निगमको न्यारोबडी भैरहवा उड्दै


काठमाडौँ — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन सोमबार नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले काठमाडौंबाट पहिलो व्यावसायिक उडान गर्ने भएको छ ।



प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गर्ने कार्यक्रममा निगमले काठमाडौंबाट भैरहवाका लागि आफ्नो न्यारोबडी विमानबाट पहिलो व्यावसायिक उडान गर्न लागेको निगमका उपनिर्देशक रमेश पौडेलले जानकारी दिए ।
‘सोमबार बुद्ध जयन्तीका दिन निगमको न्यारोबडी विमान काठमाडौंबाट बिहान ६ बजे जानेछ,’ पौडेलले भने, ‘भैरहवाबाट ८ बजे काठमाडौं फर्किनेछ ।’ उक्त उडानका लागि निगमले बिहीबार साँझदेखि टिकट बिक्री खुला गरिसकेको छ । निगमको मोबाइल एपबाट भैरहवाको टिकट ४५ सय रुपैयाँमा बिक्रीमा राखिएको छ । बिजनेस श्रेणीको टिकट दर ७ हजार रुपैयाँ छ । उद्घाटन उडानमा जाने यात्रुले एपबाट वा ट्राभल एजेन्सीबाट टिकट खरिद गर्न सक्नेछन् । १५८ सिट क्षमताको निगमको जहाजलाई एकतर्फी समय २७ मिनेट लाग्ने भनिएको छ ।
यसअघि जेठ १४ मा निगमकै वाइडबडी विमानले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमोस्ट्रेसन उडान गरेको थियो । सन् १९५८ जुलाई ४ मा पहिलो पटक उडान सुरु भएको भैरहवाको गौतम बुद्ध आन्तरिक विमानस्थललाई करिब साढे ७ अर्ब रुपैयाँ खर्च गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको छ । सात वर्ष लगाएर यसको निर्माण हालै सकिएका थियो ।
प्रकाशित : जेष्ठ १, २०७९ ०८:११