कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आयातमा इन्धनको हिस्सा करिब १५ प्रतिशत

डलरको मूल्य बढ्दा आयातको हिस्सा पनि उकालोमा
राजु चौधरी

काठमाडौँ — चालु आर्थिक वर्षको ९ महिनामा १४ खर्ब ६६ अर्ब ५५ करोडको सामान आयात हुँदा पेट्रोलियम पदार्थ मात्र २ खर्ब १८ अर्ब ३५ करोडको भित्रियो । यो कुल आयातको १४.८८ प्रतिशत हो । भन्सार विभागको तथ्यांकअनुसार आयात हुने वस्तुमध्ये पहिलो नम्बरमै पेट्रोलियम पदार्थ पर्छ । इन्धनकै कारण व्यापार घाटा उच्चदरले बढ्न थालेपछि सरकारले विद्युत् खपत बढाउने र खाना पकाउने ग्यासको विकल्प इन्डक्सन चुलोको प्रयोग बढाउने नीति लिइरहँदा इन्धन आयात भने हरेक वर्ष बढिरहेको छ । 

आयातमा इन्धनको हिस्सा करिब १५ प्रतिशत

इन्धनको आयात बर्सेनि औसतमा १४ देखि १५ प्रतिशतले बढ्ने गरेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्याय बताउँछन् । यसमध्ये सबैभन्दा बढी आयात खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको हुन्छ । ‘ग्यासको खपत सहरसँगै गाउँमा पनि बढ्दो छ । गत वर्ष मासिक औसतमा ३२ हजारदेखि ३५ हजार टन आयात हुन्थ्यो । यस वर्ष मासिक ४० देखि ४२ हजार टनसम्म आइरहेको छ,’ उपाध्यायले भने, ‘ग्यासबाट मात्रै निगमलाई मासिक ३ अर्ब नोक्सानी भइरहेको छ । बिजुलीबाट चल्ने इन्डक्सन चुलोबाट नै खपत बढाउनुपर्छ ।’ डिजेल, पेट्रोलको आयात बढ्नुको कारण भने सवारी साधनको चाप, ढुवानी र विकास निर्माण रहेको उनले जनाए ।

पछिल्ला महिना कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा बढ्दै गएको राष्ट्र बैंकको वित्तीय विवरणले देखाउँछ । साउनमा कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १०.८ प्रतिशत मात्रै थियो । क्रमिक रूपमा बढ्दै कात्तिक मसान्तसम्म १२, माघ मसान्तसम्म आउँदा १३.६ र फागुन मसान्तसम्म १४.१ प्रतिशत पुग्यो ।

इन्डक्सनको प्रयोग सहरी क्षेत्रमा मात्रै हुँदा ग्यासको आयात बढिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रवि सैंजूले बताए । यातायात प्रणाली व्यवस्थित नहुँदा निजी सवारीको संख्या बर्सेनि बढिरहेको उनको भनाइ छ । यी दुई कारणले इन्धनको आयात बर्सेनि बढिरहेको उनको धारणा छ । ‘सवारीसाधनको संख्या बढेसँगै इन्धन आयात पनि बर्सेनि बढेको छ । अहिलेको अवस्थामा सवारीसाधन बढेरै इन्धनको आयात बढ्यो,’ उनले भने, ‘ग्यासको खपत घटाउन इन्डक्सन चुलोको प्रयोग बढाउने विषय गफ मात्रै भयो । सर्वसाधारणलाई सुसूचित बनाउन नसक्दा यसको प्रयोग बढेन ।’ इन्डक्सन चुलोको प्रयोग बढाउन विद्युत्मा केही छुट दिनुपर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले पनि पेट्रोलियम पदार्थको आयात उच्च देखिएको हो । भन्सार विभाग र निगमको पछिल्लो ५ वर्षको विवरणले पनि यही पुष्टि गर्छ । आर्थिक वर्ष ०७४/७५ मा १२ खर्ब ३४ अर्ब १० करोडको आयात हुँदा इन्धन खरिदमा मात्रै १ खर्ब ७० अर्ब १३ करोड रुपैयाँ खर्च भएको थियो । अर्थात् कुल आयातमा इन्धनको हिस्सा १३.६६ प्रतिशत थियो । ०७५/७६ मा १४ खर्ब १८ अर्ब ५३ करोडको वस्तु आयात हुँदा २ खर्ब १३ अर्ब ३५ करोडको इन्धन आएको थियो । यो कुल आयातमा इन्धनको हिस्सा १५.०४ प्रतिशत हो । ०७६/७७ मा भने कुल आयातमै कमी आएपछि इन्धनको हिस्सा पनि घटेको छ ।

११ खर्ब ९६ अर्ब ७९ करोडको आयात हुँदा १ खर्ब ६४ अर्ब १५ करोडको इन्धन आयात भएको छ । यो कुल आयातको १३.७१ प्रतिशत हो । त्यस बेला कोभिडका कारण सवारीसाधनलगायत औद्योगिक क्षेत्र ठप्प थिए, जसले गर्दा आयात पनि प्रभावित बनेको थियो । तर ०७७/७८ मा आइपुग्दा १ खर्ब ७५ अर्बको इन्धन आयात भयो । त्यस बेला कुल आयात १५ खर्ब ३९ अर्ब ८३ करोड थियो ।

०७८/७९ मा इन्धनको हिस्सा बढेर पुनः १४.८८ प्रतिशत पुगेको छ । कच्चापदार्थ र डलरका कारण मूल्य अस्वाभाविक रूपमा बढेपछि आयात उच्च दरले बढेको निगमले जनाएको छ । ९ महिनामा २ खर्ब १८ अर्ब ३५ करोडको आयात हुँदा परिमाणका हिसाबले भने वृद्धि सामान्य रहेको निगमका प्रवक्ता उपाध्यायले बताए । ‘गत एक वर्ष र अहिले ९ महिनाको तुलनामा परिमाण गत वर्ष नै बढी छ । तर रकम हेर्दा ९ महिनामा बढी आयात भएको देखिन्छ,’ उनले भने, ‘यसले पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिकै कारण पुष्टि हुन्छ । अर्को डलर पनि हो ।’

युक्रेनमाथि रुसको आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्चदरले बढेको छ । त्यसको असर पनि नेपाली बजारमा परिरहेको छ । सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १० देखि १ सय ११ डलरसम्ममा कारोबार भइरहेको छ । पछिल्लो ५ महिनामा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त गर्ने मूल्यसूची उच्चदरले बढेको उपाध्याय बताउँछन् । पेट्रोलमा प्रतिलिटर ४५, डिजेलमा प्रतिलिटर ६२, मट्टीतेलमा ४०, हवाई इन्धनमा ५७ र खाना पकाउने एलपी ग्यासमा २ सय ८० रुपैयाँ मूल्य बढेको उनको भनाइ छ । २०७८ साउनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५६ डलर आसपास रहेकामा चैत मसान्तसम्म आउँदा यो १०८ डलर आसपास रहन पुग्यो । यसले पनि मूल्य प्रभावित भएको हो ।

ई–सेवाको ‘५० लाखको कमाल, क्यासब्याक बबाल’ काठमाडौं (कास)- ई-सेवाले ‘५० लाखको कमाल, क्यासब्याक बबाल’ अफर सार्वजनिक गरेको छ । प्रयोगकर्ता ५० लाख पुगेको अवसरमा ई–सेवा प्रयोगकर्ताले बुधबार हरेक घण्टा ५ प्रतिशतको क्यासब्याक अफर प्राप्त गर्ने जनाएको हो । अफरअन्तर्गत बेलुकी ५ः५५ देखि ५ः५६ सम्म हरेक ग्राहकले हरेक मोबाइल टपअपमा ५५ रुपैयाँ क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । अफरअन्तर्गत हरेक घण्टा विभिन्न सेवामा ५ प्रतिशत छुट, बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनै पनि कम्पनीको मोबाइलमा टपअप, ९ देखि १० बजेसम्म डाटा प्याक खरिद, १० देखि ११ बजेसम्म विभिन्न आईएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म ई–लर्निङको शुल्क भुक्तानीमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?