लगानी वातावरणका समस्या बुँदागत रुपमा लिएर आउनुहोस्, सम्बोधन गर्छौं: सचिव पोखरेल 

काठमाडौँ — नेपालमा लगानी वातावरण नरहेको भनेर निजी क्षेत्रले सतही रुपमा गुनासो गर्नेे गरेको आरोप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले लगाएका छन् । ‘मेक इन नेपाल–स्वदेशी समिट २०२२’ कार्यक्रमको ‘स्वदेशी उत्पादनको संवर्द्धन र निर्यात प्रवर्द्धन’ विषयक सत्रमा बोल्दै सचिव पोखरेलले निजी क्षेत्रले सरकारी नीति र कानुनी प्रावधानको गम्भीर विश्लेषण नै नगरी समस्या देखाउने गरेको बताए ।

लगानी वातावरणका समस्या बुँदागत रुपमा लिएर आउनुहोस्, सम्बोधन गर्छौं: सचिव पोखरेल 

‘हामी सबै समस्या छन् भनेर सतही रुपमा मात्रै हेरिरहेका छौं । लगानी नीति कहाँनेर छैन ? कुन दफामा छैन ? निजी क्षेत्रले त्यो खुलाएर आउनुपर्छ,’ पोखरेलले भने, ‘लगानीमैत्री वातावरण कहाँनेर छैन भनेर हामीलाई भन्नुहोस् । समाधानका लागि राज्यले पहल गर्छ ।’

उद्यमशीलता विकास नभएसम्म उत्पादन नबढ्ने पनि सचिव पोखरेलले दाबी गरे । ‘उद्योग गर्छु भन्ने मान्छे जन्मिन पर्छ । हामीकहाँ उद्यमशीलता नै विकास हुन सकेको छैन,’ उनले भने, ‘औद्योगिक पूर्वाधार दिने राज्यको कर्तव्य हो । त्यो राज्यले दिन्छ ।’ उद्यममा लगानीका लागि पर्याप्त पुँजी परिचालन हुन नसकेको उनको भनाइ छ । व्यापारीहरुले औद्योगिक कर्जा लिएर व्यापार गरिरहेको पोखरेलले आरोप लगाए ।

‘तपाईंहरुले औद्योगिक कर्जा लिइरहनु भएको छ, व्यापारिक कर्जा होइन । यो पनि हेर्न, बुझ्न जरुरी छ,’ पोखरेलले भने, ‘सरकारले आफ्नो स्रोतले भ्याएसम्म विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ । उद्योगी व्यवसायीहरुले ती कार्यक्रमहरुबाट लाभ पाउनुपर्छ भन्ने लाग्छ ।’

नेपाली उत्पादनहरुलाई तुलनात्मक लाभ र प्रतिस्पर्धाका आधारमा छुट्याउन आवस्यक रहेको तर निजी क्षेत्रले त्यसो गर्न नसकेको पनि पोखरेलले बताए । ‘हामीले सबै वस्तु होइन तुलनात्मक लाभका वस्तुको उत्पादन बढाउनुपर्छ । कुन वस्तुमा लागत घटाउन सक्छौं, कुनमा सक्दैनौं भनेर हेर्नुपर्यो,’ उनले भने, ‘मूल्य वृद्धिका कुरा आउलान् । स्वदेशी उद्योगका लागि चाहिने वस्तुको फरवार्ड र ब्याकवार्ड लिंकेज कहाँ छ ? त्यो खोजेको खोई ? यसकारण मूल्य अभिवृद्धि (भ्यालु एड) बढी भएका वस्तु उत्पादनमा जोड दिन जरुरी छ ।’

प्रकाशित : जेष्ठ ९, २०७९ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?