राजमार्गका ३ सय ५ होटल निरीक्षण, २५ वटा स्तरीकरणमै परेनन्

काठमाडौँ — गुणस्तरको हकमा राजमार्गमा सञ्चालित होटलको अवस्था सुधारोन्मुख  पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका कार्यालयहरुले ३०५ होटल रेस्टुरेन्टको निरीक्षण तथा स्तरीकरण गर्ने क्रममा १ सय २३ वटा सन्तोषजनक अर्थात मध्यमस्तरको देखिएको विभागले जनाएको छ ।

राजमार्गका ३ सय ५ होटल निरीक्षण, २५ वटा स्तरीकरणमै परेनन्

‘राजमार्गका होटलहरुमा धेरै सुधार हुँदै गएको देखिन्छ । ४० प्रतिशत होटलहरु सन्तोषजनक छन्,’ विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने, ‘ती होटललाई एक तारा सहितको हरियो स्टिकर दिएका छौं ।’ ७८ होटल (२५.६ प्रतिशत) उत्तममा परेका छन् । ती होटलहरुलाई दुई तारा सहितको हरियो स्टिकर दिइएको छ । त्यस्तै २० होटल (६.६ प्रतिशत) भने अति उत्तम देखिएका छन् । ती होटलहरुलाई तीन तारा सहितको हरियो स्टिकर प्रदान गरिएको विभागले जनाएको छ ।

महर्जनका अनुसार ५९ होटल न्यून स्तरका छन्, ती होटललाई पहेँलो स्टिकर दिइएको छ । २५ होटल भने स्तरीकरणमै परेनन् । ती होटललाई तत्काल सुधार गर्न निर्देशन दिइएको प्रवक्ता महर्जनले बताए । ‘पछिल्लो समय होटलहरु सुधार भएका छन्, स्टिकर वितरणले उपभोक्तालाई पनि सजिलो हुन्छ,’ महर्जनले भने, ‘स्टिकर हेरेर खाना/बस्न सकिन्छ । विभागलाई अनुगमन गर्न पनि ठोस आधार भयो ।’ तीन तारासहितको हरियो स्टिकरले सबैभन्दा उत्तम जनाउँछ, त्यसपछिका उत्तमलाई क्रमश: दुई तारा र एक तारासहितको स्टिकर प्रदान गरिन्छ । पहेँलो स्टिकरले भने न्यून स्तरको तर खान/बस्न मिल्ने अवस्थालाई जनाउँछ । त्यस्तै स्तरीकरणमै नपरेकाहरुमा खान/बस्न समेत नमिल्ने अवस्थालाई जनाउँछ ।


प्रकाशित : वैशाख २८, २०७९ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?