२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

युरोप पठाउने भन्दै ७ करोड ठगी

इन्टरनेसनल एन्ड एक्स्पो एन्ड ट्राभल सर्भिस प्रालि, जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालि र सदीक्षा गुरूङविरूद्ध मुद्दा
होम कार्की

काठमाडौँ — आकर्षक तलब र सेवासुविधा दिलाउने लोभमा अवैध रूपमा रोजगारीका लागि युरोप पठाउने भन्दै मोटो रकम असुल्ने एक व्यक्तिसहित दुई कन्सल्टेन्सीविरुद्ध वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । इन्टरनेसनल एन्ड एक्स्पो एन्ड ट्राभल सर्भिस प्रालि, जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालि र सदीक्षा गुरुङविरुद्ध बिगो र हर्जानासहित ७ करोड १७ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

युरोप पठाउने भन्दै ७ करोड ठगी

सबैभन्दा बढी ठगी जिनियसबाट भएको छ । उसले पोर्चुगल, स्पेन र फ्रान्ससहित युरोपका विभिन्न देश जाने २२ जना व्यक्तिसँग दुई करोड ८८ लाख ४१ हजार रुपैयाँ ठगी गरेको विभागले जनाएको छ । त्यसमा थप एक करोड ४३ लाख रुपैयाँ हर्जाना लगाएर चार करोड ७ लाख २३ हजार रुपैयाँको मुद्दा दायरा गरिएको छ ।

यस मुद्दामा विभागले जिनियसका सञ्चालक बुटवलका सुजन भट्टराई, नयाँ बसपार्कमा होटल सञ्चालन गरी बस्ने काठमाडौं टोखाका ५० वर्षीय मेखबहादुर गुरुङ र ठेगाना नखुलेका सुनील लम्सालविरुद्ध मुद्दा दायरा गरेको छ । सञ्चालक भट्टराई भने छानबिनका लागि थुनामा छन् । उनीहरूले प्रतिव्यक्ति १७ लाख ९२ हजार रुपैयाँसम्म लिएका छन् । ‘हामीलाई पोर्चुगलको कृषिमा ६ सय युरो तलब पाइन्छ भनेर पठाउँछु भन्यो । त्यसका लागि १६ लाख रुपैयाँ खर्च लाग्छ भन्यो । पोर्चुगल पठाउन भारत लगेर राखिएको थियो,’ जिनियसबाट ठगिएका लमजुङका महेशकुमार शाहीले भने, ‘त्यसका लागि मैले मात्रै १५ लाख ५० हजार रुपैयाँ बुझाएँ ।’

माल्टा पठाउने भन्दै १ सय २२ जना व्यक्तिसँग एक करोड ६४ लाख रुपैयाँ ठगी गरेको आरोपमा इन्टरनेसनल एन्ड एक्स्पो एन्ड ट्राभल सर्भिसविरुद्ध पनि मुद्दा दायरा भएको छ । त्यसमा विभागले प्रतिवादीबाट हर्जानाबापत थप ८२ लाख रुपैयाँ असुल्नुपर्ने दाबी गरेको छ । विभागले ट्राभलका सञ्चालक राधा सुवेदीसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अनुसन्धानमा व्यापार मुलुक पर्यटन र ट्राभलको काम गर्ने भनेर कम्पनी दर्ता गरिएको खुलेको छ । ‘एक सय ६५ जनाले पैसा बुझाएका हौं । माल्टा जान ७ लाख रुपैयाँ लाग्छ भनिएको थियो, हामीभन्दा अगाडिका साथीहरूको भिसा नआएपछि खोज गर्दा ठगीमा परिएछ,’ महोत्तरीका बालकिशोर बरालले भने ।

विभागले कास्कीकी ३१ वर्षीया सदीक्षा गुरुङ र ६२ वर्षीया खिनशोभा गुरुङविरुद्ध पनि २० लाख ७१ हजार रुपैयाँ हर्जानासहित ६२ लाख ७३ हजार रुपैयाँ मागदाबीको अर्को मुद्दा पनि चलाएको छ । खिनशोभा र सदीक्षा आमाछोरी हुन् । उनीहरूले कुमार गुरुङसँग क्यानडा पठाइदिन्छु भन्दै ४१ लाख ४२ हजार रुपैयाँ लिएको पुष्टि भएको विभागले जनाएको छ । विभागले सदीक्षालाई पक्राउ गरिसकेको छ ।

वैदेशिक रोजगार ऐनको दफा १० बमोजिम इजाजतपत्रबिना कसैले पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । त्यसरी काम गरे तीन वर्षदेखि सात वर्षसम्म कैद हुने व्यवस्था छ ।

शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) र ट्राभल एजेन्सीले विद्यार्थी भिसाको आवरणमा वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट मोटो रकम ठगी गरिरहेको पछिल्ला घटनाहरूले देखाएका छन् । त्यस्ता कन्सल्टेन्सीविरुद्ध एकपछि अर्को ठुल्ठूला रकम दाबीसहित विभागमा उजुरीको चाङ लाग्न थालेको छ । कानुनले कन्सल्टेन्सीहरूका माध्यमबाट वैदेशिक रोजगारीमा पठाउन निषेध गरे पनि सरकारले तिनीहरूको नियमनमा चासो देखाएको छैन । कन्सल्टेन्सी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ । प्रमाणसहित उजुरी दिएर ठगी पुष्टि भए कन्सल्टेन्सीहरूको दर्ता खारेजसम्म गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् ।

प्रकाशित : वैशाख २६, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?