मर्कामा परेको जनाएका छ्न् । व्यवसायी र उद्योगबीच भएको सम्झौता अनुसार एक रुपैयाँ डिजेलको मूल्य बढ्दा २ रुपैयाँ ४० पैसा बढाउन भन्ने छ । उद्योगले तिनाउका विभिन्न स्थानबाट चुनढुंगा ढुवानी गर्दा ५ सय ५०, ५ सय ७० र ६ सय ४० रुपैयाँ प्रतिटन भुक्तानी दिने गरेको छ । सिद्धेश्वरबाट भने १ हजार ३ सय ८० प्रतिटन भुक्तानी गर्ने गरेको छ ।

‘डिजल बढ्छ तर कम्पनीले दररेट बढाउँदैन,’ समितिका अध्यक्ष पाण्डेयले भने, ‘कम्पनीले बढाए पनि सहमति अनुसार ठ्याक्कै मूल्य नदिने समस्या छ । उनीहरुले मनपरी ढंगले रकम भुक्तानी दिने गर्छन् ।’ पछिल्लो कोभिड र त्यसपछिको समयमा उद्योगमा ढुवानी कमी आएको छ । ढुवानी कमी भएसँगै व्यवसायीहरु धरापमा परेका छन् । ‘अहिले हामीलाई किस्ता तिर्न समस्या छ,’ एक ढुवानी व्यवसायीले भने, ‘तर हाम्रा पक्षमा बोलिदिने कोही छैन ।’ लामो समयदेखि पुरानै मुल्यमा ढुवानी गर्नुपर्दा उल्टै घाटामा चल्नु परेको ती व्यवसायीले बताए । कम्पनीले पनि प्लान्ट पूर्णरुपमा सञ्चालनमा नभएकाले चुनढुंगा ढुवानीलाई घटाएको छ ।

उद्योगदेखि सर्वोत्तम सिमेन्ट कचल पुग्न ३० लिटर तेल खपत हुन्छ । तर सिद्धेश्वरको खानीमा जाँदा भने ९० लिटर तेल खर्च हुन्छ । अहिले कम्पनीले दिएको दररेटमा ढुवानी गर्दा १ सय ५० रुपैयाँ प्रतिटन घाटा पर्ने समितिका अध्यक्ष पाण्डेयले बताए । कम्पनीले पनि सही ढंगले भुक्तानी नगर्ने र साप्ताहिक रुपमा पैसा नदिएपछि व्यवसायी समस्यामा परेको उनले बताए । समितिका अनुसार पछिल्लो समयमा चुनढुंगा उत्खनन ४० प्रतिशतले कमी आएको थियो । ‘टिपरहरु काम नपाएर बस्नुपर्ने बाध्यता केही महिनायता थियो,’ उनले भने, ‘अहिले तेलको मूल्य अत्यधिक बढेकाले झन् समस्या आएको हो ।’ टिपरको सर्भिस र टायरको मूल्य बर्सेनि बढे पनि ढुवानी खर्च बढाउन भने उद्योग तयार नदेखिएको व्यवसायी कृष्ण पाण्डेयले बताए ।

तिनाउ गाउँपालिकाअन्तर्गत श्रीडाँडाबाट अर्घाखाँची सिमेन्टका लागि चुनढुङ्गा ढुवानी हुन्छ । अर्घाखाँची सिमेन्टको श्रीडाँडामा आफ्नै खानी छ । तिनाउ गाउँपालिकाबाट सर्वोत्तम सिमेन्ट उद्योग, दोभान सुकेतालबाट अर्घाखाँची सिमेन्ट लगायतमा चुनढुङ्गा जान्छ । झुम्सा मरेकबाट कञ्चन क्वायरिजले बुटवल सिमेन्ट र अर्घाखाँची सिमेन्टमा चुनढुङ्गा ढुवानी गर्दै आएको छ । कोलडाँडाबाट अर्घाखाँची सिमेन्टमा चुनढुङ्गा निकासी हुँदै आएको छ । तिनाउको अल्फा सिमेन्टले अर्घाखाँचीमा लैजाने गर्छ ।

रैनादेवी छहरा गाउँपालिकाको सिद्धेश्वरबाट सर्वोत्तम सिमेन्टमा चुनढुङ्गा ढुवानी हुन्छ । पाल्पा सिमेन्ट र होङ्सी सिमेन्टबाहेक सबै स्थानमा चुनढुंगा, माटो लगायतका सामग्री बन्द छ । जिल्लाका ढुवानी व्यवसायीले सिमेन्ट उद्योगमा चुनढुंगा ढुवानी ठप्प पारेपछि सिमेन्ट उद्योगमा कच्चा पदार्थ गएको छैन । भाडादर न्यून हुँदा व्यवसायलाई घाटामा परेको व्यवसायी विष्णुप्रसाद पाण्डेयले बताए । व्यवसायीले वैज्ञानिक भाडादर काम गरे ढुवानी गर्ने उनले बताए ।

व्यवसायी र उद्योग सञ्चालकबीच छलफल भइरहेको सर्वोत्तम सिमेन्टका अशोक ठाकुरले बताए । ‘व्यवसायीले भने जस्तो भुक्तानीमा हाम्रोमा समस्या छैन,’ उनले भने, ‘उद्योग पनि कम चलेको छ । ढुवानी पनि कम भएको छ ।’ कञ्चन क्वायरिजका सञ्चालक भरत थापाका अनुसार उद्योग पूर्णरुपमा सञचालन नभएको बताए । माग र आपूर्तिमा सन्तुलन नमिल्दा पनि कतिपय समस्या आएको उनले बताए । ‘उद्योगी पनि मर्कामा परेका छन्,’ उनले भने ।

प्रकाशित : जेष्ठ १३, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्

सबै मिलेर काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाऔं : नवनिर्वाचित मेयर साह

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले उक्त कुरा बताएका हुन् ।

'आजबाट यसलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएका छौं । हामी अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्नेछौं,'साहले भने ।काठमाडौं महानगरपालिकाकाका मतदातालाई उनले परिवारका रुपमा लिएको र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । 'हामी महानगरवासी सबै एकै परिवार हौैं । हामी सबै मिलेर काठमाडौंलाई देशकै मात्र नभएर विश्वकै सुन्दर, उत्कृष्ट सहर बनाउनलाई मिलेर सहकार्य गर्ने आशा राखेको छु,'साहले भने । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×