१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

माछाखोलामा बन्यो बेलिब्रिज

दोभानसम्म गाडी गुडेपछि उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको ढुवानी मूल्य घट्यो
हरिराम उप्रेती

गोरखा — धार्चे गाउँपालिका–५ माछाखोलामा बेलिब्रिज निर्माण भएको छ । बेनीघाट–आरुघाट लार्केभन्ज्याङ्ग सडकअन्तर्गत माछाखोलामा नेपाली सेनाले बनाएको बेलिब्रिजको प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार उद्घाटन गरे । १२० फिट लम्बाइको बेलिब्रिज २ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको नेपाली सेनाको सडक निर्माण कार्यदलका मेजर विनोद भट्टले बताए ।

माछाखोलामा बन्यो बेलिब्रिज

‘छिट्टै काम सकियो । बिहीबारबाट गाडी चल्न पनि सुरु भएको छ,’ उनले भने । पुल उद्घाटनसँगै शर्माले लार्के सडकको हवाई निरीक्षण समेत गरेका थिए । बेनीघाट–लार्के सडकखण्डअन्तर्गत हावाडाँडाबाट ट्र्याक खोल्न सुरु गरेको सेनाले पाङसिङ क्षेत्रमा ट्र्याक खोल्ने काम गरिरहेको छ । हालसम्म ३२ किमि ट्र्याक खुलेको उनले बताए । सडक ट्र्याक खुलेसँगै दोभानसम्म सवारी चल्न थालेका छन् ।

हावाडाँडाबाट काम सुरु गरेको सेनाले चुमनुब्री गाउँपालिकाको पाङसिङसम्मको क्षेत्रमा ट्र्याक खोल्न खण्ड छुट्याएर काम गरिरहको छ । ट्र्याक खुलेको क्षेत्रमा सडक स्तरोन्नतिको काम भइरहेको छ । राष्ट्रिय गौरवको प्राथमिकतामा परेको सडकको धेरै जसो भागमा कडा चट्टान रहेकाले सेनाले विस्फोटक पदार्थको सहायता लिएको छ । सडक स्तरोन्नति भएसँगै दोभानसम्म मालवाहक सवारी गुड्न थालेका छन् । यस वर्ष चुमनुब्री गाउँपालिकाको सिर्दिवाससम्म गाडी गुडाउने लक्ष्यसाथ काम अघि बढेको नेपाली सेनाले जनाएको छ ।

यसअघि धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म मात्र ट्रक, बोलेरोलगायत यातायातका साधान चल्ने गरेका थिए । दोभानसम्म गाडी गुडेपछि उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको ढुवानी मूल्य घटेको छ । माछाखोलामा पुल नहुँदा जोखिमका साथ खोला तरेर सवारी आउजाउ गर्दै आएका छन् । लार्केभन्ज्याङसम्मको उक्त सडकको ट्र्याक खोलिएपछि गुम्दा लापु, उहिया, काशिगाउँ, केरौँजा, सिर्दिवास, बिही, प्रोक र सामागाउँबासी लाभान्वित हुनेछन् ।

बेनीघाटदेखि लार्केसम्मको एक सय ८६ किमिमध्ये ६२ किमि सडकको काम सडक विभागले गरेको हो । हावाडाँडादेखि लार्केसम्मको ९२ किमि सडकको ट्र्याक खोल्ने जिम्मा सेनाले पाएको छ । ट्र्याक खुल्ने सडक सर्भेको काम सकिएको छ । यहाँ २०७४ वैशाख ११ बाट सडकको काम सुरु भएको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?