कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलले बुझाए योजनाका सूची

गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना पुनः सञ्चालन लगायत माग

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी संघीय बजेटमा समेट्नुपर्ने भन्दै प्रदेशका विभिन्न योजनाको सूची प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाएका छन् । संघीय सरकारले नीति तथा कार्यक्रम र बजेटको अन्तिम तयारी गरिरहेका बेला पोखरेलले शनिबार देउवालाई भेटेरै योजना समेट्न माग गरेका हुन् ।

प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलले बुझाए योजनाका सूची

उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन प्रदेश सरकारको समेत लगानी साझेदारी हुने गरी संघीय सरकारले आर्थिक वर्ष ०७९/८० बाट कार्यान्वयनमा लैजान मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

साथै बुढीगण्डकी जलविद्युत् आयोजना पनि आगामी वर्षबाटै निर्माण थाल्ने गरी काम गर्न मुख्यमन्त्रीले अनुरोध गरे । मुक्तिनाथदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म जोड्ने मुक्तिमार्ग निर्माणको योजना समेट्न पनि माग मुख्यमन्त्रीले माग गरेका छन् । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने, फेवातालको संरक्षण र विकासका लागि फेवाताल संरक्षण र विकास गुरुयोजना कार्यान्वयनका लागि लगानी सुनिश्चित हुनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

मुस्ताङको कोरला, पूर्वी नवलपरासीको त्रिवेणी र गोरखाको लार्के सीमा नाकामा भन्सार पूर्वाधार विकास गरी गरी नेपाल–चीन द्विदेशीय व्यापार तथा वाणिज्य प्रवर्द्धन गर्नुपर्नेमा पनि मुख्यमन्त्रीको जोड छ । गोरखाको आरुघाटदेखि चुमनुब्री हुँदै उत्तरी नाका लार्केसम्म मोटरबाटो निर्माणका लागि लगानी गर्नुपर्ने, देवघाटमा त्रिकोणात्मक मोटरेबल पुल निर्माणका लागि पनि मुख्यमन्त्रीको माग छ ।

गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखानालाई पुनः सञ्चालन गर्न, धार्मिक महत्त्वको कालीगण्डकी नदीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरी यसको बहुपक्षीय विकासका लागि लगानी गर्नुपर्ने उनको माग छ । मनाङको नार्पाभूमि गाउँपालिकामा सडक पुर्‍याउन र नवलपुरको गैंडाकोटमा बीपी अन्तर्राष्ट्रिय खेलग्राम एवं नवलपुरमै ट्रमा सेन्टर स्थापनाका लागि पनि केन्द्र सरकारले बजेट विनियोजन गरिदिन उनले प्रधानमन्त्रीसँग अनुरोध गरेको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बताए ।

ध्यानाकर्षणपत्र ग्रहण गरेपछि प्रधानमन्त्री देउवाले गण्डकीबाट आएका योजनालाई प्राथमिकतामा राख्दै सकेसम्म सबै योजना बजेटमा समेट्ने आश्वासन दिए ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?