१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चरा ठोक्किएको आशंकामा गौतम बुद्ध विमानस्थलमा रोकियो विमान

माधव ढुंगाना

भैरहवा — अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको आशंकापछि आइतबार राति कतारका लागि उड्नुपर्ने जजिरा एयरलाइन्सको विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ ।  

चरा ठोक्किएको आशंकामा गौतम बुद्ध विमानस्थलमा रोकियो विमान

कतारबाट नियमित उडान तालिकाअनुरुप उडान भरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको विमानका चालकले बताएको विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रवक्ता श्याम किशोर साहले जनाए ।

‘उक्त जानकारी पाउनासाथ तत्काल विमानको जाँच गर्दा जहाजको अगाडि नोजमा र इन्जिन बाहिरको कभरमा रगतको टाटा देखियो‚’ साहले भने, ‘विमानमा चरा ठोक्किएको हुन सक्छ । तर, ठोक्किएको चराको अवशेष भने कतै पनि फेला परेन ।’

विमान र रन-वेमा कतै पनि ठोक्किएको चराको अवशेष फेला नपरेपछि चरा विमानको इन्जिनभित्र पसेको हुन सक्ने शंकाले प्राविधिक जाँच गर्नका लागि विमान रोकिएको उनले बताए ।

विमानको जाँचका लागि काठमाडौंबाट प्राविधिक आउने र सबै चेकजाँच गरेर विमान सुरक्षित रहेको प्रमाणित भएपछि मात्र बल्ल उडान हुने छ ।

जजिरा एयरलाइन्सको एयरबस-३२० विमान १ सय २१ जना यात्रु लिएर आइतबार राति २ बजे भैरहवामा अवतरण गरेको थियो । यो विमानले कतार-भैरहवाबीच हवाई उडान गरेको चौथो पटक हो ।

प्रकाशित : जेष्ठ ९, २०७९ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?