फौजी कीरा नियन्त्रणबारे दुई सरकारी संस्थाको अध्ययन बाझियो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

फौजी कीरा नियन्त्रणबारे दुई सरकारी संस्थाको अध्ययन बाझियो

सर्लाहीको गोडैटा नगरपालिकामा तीन वर्ष अनुसन्धान गरेका कुशवाहको अनुसन्धान बेलायतको म्यागजिन नेचर जर्नल साइन्टिफिक रिपोर्ट्समा प्रकाशित
राजु चौधरी

काठमाडौँ — नेपाल कृषि अनुसन्धान परिषदन्तर्गतको राष्ट्रिय बाली तथा आनुवंशिक अनुसन्धान केन्द्रका एक बाली प्रजनकले फौजीकीरा नियन्त्रण गर्ने प्रविधि पहिचान गरेको दाबी गरेका छन् । ३ वर्ष लगाएर अनुसन्धान गरी ग्रिजका माध्यमबाट फौजीकीरा नियन्त्रण गर्न सकिने केन्द्रका अनुसन्धानकर्ता उज्ज्वलकुमार सिंह कुशवाहको दाबी छ ।

सर्लाहीको गोडैटा नगरपालिका–५ मा करिब ३ वर्ष अनुसन्धान गरेका कुशवाहको अनुसन्धान मे ५, २०२२ मा बेलायतको म्यागाजिन नेचर जर्नल साइन्टिफिक रिपोर्ट्सको अनलाइन संस्करणमा प्रकाशन भएको छ ।

‘सन् २०१९ देखि २०२१ सम्म अध्ययन गरें । सर्लाही र खुमलटार आफ्नै कार्यकक्षमा पनि परीक्षण गरें । दुवै परीक्षणले ग्रिजमा छुनेबित्तिकै फौजीकीरा भाग्ने देखायो । फौजीकीरा लागेको एउटा बोटमा ०.१५ देखि ०.२० एमजी ग्रिज लगाउँदा ७ दिनमा परिवर्तन देखिन्छ, १४ दिनमा कीरा रहँदैन,’ उनले भने, ‘यो वैकल्पिक उपाय हो । एक कठ्ठा खेतका सय बोटमा ग्रिज लगाउँदा फौजीकीरा फिल्ड छाडेर भाग्छ ।’ तर, नार्ककै अर्को संस्था राष्ट्रिय किट विज्ञान अनुसन्धान केन्द्र प्रमुख प्रेमनिधि शर्माले भने ग्रिजको प्रयोगले नियन्त्रण हुन नसक्ने दाबी गरे । कीरासम्बन्धी अध्ययन किट विज्ञानले गर्ने भएकाले ब्रिडर (प्रजनक)ले भनेजस्तो ग्रिजबाट सम्भव नरहेको उनको भनाइ छ ।

‘ग्रिजबाट नियन्त्रण हुने सुन्दा अपत्यारिलो लाग्यो । खुमलटारमा मकैका गुभोमा ग्रिज लगाएर फौजीकीरा छाड्यौं । एक साता परीक्षण गर्दा कीराले झन् खाएको देखियो,’ प्रमुख शर्माले भने, ‘ल्याब र फिल्डमा परीक्षण गर्दा बोट नै कीराले खाएको देखियो । बाहिर आएको सूचना गलत देखियो ।’ किट विज्ञान अनुसन्धान केन्द्रले भर्जिनिया टेक अमेरिकाको सहयोगमा अनुसन्धान गरेको जनाएको छ । ग्रिजमार्फत फौजीकीरा नियन्त्रण गर्ने दाबी ब्रिडरले गरेकाले यसबारे किट विज्ञान जिम्मेवार नहुने शर्माको भनाइ छ । ‘किटसम्बन्धी अनुसन्धान किट विज्ञानले गर्छ । सम्बद्ध निकायले गर्नुपर्नेमा ब्रिडरले गरेको छ,’ शर्माले भने, ‘भर्जिनिया टेकका वैज्ञानिकसँग सहकार्य गरेर परीक्षण गर्दा त्यस्तो पुष्टि भएन । ग्रिजको कुरामा हामी जिम्मेवार छैनौं । यस विषयमा राष्ट्रिय बाली तथा आनुवंशिक अनुसन्धान केन्द्र प्रमुखलाई जानकारी गराइसकेका छौं ।’

राष्ट्रिय बाली तथा आनुवंशिक अनुसन्धान केन्द्र्र प्रमुख भानुभक्त पोखरेलले ग्रिज प्रविधिबाट फौजी नियन्त्रणबारे किट विज्ञानसँग छलफल भइरहेको बताए । किटले पनि परीक्षण गरिरहेकाले त्यसपछि निष्कर्ष निकाल्न सकिने उनको भनाइ छ । ‘बाली प्रजनक कुशवाहले ३ वर्ष अध्ययनअनुसन्धान गरेका रहेछन् । सर्लाहीमा अध्ययनअनुसन्धान गरेकै कारण एसियाकै जर्नलमा पनि प्रकाशित भयो,’ पोखरेलले भने, ‘यद्यपि यसबारे किटसँग पनि छलफल भइरहेको छ । मकैको ल्याबमा हेर्दै छौं, त्यसपछि निष्कर्ष निकाल्छौं ।’ ग्रिज प्रयोगबारे आफूलाई जानकारी नभएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईंले बताए । फौजी कीराका लागि विषादी नै प्रयोग भइरहेको उनको भनाइ छ ।

फौजीकीराको प्रकोप हरेक वर्ष देखिँदै आएको छ । फौजीको प्रकोप ४२ जिल्लाभन्दा बढीमा देखापरिसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दाबी छ । फौजीकीरा रातमा मात्रै चल्छ । एक रातमा एक सय किमि उड्न सक्छ । यो कीरा गर्मी ठाउँमा बढी सक्रिय हुन्छ । करिब ८० प्रकारको घाँसबालीलाई यसले नोक्सानी पुर्‍याउँछ । सबैभन्दा बढी मकैलाई असर गर्छ । ग्रिज त्यसको विकल्प रहेको कुशवाहको दाबी छ । ‘विश्वमा बाली प्रजनक भए पनि अन्य क्षेत्रमा अध्ययनअनुसन्धान गर्न पाइन्छ । तर नार्कको हकमा जुन विषय हो, त्यही विषयमा मात्रै काम गर्न दिएको छ । फौजी नियन्त्रण गर्ने विधि पहिचान भएपछि केही विज्ञलाई समस्या भएको छ,’ कुशवाहले भने, ‘विरोध गर्नु नार्कका कर्मचारीको सामान्य चरित्र हो । अनुसन्धान गरेपछि यहाँका विज्ञलाई समस्या भयो ।’ नेचर म्यागाजिनले करिब १० महिना अध्ययन गरेर आफ्नो अनुसन्धान छापेकाले प्रविधि आउनु आफैंमा ठूलो कुरा रहेको उनको दाबी छ । ‘बाली प्रजनक भए पनि काम किट विज्ञानको गरें । करिब तीन वर्षको प्रयोगपछि सफल पनि भएँ । त्यसमा सन्तुष्ट छु,’ उनले भने ।

प्रकाशित : जेष्ठ ७, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

राजस्थानले क्वालिफायर वान खेल्ने

एएफपी

मुम्बई — रविचन्द्र आश्विनको अलराउन्डर प्रदर्शनको मदतले राजस्थान रोयल्सले शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा चेन्नाइ सुपर किंग्सलाई पाँच विकेटले पराजित गरेको छ ।

यो जितपछि राजस्थान लिग तालिकाको दोस्रो स्थानमा रहेर क्वालिफायर वानका लागि छनोट हुन पनि सफल रह्यो ।

पहिले ब्याटिङ गरेको चेन्नाइले छ विकेटमा १ सय ५० रन बनाएको थियो । जवाफमा राजस्थानले १९.४ ओभरमा पाँच विकेट गुमाएर १ सय ५१ रन बनायो । त्यसमा आश्विनले २३ बलमा ४० रन बनाए र नटआउट रहे । चेन्नाइका लागि भने मोइन अलिले सर्वाधिक ९३ रन बनाएका थिए ।

यो जितपछि राजस्थानको १८ अंक भएको छ । तेस्रो स्थानमा झरेको लखनउ सुपर किंग्सको पनि समान १८ अंक रहेको छ, तर राजस्थान नेट रन रेटमा अगाडि रहेको हो । गुजरात टाइटन्स २० अंकमा शीर्ष स्थानमा रहने छ भने उसको ठीक पछाडि राजस्थान रहनेछ । प्रतियोगिताको क्वालिफायर वानमा यिनै दुई टिम गुजरात र राजस्थान भिड्ने छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×