१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुलुकमा खाद्य संकट निम्तिन सक्छ : अध्यक्ष गोल्छा

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकमा खाद्यान्न संकट निम्तिन सक्ने बताएका छन् । देशको कृषि उत्पादनले बढ्दो खाद्यान्न आवश्यकतालाई पुरा गर्न नसकेको र वार्षिक करिब छ लाख मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको सरकारी तथ्यांक रहेको उनले बताए ।

मुलुकमा खाद्य संकट निम्तिन सक्छ : अध्यक्ष गोल्छा

महासंघले आज आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले भने ‘रुस र युक्रेन युद्धको कारण उक्त देशहरुमा गहुँको उत्पादनमा कमी आएको छ । विश्वको दोस्रो सबैभन्दा बढी गहुँ उत्पादन गर्ने देश भारतले गहुँको निर्यात रोक्ने सूचना जारी गरिसकेको छ । इजिप्ट लगायतका केही युरोपेली मुलुकले पनि खाद्यान्न निर्यातमा कडाइ गर्न थालेका छन् । युक्रेनबाट नेपालमा कच्चा खाने तेल र खाद्यान्न लगायतका वस्तु ठूलो मात्रामा आयात हुने गर्दछ । हाल युक्रेनबाट हुने आयात प्रभावित भएको छ । विश्वव्यापी रुपमा खाद्यान्न आपूर्तिमा आइरहेको समस्याले समेत नेपालमा खाद्यान्न संकट निम्तिन सक्ने अवस्थालाई नजरअन्दाज गर्न सकिँदैन ।’

आयल निगमले एकैपटक पेट्रोल डिजेलमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि गर्दा पनि नोक्सानीको अवस्था देखिएकाले मूल्यवृद्धि अझै बढ्न सक्ने खतरा रहेको उनले औंल्याए । उनले भने ‘इन्धनको मूल्य बढ्दा ढुवानी र उत्पादनमा पनि केही हदसम्म लागत बढ्न जान्छ, यसले पनि बजार भाउ बढ्ने गर्दछ । रुस युक्रेन युद्धले मूल्यवृद्धि थप बढाइदियो ।’ विश्वभर नै बजार भाउ अहिले आकासिएको छ । संयूक्त राज्य अमेरिकामा मूल्यवृद्धिदर ८.३ प्रतिशत पुगेको, भारतमा सन् २०१४ यताकै उच्च मूल्यवृद्धि भएको बताउँदै उनले नेपाल अछुतो रहने अवस्थामा नरहेको उल्लेख गरे । नेपालमा सन् २०२० मे महिनामा प्रतिलिटर ८५ रुपैयाँ रहेको डिजेलको मूल्य निरन्तर बृद्धि भई हाल प्रति लिटर १५३ रुपैयाँ पुगेको छ । यसले ढुवानी खर्च वृद्धि हुँदा समग्र मूल्यवृद्धि बढेको छ ।


प्रकाशित : जेष्ठ ८, २०७९ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?