कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मोदीको लुम्बिनी भ्रमणले ‘पर्यटन प्रवर्द्धन’

पर्यटकलाई जतिसक्दो बढी समय लुम्बिनीमा अड्याउने उपाय अपनाउनुपर्नेमा जोड

लुम्बिनी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने यहाँका व्यवसायी र अन्य सरोकारवालाले अपेक्षा गरेका छन् । मोदीको भ्रमणपछि भारतीय पर्यटकको आवागमन बढ्ने सक्ने भएकाले उनीहरूलाई जतिसक्दो बढी समय लुम्बिनीमा अड्याउने उपाय अपनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । 

मोदीको लुम्बिनी भ्रमणले ‘पर्यटन प्रवर्द्धन’

भारतका प्रधानमन्त्री मोदी बुद्ध जयन्तीको अवसर पारेर जेठ २ मा केही घण्टाका लागि लुम्बिनी आउँदै छन् । पर्यटन व्यवसायी किरणचन्द्र पौडेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनी र यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउछन् । ‘शक्तिशाली मुलुकका प्रधानमन्त्रीले बुद्ध जन्मस्थल लुम्बिनीमा पूजा गर्दा प्रचारप्रसार बढ्छ,’ उनले भने, ‘त्यसले नेपाललाई फाइदा पुग्छ ।’

भारतीय प्रधानमन्त्री मोदी भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउँदा राम्रो हुने पौडेलको भनाइ छ । ‘कमसेकम हाम्रो विमानस्थल निरीक्षण गरिदिए हुन्थ्यो,’ उनले भने, ‘लुम्बिनीको पर्यटन विकासमा विमानस्थलको महत्त्वपूर्ण भूमिका छ ।’ बौद्ध परिपथ कार्यान्वयनलाई सफल पार्न भारतीय ट्राभल एजेन्सीको हात रहने पौडेल बताउँछन् । ‘लुम्बिनी ल्याएर कति घण्टा पर्यटक राख्ने भन्नेमा भारतीय ट्राभल एजेन्सीको हात हुन्छ,’ उनले भने, ‘पर्यटकले यहाँ आएर एक कप चिया खाए पनि हाम्रो व्यापार हुने हो । अहिलेको जस्तै छोटो अवधिका लागि पर्यटक आउँदा हामी धेरै कमाउन सक्दैनौं ।’ पर्यटन उद्यमी हेमबहादुर विष्टले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण बौद्ध धर्मका माध्यमबाट नेपाल–भारत सम्बन्ध प्रगाढ र समृद्ध बनाउने अवसर रहेको बताए । ‘बुद्ध धर्मका लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर गरी चारधाम छन् । यीमध्ये सबैभन्दा महत्त्वपूर्ण लुम्बिनी हो,’ उनले भने, ‘लुम्बिनीको भ्रमण नगर्दासम्म पुण्य सञ्चय नहुने विश्वास भएकाले भारतले बनाएको बुद्ध सर्किटसँग लुम्बिनीलाई जोड्न सरकारले आग्रह गर्नुपर्छ ।’ भारतमा सुरु भइसकेको सर्किट रेल यात्रा नेपाली सीमासम्म ल्याउन पहल थाल्न भारतीय प्रधानमन्त्रीको यात्राले बल पुर्‍याउनुपर्ने विष्टले बताए । प्रधानमन्त्री मोदीको व्यक्तित्व र नेतृत्वको प्रभावका कारण उनको भ्रमणपछि लुम्बिनीमा धेरै भारतीय आउने विश्वास विष्टले व्यक्त गरे । ‘मोदीको यात्रा सफल बनाउन संघीय, प्रदेश र लुम्बिनी विकास कोषले कुनै कसर बाँकी राख्नु हुँदैन,’ उनले भने ।’

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणपछि भारतीय पर्यटन व्यवसायीको आइटेनरीमा लुम्बिनी थपिने लुम्बिनी होटल संघ वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माको विश्वास छ । ‘भारतीय प्रधानमन्त्री मुक्तिनाथ पुगेपछि त्यहाँ भारतीय पर्यटकको संख्या ६० प्रतिशत बढेको छ,’ उनले भने, ‘बुद्ध जन्मस्थलमा पनि पर्यटक बढेर पर्यटन व्यवसायमा उत्साह थपिने विश्वास गरेका छौं ।’

भ्रमण तयारी तीव्र
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि स्थानीय हौंसिएका छन् । लुम्बिनी विकास कोषले स्वागत तयारीलाई तीव्रता दिएको जनाएको छ । कोषले भारतीय प्रधानमन्त्री सहभागी हुने कार्यक्रमस्थल रंगरोगन र फूलले सिगार्ने काम गरिरहेको छ ।

लुम्बिनीमा चारवटा हेलिप्याड निर्माण सकिएको छ । जसमा मार्किङ गर्ने काम बाँकी छ । बुद्धजयन्ती समारोह आयोजना गरिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र सजाउने काम पूरा हुन लागेको छ । लुम्बिनी परिसरमा सरसफाइ, रंगरोगन, मर्मतका काम भइरहेका छन् । भारतीय प्रधानमन्त्री र पाहुना बस्ने पाँचतारे होटल पवन प्यालेस सिगार्ने काम भइरहेको छ । लुम्बिनीका विभिन्न स्थानमा स्वागत द्वार निर्माण गरिएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले सम्बोधन गर्ने बुद्धजयन्ती समारोहमा दुई हजार जना सहभागी हुने कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानीन राईले जानकारी दिए । उनका अनुसार उक्त समारोहमा कूटनीतिक नियोग, दातृ निकायका प्रतिनिधि, नेपाल सरकारका सचिव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सरकारी अधिकारी, स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्था, निजी क्षेत्र र आसपासका स्थानीय सहभागी हुनेछन् । ‘यसअघि यहाँ आउने तयारी भएर पनि उहाँको भ्रमण रोकिएको थियो,’ राईले भने, ‘यसपटक आउने पक्का भएपछि उत्साह छ ।’

यस्तो छ कार्यक्रम
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार भारतका प्रधानमन्त्री मोदी जेठ २ गते बिहान ११ बजे हेलिकोप्टरबाट लुम्बिनी आइपुग्ने जानकारी गराइएको छ । उनी यहाँ ओर्लेलगत्तै विश्व सम्पदा सूचीकृत मायादेवी मन्दिर परिसरमा कोषका उपाध्यक्ष र परराष्ट्रमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि मायादेवी मन्दिरमा आमन्त्रित भन्ते/गुरुमाले स्वागत गर्नेछन् । त्यसलगत्तै प्रधानमन्त्री मोदीले मायादेवीमा पूजा गर्ने कार्यक्रम छ । ‘त्यस अवसरमा मुलुकका सबैभन्दा ठूला भिक्षु र लामा गुरुको उपस्थिति हुनेछ,’ सदस्यसचिव शाक्यले भने, ‘पूजा सकिएपछि प्रधानमन्त्री मोदीले मायादेवीको मूर्तिमा फूल चढाउनुहुनेछ ।’ त्यस बेला परित्रान पाठ गरिनेछ ।

पूजा सकिएपछि प्रधानमन्त्री मोदीले मायादेवी मन्दिर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । ‘त्यसपछि अशोक स्तम्भ परिसरमा दीप प्रज्वलनको कार्यक्रम छ,’ शाक्यले भने, ‘उहाँले अशोक स्तम्भनजिकै रहेको बोधीवृक्षमा जल सिंचन गर्नुहुनेछ ।’ यसअघि पनि भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने तय भएको थियो । त्यस बेला पनि बोधीवृक्ष रोप्ने कार्यक्रम बनेको थियो । अन्तिममा भ्रमण स्थगित भएपछि उक्त वृक्ष तत्कालीन भारतीय राजदूत रञ्जित रेले मायादेवी मन्दिर परिसरमा रोपेका थिए । भारतबाट ल्याइएको उक्त वृक्ष हुर्किसकेको छ । त्यहीँ वृक्षमा जल सिंचनको कार्यक्रम राखिएको हो । मायादेवी मन्दिरको कार्यक्रमपछि ‘भिजिटर बुक’ मा हस्ताक्षरको कार्यक्रम रहेको सदस्यसचिव शाक्यले जानकारी दिए । लगत्तै प्रधानमन्त्री मोदीले लुम्बिनीको पश्चिमी विहार क्षेत्रमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) विहार शिलान्यास गर्ने कार्यक्रम छ । यो विहार भारतीय संस्कृति मन्त्रालयअन्तर्गत रहेको छ । ‘त्यसपछि भारतीय प्रधानमन्त्री होटलमा जानुहुनेछ,’ शाक्यले भने, ‘त्यहाँ आराम गरेपछि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा आयोजना गरिने बुद्धजयन्ती समारोहमा सहभागी हुने कार्यक्रम छ ।’ उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनेछन् । ‘भारतीय प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ,’ शाक्यले भने, ‘यहाँ पहिलोपटक भारतबाट उच्च स्तरको भ्रमण हुन लागेको छ । यसले भारत र नेपालको बुद्ध सर्किटलाई जोडन् सक्छ ।’ भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले लुम्बिनी पुग्नुपर्छ भन्ने भावना विकास हुने उनले बताए ।

प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण हुने दिन जेठ २ मा बिहान ९ बजेदेखि कम्तीमा तीन घण्टा सर्वसाधारणलाई मायादेवी मन्दिर प्रवेशमा रोक लगाइने भएको छ । ‘मन्दिरमा विभिन्न कार्यक्रम रहेकाले केही घण्टा प्रवेशमा रोक लगाइनेछ,’ सदस्यसचिव शाक्यले भने, ‘मध्याह्न कार्यक्रम सकिएपछि खुला गरिनेछ ।’

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तयारीका क्रममा बुधबार भारतीय वायु सेनाको विमानमार्फत विशेष सुरक्षाकर्मी र सवारीमा प्रयोग हुने गाडी ल्याइएको छ । गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने भारतीय वायु सेनाको विमान पहिलो हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले बुधबार बिहान साढे १० बजे भारतीय वायु सेनाको विमान अवतरण गरेको बताए । उनका अनुसार भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमण तयारीका लागि स्पेसल प्रोटेक्सन गार्ड (एसपीजी) अधिकृत र बन्दोबस्तीका सामग्री बोकेर वायु सेनाको आईएल–७६ जहाज बुधबार अवतरण गरेको हो ।

धसुरक्षा स्रोतका अनुसार बुधबार आएका एसपीजी अधिकृत र अन्य भारतीय कर्मचारी लुम्बिनीस्थित एक होटलमा बसेका छन् । भ्रमण लक्षित गरेर लुम्बिनी विकास कोषले लुम्बिनीस्थित पाँचतारे होटल पवन प्यालेस बुक गरेको छ । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भारतीय र नेपाली उच्च अधिकारीले यसअघि एक चरण लुम्बिनीको स्थलगत अध्ययन, अवलोकन गरेर फर्किसकेको जानकारी दिए ।

बौद्ध धर्मावलम्बीको रुट ‘उल्टो’
बुद्ध धर्मका जानकारहरूले बौद्ध धर्मावलम्बीको यात्रा भारतको बोधगयाबाट नभई नेपालको लुम्बिनीबाट सुरु हुनुपर्ने बताएका छन् । बोधगयामा सुरु भएर लुम्बिनीमा अन्त्य हुने प्रचलित यात्रा उल्टो भएको उनीहरूको भनाइ छ । ‘लुम्बिनी सबैभन्दा पवित्र बुद्धस्थल हो,’ बौद्ध परिपथ (बुद्ध सर्किट) का पथ प्रदर्शक स्थानीय प्रल्हाद यादवले भने, ‘अहिलेसम्म उल्टो यात्रा भइरहेको छ ।’ पथप्रदर्शक यादवका अनुसार बौद्ध धर्मावलम्बी मुलुकबाट श्रद्धालु, उपासक–उपासिका सुरुमा भारत आउँछन् र बोधगयाबाट बौद्ध परिपथको यात्रा थाल्छन् । ‘बोधगयाबाट नालान्दा, राजगीर र वैशाली हुँदै वनारस (सारनाथ) पुग्छन्,’ यादवले भने, ‘त्यसपछि कुशीनगर, गोरखपुर हुँदै सुनौली नाका भएर अन्तिममा लुम्बिनी आउँछन् ।’ अधिकांश पर्यटक लुम्बिनी नआई बीचबाटै फर्किन्छन् । यता आइपुगेका मध्ये अधिकांश केही घण्टा मात्रै लुम्बिनीमा अड्किन्छन् ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले बौद्ध परिपथको यात्रा लुम्बिनीबाट गर्न सकिने यादवको धारणा छ । बौद्ध धर्मालवम्बीले सिधैं यता आएर लुम्बिनीबाट परिपथको यात्रा थाल्ने हुनले भारतले भैरहवा हुँदै नेपाल प्रवेश गर्ने रुटका लागि सहमति नदिएको हुन सक्ने उनले बताए । ‘विमानबाट सिधै भैरहवा पर्यटक आउन थालेपछि भारतको आम्दानी घट्छ । त्यसैले रुट दिन आनाकानी गरेको हुन सक्छ,’ उनले भने । लुम्बिनीबाट भारतको अन्तर्राष्ट्रिय विमानस्थल रहेको कुशीनगर १ सय ५० किलोमिटर दूरीमा छ । भैरहवाको बेलहियाबाट गोरखपुर एक सय किलोमिटर दूरीमा छ । गोरखपुरमा अर्को विमानस्थल छ । वनारसमा पनि अन्तर्राष्ट्रिय विमानस्थल छ । लुम्बिनीबाट बनारस दुई सय किलोमिटर दूरीमा छ । यहाँबाट बोधगया साढे ६ सय किलोमिटर दूरीमा छ ।

प्रकाशित : वैशाख ३०, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?