पेट्रोलियम पदार्थ आपूर्तिको जिम्मा निजी क्षेत्रलाई पनि दिने तयारी - अर्थ / वाणिज्य - कान्तिपुर समाचार

पेट्रोलियम पदार्थ आपूर्तिको जिम्मा निजी क्षेत्रलाई पनि दिने तयारी 

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनेबारे तयारी गरिएको बताएका छन् ।  आइतबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय’ विषय अन्तर्क्रियामा बोल्दै मन्त्री बडूले पेट्रोलियम पदार्थको आपूर्तिका लागि निजी क्षेत्रलाई अनुमति दिनुपर्ने आवश्यकता रहेको बताए । 

निजी क्षेत्रलाई आपूर्ति गर्न दिएमा नेपाल आयल निगमसाग मूल्यमा प्रतिस्पर्धा हुने र उपभोक्ताले कम मूल्यमा पाउन सक्ने उनको भनाइ छ । मन्त्री बडूले भने ‘पेट्रोलियम पदार्थको आपूर्तिमा निजी क्षेत्रलाई कसरी सहभागी गराउन सकिन्छ भन्नेबारे सोचिरहेका छौं । एउटा अथोरिटी बनाइदिने हो, उसले रेगुलेट गर्ने हो र निजी क्षेत्रबाट आपूर्तिकर्ता आउँछन् भने एउटा प्रतिस्पर्धा सुरु हुन सक्छ मूल्यमा । त्यो मूल्यको प्रतिस्पर्धाले फाइदा त अन्तमा उपभोक्तालाई होला नि ।’

आयल निगमललाई पनि व्यवस्थित गर्नुपर्ने र प्रतिस्पर्धामा लैजानुपर्ने उनको भनाइ छ । मन्त्री बडूले भने ‘मन्त्रालयको टिम बसेर त्यसतर्फ काम गर्ने छौँ र नीतिगत रुपमा हामीले निजी क्षेत्रको प्रवेशलाई इन्धनको आपूर्तिमा पनि सहभागी गराउनुपर्ने छ ।’ मन्त्री बडूले निस्क्रिय अवस्थामा रहेका उद्योगहरुलाई पनि निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने गृहकार्य भइरहेको बताए ।


प्रकाशित : जेष्ठ ८, २०७९ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्

कटारी-५ मा खसेको ७० प्रतिशत मत बदर

डिल्लीराम खतिवडा

उदयपुर — सार्वजनिक भइरहेको स्थानीय निर्वाचनको मत परिणामअनुसार कटारी नगरपालिका ५ मा खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी बदर भएको पाइएको छ । आइतबार सार्वजनिक अन्तिम मत परिणामअनुसार वडामा खसेको ३ हजार १ सय ७ मत गणना हुँदा २ हजार १ सय ९४ मत बदर भएको पाइएको हो ।

सबैभन्दा बढी खुल्ला सदस्य(दोस्रो २)मा २ हजार १ सय ९४ मत बदर भएको छ । मत बदर हुँदा एमालेका राम हरिकुमार दनुवारले मात्रै ९ सय १३ मत पाएका छन् । मत बदर हुँदा उनका प्रतिद्वन्द्वीले शून्य मत पाएको निर्वाचन अधिकृत राजकुमार राउतले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।

सार्वजनिक मत परिणाममा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य खुल्ला सदस्य(१) र खुल्ला सदस्य(२)मा क्रमशः ५ सय ७२, ९ सय ८६, ५ सय ७२, १ हजार ४ सय ४८, १ हजार ५ सय ४५ , १ हजार ६ सय ४७ र २ हजार १ सय ९४ मत बदर भएको छ ।

कटारी नगरपालिकको कूल मतदाता ३८ हजार ४ सय ४६ रहेको छ । त्यसमध्ये अहिलेको स्थानीय तह निर्वाचनमा करिब ६७ प्रतिशत २५ हजार ७ सय ५३ मत खसेको निर्वाचन अधिकृत राउतले बताए ।

यो समाचार तयार पार्दासम्म १५ हजार ५ सय ८८ मत गणना भइसकेको छ । गणना भएकोमध्ये प्रमुखमा ३ हजार ४ र ५६ र उपप्रमुखमा ४ हजार ४ सय ३५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय कटारीले जनाएको छ ।

उपप्रमुखमा ४ हजार ४ सय ३५ मत बदर हुँदा अहिलेसम्म अग्रस्थामा रहेकी नेकपा एमालेकी उपप्रमुख उम्मेदवार गीता खड्काले ४ हजार १ सय ४९ मत लिएर अग्रस्थानमा रहेकी छन् । १४ वडा रहेको कटारी नगरपालिकामा अब १ देखि ४ नम्बर अर्थात ४ वटा वडाका १० हजार १ सय ६८ मत मात्रै गणना गर्न बाँकी छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ १९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×