कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ वर्षपछि निजगढमा चौथो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको योजना

काठमाडौँ — काठमाडौं, भैरहवा र पोखरापछि सरकारले निजगढमा चौथो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ । संसद्‍मा मंगलबार आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०८०/८१ देखि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने बताइन् ।

२ वर्षपछि निजगढमा चौथो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको योजना

‘आर्थिक वर्ष २०८०/८१ देखि निर्माण कार्य सुरु गर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढांचा टुंगो लगाइनेछ,’ निति तथा कार्यक्रममा भनिएको छ, ‘निर्माण सम्पन्न भएका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरु पूर्ण संचालनमा ल्याउन आवश्यक प्रबन्ध मिलाइने छ ।’

निजगढमा कस्तो विमास्थल कसरी बनाउनेबारे सरकारको धारणा प्रष्ट नभएकाले लगानी बोर्डले यसबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण लगायत निकायसँग छलफल गरिरहेको छ । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बोर्ड र मन्त्रालयबीच निर्माण मोडल, लागत, गुरुयोजना लगायत विषयमा एकमत नभएकाले यो विषयबारे अझै अन्योलता रहेको छ ।

यसैबीच सरकारले सुर्खेतको भेरीगंगा रामघाटमा प्रादेशिक विमानस्थल निर्माण गर्ने जनाएको छ । हाल आन्तरिक उडानमा मात्रै प्रयोग हुँदै आइरहेको धनगढी विमानस्थलाई एयरबस ३२० हाराहारीका जेट विमानले सेवा दिनसक्ने क्षेत्रीय विमानस्थल निर्माण गर्न प्राधिकरणले बजेट विनोजन गरिसकेकाले छिमेकी कर्णाली प्रदेशले सुर्खेतको रामघाटमा नयाँ प्रादेशिक विमानस्थल निर्माण गरिनुपर्ने माग गर्दै आइरहेको थियो ।

सोही मागलाई सम्बोधन गर्न सरकारले ‘प्रादेशिक’ विमानस्थल भनी एयरबस ३२० हाराहारीकै विमान संचालन गराउन उद्देश्यले प्रादेशिक विमानस्थल निर्माण गर्न खोजेको प्राधिकरणका ती अधिकारीले बताए ।

यसैबीच प्राधिकरणले कम्तीमा ३० वर्ष पुराना आन्तरिक टर्मिनल भवनलाई चालु आर्थिक वर्षमा हटाउने भएको छ । प्राधिकरणले यसअघि नै घोषणा गरे अनुसार, नीति तथा कार्यक्रमले चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगन्ज र धनगढी विमानस्थलमा हाल प्रयोग भइरहेका टर्मिनल भवन भत्काउँदै यात्रुहरुका लागि आधुनिक भवन निर्माण गर्ने कार्य थालनी गरिने जनाएको छ ।

यसैबीच पर्यटकको संख्या वृद्धि गर्न होम स्टेलाई प्रवर्द्धन गर्ने र विश्वभर चर्चित दार्चुलादेखि ताप्लेजुङसम्मको ग्रेट हिमालयन ट्रेललाई स्तरोन्नति गरिने बताइएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?