निक्षेप तथा कर्जा सुरक्षण कोषमा फेरि खुल्यो सीईओको आवेदन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निक्षेप तथा कर्जा सुरक्षण कोषमा फेरि खुल्यो सीईओको आवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषमा प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि फेरि आवेदन खुल्ला गरेको छ ।यसअघि गत मंसिरमा पनि उक्त पदका लागि आवेदन आह्वान गरिएको थियो । त्यतिबेला १३ जनाले आवेदन दिएका थिए । त्यो सबै प्रक्रिया खारेज गरेर अहिले पुन: नयाँ आवेदन माग गरिएको हो ।   

यसअघिका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रको कार्यकाल सकिएपछि कोषमा उक्त पद खाली छ । नयाँ सूचना अनुसार सीइओका लागि योग्य आवेदकले २१ दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिनुपर्ने छ । उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानून, लेखा, बैंकिङ वा बीमा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्ट उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ ।

यस्तै, उक्त पदका लागि आर्थिक, बैंकिङ, बिमा वा वित्तीय क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा पाँच वर्षभन्दा बढीको कार्य अनुभव तोकिएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा ९ (ग) बमोजिम अयोग्य नरहेको व्यक्ति हुनुपर्ने छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटको शिवपुरी गाउँपालिका अध्यक्षमा कांग्रेसका थपलिया विजयी

कृष्ण थापा

नुवाकोट — नुवाकोटको शिवपुरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका गोविन्द्रप्रसाद थपलिया चुनिएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ विजयी भएका छन् । कांग्रेसका थपलियाले ४ हजार १८२ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पदमबहादुर उप्रेतीले ४ हजार ७३ मत ल्याए । 


अध्यक्षमा १०८ मतान्तरले कांग्रेसका थपलियाले जितेका हुन् । ०७४ सालको चुनावमा एमालेबाट सोही पदमा उम्मेदवार हुँदा उप्रेती कांग्रेसका रामकृष्ण थापासँग पराजित भएका थिए । यहाँ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका थिए । त्यसैगरी उपाध्यक्ष माओवादीका वीरबहादुर तामाङले नेपाली कांग्रेसकी इन्दिरा खड्कालाई पराजित गरे । खड्काले ४ हजार ५६ मत पाउँदा तामाङले ६६४ मत बढी पाए ।


प्रकाशित : जेष्ठ ४, २०७९ १२:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×