कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूरसञ्चार प्राधिकरणमा दुई बोर्ड सदस्यका लागि आवेदन माग

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको दुई बोर्ड सदस्य पदका लागि आवेदन माग गरेको छ । बिहीबार सूचना प्रकाशित गर्दै मन्त्रालयले प्राधिकरणको सदस्यहरूमध्ये प्राविधिक र लेखा तर्फका पदमा आवदेन माग गरेको थियो ।

दूरसञ्चार प्राधिकरणमा दुई बोर्ड सदस्यका लागि आवेदन माग

हालका सदस्यद्वय चुडामणी चौलागाईं र टेकनाथ आचार्यको पदावधि जेठ १८ मा सकिने भएकाले सरकारले नयाँ सदस्य नियुक्तिका लागि पहल थालेको हो । यसका लागि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ । आवेदनमार्फत् समितिले तीन जनाको नाम सरकारलाई सिफारिस गर्नेछ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार हिजोदेखिको २१ दिनभित्र दरखास्त पेश गर्नुपर्नेछ । निवेदकले साे दिनसम्म ३० वर्ष पूरा भई ६५ ननाघेको हुनुपर्ने भनिएको छ । स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ७ वर्षको अनुभव हुनुपर्ने याेग्यता तोकिएको छ । साथै, सरकारी निकायको माथिल्लो तहमा कम्तिमा ७ वर्ष काम गरेको अनुभव हुनुपर्ने उल्लेख छ ।

इच्छुक आवेदकले ५ हजार शब्दको व्यवसायिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ । ‘सोही कार्ययोजना, त्यसको प्रस्तुति र अन्तरवार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि सिफारिस गरिनेछ,’ सूचनामा भनिएको छ, ‘दरखास्तसाथ उम्मेदवारले आफ्नो योग्यतासम्बन्धी स्वः घोषणा पेश गर्नुपर्नेछ ।’ उम्मेदवारले सिंहदरबारस्थित मन्त्रालयमा दरखास्त बुझाउनुपर्नेछ ।

प्रकाशित : जेष्ठ ६, २०७९ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?