फेरि नयाँ उचाइमा डलर- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि नयाँ उचाइमा डलर

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको भाउ निरन्तर कमजोर बन्दै गएको छ । सोही क्रममा शुक्रबार एक अमेरिकी डलरको विनिमय दर १ सय २४.६७ रुपैयाँ (बिक्री दर) पुगेको छ । यो हालसम्मकै उच्च हो ।

राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको अमेरिकी डलरको विनिमय दरमा अघिल्लो दिनको तुलनामा २६ पैसाले बढी हो । गत बुधबार राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २४.४१ रुपैयाँ तोकेको थियो ।

पछिल्लो पटक गत मंगलबार (वैशाख २७ मा) देखि अमेरिकी डलरले हरेक दिनजसो नयाँ रेकर्ड बनाउँदै आएको छ । त्यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १ सय २३.२४ रुपैयाँसम्म पुगेको थियो । करिब ३ महिनाअघिसम्म डलर उकालो लाग्ने दरमा केही कमी आए पनि केही दिनयता पुनः उकालो लाग्न थालेको छ । गत असारको तुलनामा चैतसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.०४ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४८ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो । पछिल्ला ४ वर्षमा अमेरिकी डलर भाउ करिब १९ रुपैयाँ बढेको छ । डिसेम्बर २०१७ मा एक अमेरिकी डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्व बजारमा अमेरिकी डलरको माग अकासिएपछि भाउ पनि बढेको जानकारहरू बताउँछन् ।

तर, पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरूको भनाइ छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्

‘बाह्य क्षेत्र दबाबले वित्तीय स्थायित्वमा खलल’

‘बाह्य क्षेत्र चापमा पर्न थालेपछि बैंक तथा वित्तीय संस्थामा तरलता समस्या देखियो र यसले ब्याजदर वृद्धिका लागि दबाब पार्‍यो’
कान्तिपुर संवाददाता

काठमाडौँ — केही महिनादेखि मुलुकले भोग्दै आएको बाह्य क्षेत्र (बढ्दो शोधनान्तर र व्यापार घाटा, घट्दो रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति आदि) दबाबले वित्तीय प्रणालीमा स्थायित्व हुन नसकेको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

बाह्य क्षेत्र चापमा पर्न थालेपछि बैंक तथा वित्तीय संस्थामा तरलता समस्या देखिएको र यसले ब्याजदर वृद्धिका लागि दबाब परेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदन २०७७/७८’ ले यस्तो देखाएको हो ।

सहकारी संघसंस्थाको संख्या र कारोबार आकार बढेसँगै त्यो क्षेत्र नियमनबाहिर रहेकाले समग्र वित्तीय क्षेत्रको स्थायित्वमा खलल पुर्‍याउन सक्ने जोखिम रहेको पनि प्रतिवेदनले देखाएको छ । ‘पछिल्लो समय सहकारी संघसंस्थासँगै जीवन र निर्जीवन बिमा कम्पनीको आकार तीव्र रूपमा विस्तार भएको छ । सामाजिक सुरक्षा कोष पनि स्थापना भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तीलगायत गैरबैंकिङ क्षेत्रको वास्तविक तथ्यांकको अभाव छ । सहकारी क्षेत्रको प्रभावकारी अनुगमन हुन सकेको छैन । यसले समग्र वित्तीय क्षेत्रको स्थायित्वमा समेत दबाब पुर्‍याउन सक्ने देखिन्छ ।’

कोभिड संक्रमणले अन्य राष्ट्रमा जस्तै नेपालमा पनि वित्तीय क्षेत्रको सम्पत्तिको गुणस्तर खस्किने प्रक्षेपण गरिए पनि यथार्थमा त्यसो नदेखिएको प्रतिवेदनले देखाएको छ । ‘मुलुकभर गरिएको बन्दाबन्दीका कारण आर्थिक वर्ष २०७७/७८ मा वित्तीय क्षेत्रको सम्पत्तिको गुणस्तर खस्किने अनुमानविपरीत अवस्था सन्तुलित छ,’ प्रतिवेदनमा भनिएको छ । यसअनुसार अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ६१ अर्ब ५० करोड रहेकामा गत आर्थिक वर्षमा बढेर ६१ अर्ब ६० करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । उक्त अवधिमा बैंकको खराब कर्जा कुल कर्जाको १.८९ बाट घटेर १.४८ प्रतिशतमा झरेको राष्ट्र बैंकको दाबी छ ।

यद्यपि तरलता सूचक भने दबाबमा रहेको प्रतिवेदनले औंल्याएको छ । केही महिनाअघिसम्म बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम मात्र अभाव थियो । पछिल्ला केही महिनायता बैंकहरूसँग निक्षेपकर्तालाई भुक्तानी गर्ने रकम (निक्षेप– तरलता अनुपात) मै दबाबमा पुग्न थालेको संकेत प्रतिवेदनले दिएको छ । हाल वाणिज्य बैंकहरूले कम्तीमा २० प्रतिशत तरलता कायम गर्नुपर्छ । तर, पछिल्ला महिनायता २७ वटा वाणिज्य बैंकमध्ये हरेक दिनजसो आधाभन्दा धेरैको तरलता अनुपात २० प्रतिशतभन्दा कम रहने गरेको छ । यसले पनि बैंकहरूको निक्षेपकर्तालाई भुक्तानी गर्ने क्षमता खस्किँदै गएको पुष्टि हुने जानकारहरू बताउँछन् ।

प्रतिवेदनले बैंकिङ क्षेत्रको आकार ६० खर्ब रुपैयाँ पुगेको पनि उल्लेख छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल सम्पत्ति ६० खर्ब ६८ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षमा यो क्षेत्रको कुल सम्पत्ति ४९ खर्ब ५३ अर्ब रुपैयाँ थियो ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×