३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

टिकटकको 'ब्ल्याकआउट च्यालेन्ज'मा बालिकाको मृत्यु भएपछि...

एजेन्सी

काठमाडौँ — सामाजिक सञ्जाल टिकटकको ‘ब्ल्याकआउट च्यालेन्ज’ मा भाग लिँदा संयूक्त राज्य अमेरिकामा १० वर्षीया एक बालिकाको मृत्यु भएको छ । ती बालिकाका अभिभावकले टिकटकविरुद्ध मुद्दा हालेका छन् । निसासिएर अन्धकार नदेखिउन्जेल (ब्ल्याकआउट हुने) गरी आफ्नै घाँटी समात्नुपर्ने भयानक प्रतिस्पर्धामा भाग लिएपछि ती बालिकाको मृत्यु भएको थियो ।

टिकटकको 'ब्ल्याकआउट च्यालेन्ज'मा बालिकाको मृत्यु भएपछि...

गत डिसेम्बर ७ मा फिलाडेल्फियास्थित आफ्नै घरमा बालिका नाइला एन्डरसन अचेत अवस्थामा भेटिएकी थिइन् । त्यसपछि उनलाई बाल चिकित्सा सघन उपाचार विभागमा पाँच दिनसम्म राखियो । तर गहिरो चोटपटकका कारण उनी कहिल्यै ब्युँझिन सकिनन् । (फोर्ब्स डटकम)

लापरबाही रूपमा दोषपूर्ण सामग्रीको प्रचार गर्न दिएको आरोप एन्डरसनका परिवारले टिकटकमाथि लगाएको छ । अभिभावकले दायर गरेको मुद्दामा उल्लेख भएअनुसार बालिकाको टिकटक पेजमा त्यस्तो खतरनाक प्रतिस्पर्था ‘फर यु’ (तिम्रा लागि उपयुक्त हुनसक्छ) भन्ने सूचनामार्फत् आएको थियो । बालिकाले त्याे खोलिन्, त्यसमा भाग लिइन् र अन्तत: त्यसले उनको ज्यान लियो । तसर्थ, एन्डरसन परिवारले अल्गोरिदमसँग सम्बन्धित मुद्दा टिकटकमाथि लगाएको छ । टिकटकको स्वमित्वकर्ता बाइटडान्स इंकलाई पनि प्रतिवादी तोकिएको छ।

ब्ल्याकआउट च्यालेन्जमा भाग लिएर ज्यान गुमाएकी फिलाडेल्फियाकी १० वर्षीया नाइला एन्डरसन ।

‘त्यो डरलाग्दो ब्ल्याकआउट च्यालेन्ज टिकटकको अल्गोरिदमले सम्प्रेषण गरेको थियो । जुन १० वर्षीया नाइला एन्डरसनको रुचीको विषय हुने ठानिएको थियो । यसकै कारण उनको मृत्यु भयो,’ उजुरीमा रहेका वाक्य उदृत गर्दै ब्लुमबर्ग डटकमले लेखेको छ । अल्गोरिदम भनेको सामग्री प्रवाह-तालिकाजस्तो हो, यसले हाम्रा डिजिटल गतिविधि पहिल्याएर त्यही अनुरुपका कन्टेट हामीसामू प्रस्तुत गर्छ । खानासम्बन्धी पोस्ट हेरियो भने खानाका मात्रै कन्टेन्ट देखिन थाल्नु अल्गोरिदमका कारणले हो ।

बालिकाको मृत्यृको सन्दर्भमा जारी अदालती प्रक्रियाका विषयमा केही नबोल्ने टिकटकले जनाएको छ । एन्डरसनको मृत्युलाई लिएर कम्पनीले यसअघि सार्वजनिक गरेको वक्तव्यमा भने यस्ता निराशाजनक प्रतिस्पर्धाहरू लामो समयदेखि आफ्नो प्लाटफर्ममा रहेको उल्लेख गरिएको थियो । आफ्ना प्रयोगकर्ताको सुरक्षाप्रति टिकटक सतर्क रहने र ब्ल्याकआउट च्यालेन्जसँग सम्बन्धित सबै सामग्री एपबाट हटाउने टिकटकले बताएको थियो ।

यस्ता असामान्य मृत्युको विषयलाई लिएर एन्डरसन परिवारसँगै अन्य केहीले पनि टिकटक विरुद्ध मुद्दा हालेका छन् । ब्ल्याकआउट च्यालेन्जकै कारण कम्तिमा चारजना बालबालिकाको मृत्यु भएको एन्डरसनको रिटमा उल्लेख छ । यो च्यालेन्जमा भाग लिने व्यक्तिले कालो-अँध्यारो नदेखिउन्जेल केही सेकेन्डका लागि जुत्ताको तुना, चार्जरका तारलगायतले आफ्नो घाँटी कस्नुपर्छ । र, त्यसबाट ब्युँतेपछिको अनौठो चेतना उनीहरूले क्यामरामा कैद गर्नुपर्छ । कसले धेरै लामो समयसम्म सास रोक्न सक्छ भन्नेमा प्रतिस्पर्धा गरिन्छ ।

‘यस्ता डरलाग्दा च्यालेन्जहरू पूर्ण रूपमा बन्द गरिनुपर्छ,’ एन्डरसनकी आमा ताइवानाले यसै साता आयोजित पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘हामीलेजस्तो हृदयविदारक अनुभव अरू कुनै अभिभावकले खेप्नु नपरोस् ।’ टिकटक मात्रै नभएर अन्य सोसल मिडिया एपहरूमा पनि ब्ल्याकआउट च्यालेन्ज देखिने गरेको छ । (ल डटकम)

नाइला एन्डरसनको मोबाइल फोनको फरेन्सिक एनलाइसिस गर्दा उनको मृत्युअघि टिकटक चलाइएको देखिएको थियो । एप्टोपियाको तथ्यांकअनुसार गत वर्ष विश्वमा सबैभन्दा धेरै डाउनलोड भएको एप टिकटक थियो । एप मार्केटमा आएको ६ वर्षभित्रमै यो युट्युबभन्दा द्रुत गतिमा अघि बढिरहेको छ । यसमा डान्स कम्पिटिसनजस्ता च्यालेन्ज धेरै हुने गरेका छन् ।

दाँत चम्काउने च्यालेन्ज ।

कोभिड–१९ महामारीपछि भने टिकटकमा मुर्खतापूर्ण प्रतिस्पर्धा हुन थाले । तीमध्ये केही अनौठा र डरलाग्दा पनि थिए । विद्यालयको शौचालय तोडफोड गर्ने, दूध राख्ने क्रेटको पहाड बनाइ त्यसमा चढेर हामफाल्ने, दाँत चम्काउने, ड्रिल गर्ने मेसिनमा मकैको घोगा राखेर खानेजस्ता जोमिखयुक्त र वाहियात च्यालेन्ज टिकटकमा भाइरल भएका थिए । फेसबुक, इन्स्टाग्राम र स्न्यापच्याटमा समेत यस्ता डरलाग्दा च्यालेन्जहरू देखिएका थिए ।

यी सञ्जालहरूले आ–आफ्ना प्लाटफर्ममा बालबालिकाको ध्याना तानिराख्न यस्ता च्यालेन्जलाई माध्यम बनाएको एन्डरसनको रिटमा उल्लेख छ । जति धेरै इन्गेजमेन्ट बढाउन सक्यो, सामाजिक सञ्जालहरूले उति धेरै आम्दानी र नाफा कमाउन सक्छन्, तसर्थ, प्रयोगकर्ताको सुरक्षाको विषयलाई उनीहरूले बेवास्ता गर्ने गरेको आरोप लगाइएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?