कर असुली लक्ष्यभन्दा कम, वैशाख मसान्तसम्म ३ खर्ब ७७ अर्ब उठ्यो

काठमाडौँ — आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको १० महिना अवधिमा लक्ष्यको ९० प्रतिशत राजस्व संकलन गरेको छ । वैशाख मसान्तसम्म ४ खर्ब २० अर्ब १८ करोड रुपैयाँ बराबर राजस्व संकलन लक्ष्य राखेको विभागले ३ खर्ब ३७ अर्ब ९३ करोड रुपैयाँ बराबर असुली गरेको हो ।

कर असुली लक्ष्यभन्दा कम, वैशाख मसान्तसम्म ३ खर्ब ७७ अर्ब उठ्यो

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने यस वर्षको राजस्व संकलन १० प्रतिशत बिन्दुले बढी हो । गत आर्थिक वर्ष २०७७/७८ को वैशाख मसान्तसम्ममा विभागले ३ खर्ब ४३ अर्ब ४३ करोड रुपैयाँ बराबर राजस्व उठाएको थियो ।

आयकर, मूल्य अभिवृद्धि (भ्याट) र अन्त:शुल्क तीन वटै शीर्षकको राजस्व संकलन लक्ष्यभन्दा न्यून छ । वैशाख मसान्तसम्ममा २ खर्ब २४ अर्ब ५७ करोड रुपैयाँ बराबर आयकर संकलन लक्ष्य राखिएकोमा ८८ प्रतिशत अर्थात् १ खर्ब ७३ अर्ब ६३ करोड रुपैयाँ बराबर उठेको छ । त्यस्तै, भ्याटतर्फ वैशाख मसान्तसम्ममा १ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखिएकोमा ८५.३२ प्रतिशत अर्थात ९० अर्ब ५१ करोड रुपैयाँ बराबर संकलन भएको छ । अन्त:शुल्कतर्फ भने ९७.०७ प्रतिशत राजस्व संकलन भएको छ । १० महिनामा ८५ अर्ब ८१ करोड रुपैयाँ बराबर अन्त:शुल्क असुली लक्ष्य रहेकोमा ८३ अर्ब ३० करोड रुपैयाँ असुली भएको हो ।

शिक्षा र स्वास्थ्य सेवामा लाग्ने कर भने लक्ष्यभन्दा बढी उठेको विभागले जनाएको छ । हालसम्म स्वास्थ्य सेवा करतर्फ ५ अर्ब ३२ करोड र शिक्षातर्फ ८९ करोड रुपैयाँ बराबर असुली भएको छ । चालु आर्थिक वर्षका लागि कुल ५ खर्ब ३७ अर्ब रुपैयाँ बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखिएको छ । उक्त लक्ष्य पूरा गर्नका लागि जेठ र असार महिनामा मात्रै करिब १ खर्ब ६० अर्ब रुपैयाँ बराबर कर असुल्नुपर्ने देखिन्छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?