नेपालमा ४ हजार एसएमईको डिजिटाइज गर्न एसडीसी र यूएनसीडीएफकाे ४ करोड अनुदान- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा ४ हजार एसएमईको डिजिटाइज गर्न एसडीसी र यूएनसीडीएफकाे ४ करोड अनुदान

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वीस सरकार विकास सहयोग (एसडीसी) र संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (यूएनसीडीएफ)ले नेपालका ४ हजार लघु, साना तथा मझौला उद्यम (एसएमई)हरूलाई डिजिटाइज गर्न ३ लाख ५० हजार डलर (मंगलबारको विनिमय दरअनुसार करिब ४ करोड ३५ लाख रुपैयाँ) लगानी गर्ने भएका छन् ।

विशेषतः महिलाको स्वामित्व ६० प्रतिशत बढी रहेका व्यवसायलाई यी दुई संस्थाले प्राथमिकतामा राख्ने जनाएका छन् । नेपाली ई–कमर्स प्लाटफर्म सस्तोडिल र ठूलो डट कमले प्रस्तुतिका आधारमा अनुदान पाउने र तिनले साना तथा मझौला उद्यमलाई डिजिटल बजारमा पहुँच बढाउन प्राविधिक सहयोग गर्नेछन् । ‘सस्तोडिल र ठूलोले साना उद्यमलाई भुक्तानी प्रणाली डिजिटाइज गर्न, डेलिभरी र पोस्ट–सेल सर्भिसमा सहयोग गर्नेछन्,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सातै प्रदेशका साना उद्यमहरूसँग काम गरेर सस्तोडिलले ठूला र साना व्यापारीबीचको डिजिटल अन्तर कम गर्नेछ ।’

ठूलो डट कमले आफ्नो सेवा काठमाडौंबाहिर विस्तार गरी साना तथा मझौला उद्यमका वस्तु तथा सेवाहरू अनलाइनका नयाँ–नयाँ ग्राहकसमक्ष पुर्‍याउन मद्दत गर्ने जनाइएको छ । यसले उद्यमीहरूलाई डिजिटल मार्केटिङ र डिजिटल साक्षरताका तालिमहरू प्रदान गर्नेछ । ‘नेपालका साना तथा मझौला उद्यमलाई सहयोग गर्न स्वीट्जरल्यान्ड प्रतिबद्ध छ,’ नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत एलिजाबेथ भन कापेलरले भनेकी छन्, ‘यूएनसीडीएफसँगको सहकार्यमार्फत् हामी यहाँका साना तथा मझौला उद्यमलाई डिजिटल सलुसन उपलब्ध गराई तिनलाई बजार र सञ्जालको पहुँचमा पुर्‍याउन चाहन्छौं ।’

यूएनसीडीएफकी क्षेत्रीय संयोजक मारिया पर्डोमोले पनि साना उद्यमको डिजिटल रुपान्तरणमार्फत् नेपालको डिजिटल पर्यावरणमा समावेशितालाई अझ बृहत् बनाउन खोजेको बताएकी छन् । सन् २०२१ मा संयूक्त राष्ट्रसंघ पुँजी विकास कोषले सार्वजनिक गरेको ‘लिभिङ नो वान बिहाइन्ड इन द डिजिटल इरा स्ट्राटेजी फर नेपाल’ कार्यक्रम अन्तर्गत यो प्रोजेक्ट सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित : वैशाख २७, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तु महाराजगञ्जको निर्वाचन जेठ ३ गते हुने

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको वैशाख ३० गतेका लागि हुने भनिएको निर्वाचन उपप्रमुख पदको उम्मेदवार शुभावति कुर्मीको मृत्यु भएपछि स्थगित भएको छ । अब निर्वाचन जेठ ३ गते निर्वाचन हुने भएको छ । 

निर्वाचन आयोगले मंगलबारका दिउँसोका लागि कार्यक्रम प्रकाशित गर्दै नयाँ कार्यतालिका प्रकाशन गरेको हो । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी निवर्तमान उपप्रमुख शुभावति कुर्मीको गएराति एक बजे मृत्यु भएको थियो ।

उक्त पदमा वैशाख २८ गते उम्मेदवारी दिने कार्यतालिका प्रकाशित गरिएको छ । अन्य ९ स्थानीय तहमा भने वैशाख ३० गते नै निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : वैशाख २७, २०७९ १८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×