भारतले रोक्यो गहुँ निर्यात- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतले रोक्यो गहुँ निर्यात

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतले गहुँ निर्यातमा रोक लगाएको छ । शुक्रबार साँझ भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा तत्काल लागू हुने गरी गहुँ निर्यात रोक्ने भनिएको छ ।

विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश भारतले देशभित्र बढ्दो महँगी र खाद्य सुरक्षालाई ध्यानमा राखेर निर्यातमा रोक लगाएको जनाएको छ ।

भारत सरकारले आफ्नो देशको समग्र खाद्य सुरक्षा व्यवस्थापनका लागि र छिमेकी तथा जोखिमयुक्त देशहरूलाई सहयोग गर्न गहुँ निर्यातलाई ‘प्रतिबन्धात्मक’ कोटामा राखेको सूचनामा उल्लेख छ । ‘भारत, छिमेकी र जोखिमपूर्ण अवस्थामा रहेका विकासोन्मुख देशहरूलाई खाद्य सुरक्षा प्रदान गर्न भारत प्रतिबद्ध छ,’ सूचनामा भनिएको छ, ‘विश्व बजारमा आएको आकस्मिक परिवर्तनले पर्याप्त गहुँ आपूर्तिमा यी क्षेत्रले पहुँच बनाउन सकेका छैनन् ।’

अग्रिम भुक्तानी गरिसकेकाहरूलाई भने भारतले गहुँ ढुवानी गर्ने बताएको छ । युक्रेनमाथि रसियाको आक्रमणका कारण गत फेब्रुअरीदेखि ब्ल्याक सी क्षेत्रबाट हुने ढुवानी घटेपछि विश्वभरका खरिदकर्ताले भारतबाट गहुँ किन्न खोजिरहेको सीएनबीसी न्युजले जनाएको छ ।

मे १३ (वैशाख ३०) अघि नै अपरिवर्तनीय लेटर अफ क्रेडिट (आईएलओसी) जारी भएकाको हकमा भारतले निर्यातको व्यवस्थापन गर्ने भनेको हो । साथै केन्द्रीय सरकारले अनुमति प्रदान गरे खाद्य सुरक्षाको आवश्यकता रहेका देशलाई पनि गहुँ निर्यात गर्ने जनाएको छ । महानिर्देशनालयको आकलनअनुसार भारतले सन् २०२१/२२ मा २.०५ बिलियन अमेरिकी डलर बराबरको ७० लाख टन गहुँ निर्यात गरेको थियो ।

प्रकाशित : जेष्ठ १, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

नारायण नगरपालिका-१ मा कांग्रेसको प्यानल विजयी

कान्तिपुर संवाददाता

दैलेख — दैलेखको नारायण नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार सन्देशकुमार श्रेष्ठको प्यानल विजयी भएको हो ।

वडा अध्यक्षमा निर्वाचित श्रेष्ठले ३ सय ७८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका तर्फबाट वडाअध्यक्षका उम्मेद्वार रमेशकुमार केसीले ३ सय ५८ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेबाट उम्मेदवार बनेका मनोज थापाले ३ सय मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×