नौ महिनामा सवा दुई करोडको अचार निर्यात- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौ महिनामा सवा दुई करोडको अचार निर्यात

कोभिडको बढ्दो संक्रमणका बेला संसारभरकै व्यापार व्यवसायमा असर परिरहादा नेपालबाट भने अचार निर्यात सुरू
सीमा तामाङ

काठमाडौँ — बजारमा विभिन्न ब्रान्डमा फरक–फरक स्वादका ‘रेडिमेड’ अचार किन्न पाइन्छ । उत्पादित अचारको खपत बढी मात्रामा आन्तरिक बजारमै हुने भए पनि विदेशसमेत निर्यात हुन थालेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा झन्डै सवा २ करोड रुपैयाँको अचार बाहिरिएको छ, जसमा लप्सी, मुला, गाजर, अकबरे खुर्सानीका अलावा बफ, चिकेन, माछाको समेत अचार निर्यात भएको छ ।

यस अवधिमा ३५ हजार ४ सय २७ किलो अचार निर्यात भएको विभागले जनाएको छ, जसको बजार मूल्य २ करोड १४ लाख २४ हजार रुपैयाँ छ । गत वर्ष ३९ लाख २२ हजार रुपैयाँ बराबरको ११ हजार ४४ किलो मात्र अचार निर्यात भएको थियो । गत वर्ष जापान मात्र निर्यात भएको नेपाली अचार यस वर्ष अस्ट्रेलियामा पनि पुगेको विभागले बताएको छ । सरकारले अचार निर्यात गर्न गत वर्षदेखि मात्र ‘राष्ट्रिय शीर्षक’ सिर्जना गरेको हो । ‘त्यसअघि यस्तो व्यवस्था थिएन, जसले गर्दा अन्य शीर्षकमै अचार निर्यात हुन्थ्यो,’ विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने, ‘छुट्टै शीर्षक नै बनाएपछि मात्र अचार आयातनिर्यातको तथ्यांक राख्न थालिएको हो ।’ कोभिडको बढ्दो संक्रमणका बेला संसारभरकै व्यापार/व्यवसायमा असर परेका अवस्थामा नेपालबाट भने अचार निर्यात सुरु भएको देखिन्छ ।

नेपालमा पुराना अचार उद्योग मात्र नभएर कोरोनाकालमै जन्मिएका अचार उद्योग पनि छन् । त्यसमध्ये एक हो, तमु अचार उद्योग । अन्य उद्योगको अचार ल्याएर पसल सञ्चालन गरिरहेकी तमुकी सञ्चालक ममता गुरुङले पनि अचार उद्योग सुरु गरिन् । उनले २ वर्षदेखि अचार बनाएर बेच्दै आएकी छन् । अचारकै व्यवसाय फस्टाउँदै गएपछि ६ महिनाअघि ललितपुर नखिपोटमा चलाइरहेको अचार पसल भने बेचिन् । ‘अचार बनाउन आवश्यक सामग्री सबै आफैंले ल्याउनुपर्छ, पसलमा बस्न समय नमिलेपछि बेचिदिएँ,’ उनले भनिन्, ‘अब जे भएपनि अचारकै व्यवसायलाई चलाउने भन्दै पसल बेचे । यहाँ पनि राम्रै हुँदै गइरहेको छ ।’ नखिपोटमा उनले अन्य किसानले उत्पादन गरेको अचार पनि बेच्थिन् ।

घरमै बनाइरहेको अचारको ‘रेसिपी’ लाई व्यवसाय बनाउन थालेको उनले सुनाइन् । ‘आफ्नै सिप, आफ्नै व्यवसाय, सामग्री आफैं जुटाउँछु, आँफै बनाउँछु, खुसार्नी, टिमुर केलाउन र सहयोग गर्न कर्मचारी राखेको छु,’ उनले भनिन्, ‘टिमुरको छोप र चिकेनको अचार मुख्य हो, अरु सामान्य उद्योगको जस्तै हो ।’ सुरुमा ६ लाख लगानी गरेर घरमै सुरु गरेको उद्योगमा अकबरे खुर्सानी धरान र टिमुर कालीकोटदेखि ल्याउने गरेको उनले सुनाइन् । सातामा १६० किलो अचार बनाउने ममताले खर्च कटाएर मासिक ४० हजार रुपैयाँ बचत गरिरहेकी छिन् । उपत्यकासहित बाहिर जिल्लामा पनि आफूले उत्पादन गरेको अचार पठाउने गरेको उनले जानकारी दिइन् । ‘अचारिका’ ब्रान्ड पनि भर्खरै सुरु भएको हो । पोखरास्थित फाइनान्समा कार्यरत कमलादेवीले एक वर्षदेखि अचारको पनि व्यापार गर्न थालेको उनकी छोरी स्मृति बरालले बताइन् । ‘ममीले सधैं घरमै अचार बनाउनुहुन्थ्यो, उनकै सीपलाई बजारमा ल्याउने प्रयास गरेका हौं, अहिले त सामाजिक सञ्जालबाट मात्र बेचिरहेका छौं,’ उनले भनिन् ।

पेसाले इन्जिनियर स्मृतिले अहिले सामाजिक सञ्जालमार्फत अचार पनि बेचिरहेकी छिन् । ‘घरकै लागि मात्र बनाइने अचार अहिले काठमाडौं र पोखराका ग्राहकले पनि खाइरहेका छन्,’ स्मृतिले भनिन्, ‘महिनामा एक पटक अचार बनाउँछौं, त्यो सकिएपछि मात्र अर्को बनाउँछौं, लप्सी, कागती, निबुवा र मुलाको मात्र अचार बनाइरहेका छौं ।’ अब विस्तारै परिमाण बढाउने योजना रहेको उनले सुनाइन् । थोरै बनाउँदा पनि महिनामा २० देखि ३० हजारको कारोबार भइरहेको उनले बताइन् ।

स्वदेशमा नयाँ मात्र होइन, पुराना अचार उद्योग पनि छन् । यसकै उदाहरण हो– वसन्ती अचार उद्योग । ७३ वर्षीया वसन्ती खत्रीले बुटवलमा २०५३ सालदेखि अचार उद्योग चलाइरहेकी छिन् । अचार नेपाल मात्र नभएर विदेशमा पनि गइरहेको उनले सुनाइन् । उद्योग दर्ता गर्नुअघि उनले सालको पातमा दुई रुपैयाँमा अचार बेच्थिन् । बुटवलस्थित शिवनगर सामुदायिक वनमा घाँस–दाउरा गर्न आउनेहरूलाई अचार बेचेको उनले जानकारी दिइन् । ‘घाँस–दाउरा गर्नेहरूलाई अचार खुवाउन ५० रुपैयाँबाट एक लिटर तेल र दुई किलो आँप किनेर अचार बनाएर बिक्री गरें । सबैले मन पराएपछि झन् उत्साह जाग्यो । र उद्योग नै खोल्ने निर्णय गरें,’ उनले भनिन् ।

सानैदेखि अचार खान र बनाउन मन पराउने वसन्तीले उद्योग दर्ता गरेर नै स्वदेशदेखि विदेशसम्मकालाई अचार खुवाउन सफल भएकी छिन् । कोरोनाअघि वार्षिक २० लाख रुपैयाँसम्म नाफा कमाएकी वसन्तीको अचार व्यवसायले त्यसपछि भने बजार लिन सकेको छैन । अझै पनि बिस्तारै बजार लिनेमा उनी विश्वस्त छन् । आँप, अकबरे खुर्सानी, लसुन, च्याउ, लप्सी, मिस्कट, तामा, कोइरालो, करेला मेथी, सिक्नी, भट्ट, अमला, हरियो खुर्सानी, कागती, मुला, गाँजर टिमुरलगायतका अचार बनाउँदै आएको उनले सुनाइन् । कोभिडपछि भने वार्षिक आम्दानी ५ देखि ७ लाख मात्र भएको उनले बताइन् । ‘पहिला ११ जना कर्मचारी थिए, अहिले ५ जना मात्र कामदार छन्, व्यापार पनि पहिलाको जस्तो फस्टाएको छैन,’ उनले भनिन् ।

‘आमाको अचार’की संगीता पाण्डे पनि ११ वर्षदेखि यही व्यवसायमा छिन् । १० किलो डल्ले खुर्सानीबाट अचार बनाउन सुरु गरेकी उनले अहिले वार्षिक एक सय टनभन्दा बढीको अकबरेको अचार बेच्छिन् । ‘मैले बनाउने १३ थरी अचारको ८० प्रतिशत विदेशमा जान्छ, बाँकी स्वदेशमै खपत हुन्छ,’ उनले भनिन्, ‘सुरुवात गर्दा अचार पनि यस्तो व्यापार हुन्छ भनेर सोचेकी थिइन् ।’ सतुंगलमा कारखाना नै बनाएको बालुवाटार बस्ने पाण्डेले बताइन् । ‘विदेशबाट आउने अर्डरअनुसार पनि अचार बनाइन्छ, पुस–चैत अचारको सिजन हो, यो बेला २ सयसम्म कामदार राख्नुपर्छ, अहिले ६० जना मात्र छन्,’ उनले भनिन् ।

प्रकाशित : वैशाख २३, २०७९ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्

अपराधीलाई राष्ट्रपतिको माफी, अदालतको सहुलियत

बाराका पत्रकार साहको हत्या अभियोगमा सर्वोच्चले जन्मकैद सुनाएका दुई जना राष्ट्रपतिबाट माफी पाएर छुटे, त्यही घटनाका थप दुईलाई जिल्ला अदालतले न्यूनतम सजाय तोक्यो
श्रीमान्‌लाई मार्ने सबैलाई मौतको सजाय भए मात्र मेरो मन बुझ्थ्यो तर कानुनमा भएअनुसार जन्मकैद त हुनुपर्ने नि : उमरामवती साह, वीरेन्द्रकी श्रीमती
तुफान न्यौपाने

बारा — बाराका पत्रकार वीरेन्द्र साहको हत्या भएको १५ वर्ष पुग्न लाग्यो । पत्नी उमरामवतीले न्यायका लागि संघर्ष थालेको पनि उति समय भयो । तर, अहिलेसम्म उनले न्यायको महसुस गरेकी छैनन् बरु हत्यामा संलग्न माओवादी कार्यकर्तालाई राज्यका निकायले दिइरहेको एकपछि अर्को सहुलियतले उनलाई थप एक्लो र असहाय बनाएको छ ।

२०६४ सालमा हत्या गरिएका बाराका पत्रकार वीरेन्द्र साहकी श्रीमती उमरामवती । तस्बिर : दीपक केसी/कान्तिपुर

माओवादी शान्ति प्रक्रियामा आइसकेको अवस्थामा कार्यकर्ताहरू लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल, मेनेजर गिरी र रामएकवाल सहनीले २०६४ असोज १८ मा पत्रकार साहलाई बाराको साविक उम्जन गाविस पिपराबाट अपहरण गरेका थिए । त्यसपछि बेपत्ता बनाइएका उनको शव कात्तिक २२ मा बुमरवाना गाविस–७ स्थित टाँगियाबस्ती छेउको जंगलमा गाडिएको अवस्थामा भेटिएको थियो । पत्रकार महासंघको संस्थागत दबाब, संसदीय समितिको स्थलगत अध्ययन, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको निरन्तरको पहलपछि माओवादीले बाध्य भएर घटना स्वीकार गरेको थियो । बाराबाट दृष्टि साप्ताहिक र एभिन्युज टेलिभिजनका लागि रिपोर्टिङ गर्ने साहलाई कन्चटमा गोली प्रहार गरी हत्या गरिएको थियो । साहको शवसँगै कलम, डायरी, प्रेस पास, चस्मा र नागरिकताको फोटोकपी पनि भेटिएको थियो ।

साहसँगै अर्का पत्रकार रामदेव दास पनि पिपरास्थित चिया पसलबाट अपहरणमा परेका थिए तर उनलाई पछि छाडिएको थियो । दासले अदालतमा फौजदार र सहनीले बन्दुक देखाएर आफूहरूलाई नियन्त्रणमा लिएको, बाइकमा राखेर सखुवा गाउँ पुर्‍याएर पटेल, गिरी र चौधरीको जिम्मा लगाएको बयान दिएका थिए । दासले अदालतलाई बताएअनुसार नियन्त्रणमा लिएपछि चौधरीले पत्रकार साह माओवादी पार्टीको रेडलिस्टमा भएको, उनलाई मार्ने निर्देशन रहेकाले पार्टीलाई बुझाउन लागेको बताएका थिए । चौधरीले पत्रकार साहलाई माओवादी कार्यकर्ताले अपहरण गरेकोबारे कसैलाई नभन्न र अपरिचित समूहले अपहरण गरेको भन्नू भनी दासलाई अह्राएका थिए ।

दासको बयानपछि २०६५ कात्तिकमा गिरी र पुसमा सहनी पक्राउ परे । उनीहरूलाई जिल्ला, तत्कालीन पुनरावेदन अदालत र सर्वोच्च अदालतसम्मले सर्वस्वसहित जन्मकैदको फैसला गरे । गिरी र सहनीको बाँकी कैद सजाय २०७६ सालमा सरकारको निर्णयमा राष्ट्रपतिबाट माफी/मिनाहा भयो । ‘उनीहरूलाई माफी भएको खबर सुन्दा मलाई श्रीमान् मारिएको खबर पहिलो पटक सुन्दाजत्तिकै भाउन्न भयो,’ बाराको कलैया–१, मोतीबागस्थित घरमा उमरामवतीले भनिन्, ‘पहिले वीरेन्द्रजीलाई मारेर हामीमाथि माओवादीले ठूलो अन्याय गर्‍यो । पछि हत्याराको सजाय माफी दिएर सरकार र राष्ट्रपतिले अर्को अन्याय गरे ।’

कर्तव्य ज्यान, डाँका, चोरी, आगजनीलगायतका अपराधमा संलग्न भएर जेल बस्दै आएका कैदीहरूको चालचलन राम्रो भएमा ५० प्रतिशत कैद भुक्तान गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी/मिनाहा हुने कानुनी व्यवस्था छ । अपहरण, लागूऔषध कारोबार, बलात्कार, संगठित अपराध जस्ता २० प्रकारका अपराधमा भने माफी हुँदैन । जेलमा बस्दा चालचलन राम्रो भएका, आफ्नो अपराधमा पश्चाताप गरी बाँकी जीवन सुधारिएर जिउन सक्ने आधार देखिएका र उनीहरूबाट समाजलाई कुनै खतरा नहुने अवस्था भएमा जेल प्रशासनको सिफारिसमा गृह मन्त्रालय हुँदै राष्ट्रपतिबाट हरेक वर्षको गणतन्त्र दिवस, लोकतन्त्र दिवस, दसैं जस्ता अवसरमा कैदीबन्दीको सजाय मिनाहाको निर्णय हुन्छ । तर, अभ्यासमा भने उच्च तहको राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गर्न सक्ने ‘अपराधी’ हरूले समेत यसरी माफी पाएको देखिन्छ । पत्रकार साहका भाइ भैयाराम माओवादी कार्यकर्ताले पनि राजनीतिक पहुँच प्रयोग गरेर माफी लिएको बताउँछन् ।

हत्या आरोप लागेका पाँच जनामध्ये दुई जना मात्र पक्राउ परी मुद्दा फैसला भएकामा बाँकी कुन्दन फौजदार, हरेराम पटेल र लाबहादुर चौधरी प्रहरीको फरार सूचीमा थिए । तर, उनीहरू बाराकै गाउँमा खुलमखुला हिँडिरहेको उमरामवती र भैयाराम देखिरहन्थे । प्रहरीका जिल्ला हाकिम फेरिएपिच्छे पक्राउ गर्न आग्रहसहित भेट्न पुग्थे । २०७६ फागुन २५ मा प्रहरीले १२ वर्षदेखि फरार वीरेन्द्र हत्याका मुख्य अभियुक्त फौजदारलाई पक्राउ गर्‍यो । जिल्ला अदालतले उनलाई तुरुन्तै थुनामा पठाउने आदेश दियो । २०७७ भदौ २५ मा पटेल पक्राउ परे, उनलाई पनि थुनामा पठाइयो । तर, २०७८ को अन्तिममा आएर जिल्ला अदालतले उनीहरू दुवैलाई माग गरिएको भन्दा अत्यन्त न्यून सजाय सुनाएको छ । जिल्ला न्यायाधीश खिलनाथ रेग्मीले फौजदारलाई पाँच वर्ष र पटेललाई दुई वर्षको सजाय सुनाएका छन् । २०७८ को पुस २६ मा त्यस्तो फैसला भएकामा त्यसको पूर्णपाठ भने हालै मात्र तयार भएको छ ।

गत वैशाख १५ मा पत्रकार साहका भाइ भैयारामले जिल्ला सरकारी वकिलको कार्यालयबाट उक्त फैसलाको नक्कल निकालेका छन् । पूर्णपाठमा बारा जिल्ला अदालतले ‘उक्त अपराध गर्दा अभियोग लागेका व्यक्तिहरूको भूमिका के कस्तो थियो भन्नेबारे सरकारी वकिलले स्थापित गर्न नसकेको’ उल्लेख छ । ‘समूहमा अपराध गर्नेहरूले समान भूमिका निर्वाह गरेका नहुन पनि सक्छन् । फौजदारी कानुनले मुख्य अपराधी र सहयोगी भनी छुट्याएर कसुर कायम गर्नुपर्ने मान्यता अपनाएको हुन्छ । समूहमा रही घटनास्थलसम्म पुगेको भन्ने आधारमा मात्र सबैलाई मुख्य अपराधीसरह व्यवहार गर्नु उचित हुँदैन,’ फैसलामा भनिएको छ, ‘फौजदारी मुद्दामा आफूले लगाएको आरोप प्रमाणित गर्ने दायित्व वादी पक्षको नै हुन्छ । शंकाको भरमा कसैलाई पनि कसुरदार ठहर्‍याउन मिल्दैन । नेपाल सरकारले शंकारहित तवरबाट यी प्रतिवादीहरूले नै कर्तव्य गरी मारेका हुन् भनी प्रमाणित गर्न सकेको देखिएन ।’ यसरी जिल्ला अदालतले फौजदार र पटेललाई माग गरिएको (२० वर्ष) भन्दा अत्यन्त कम क्रमशः पाँच र दुई वर्ष कैद सजाय सुनाएपछि परिवारजन मात्र होइन, सरकारी वकिल पनि असन्तुष्ट बनेका छन् ।

सहायक जिल्ला न्यायाधिवक्ता सुदीपकुमार रायले आफूहरू जिल्ला अदालतको फैसलाविरुद्ध उच्च जाने बताए । ‘दुवैलाई अपराधमा उनीहरूको भूमिकाअनुसार जन्मकैद (२० वर्ष कैद) माग गरेका थियौं, मागदाबीअनुसार फैसला आएन,’ उनले भने, ‘उच्च अदालत वीरगन्जमा पुनरावेदनको तयारी भइरहेको छ ।’ उमरामवतीले पनि जिल्ला अदालतको यो फैसलामा असन्तुष्टि जनाइन् । ‘श्रीमान्लाई मार्ने उनीहरू सबैलाई मौतको सजाय (मृत्युदण्ड) भए मात्र मेरो मन बुझ्थ्यो,’ उनले भनिन्, कानुनले नै मौतको सजाय नहुने भनेको छ । त्यसैले मेरो चाहना त पूरा हुन्न होला । तर, कानुनमा भएअनुसार जन्मकैद त हुनुपर्ने नि ।’

वीरेन्द्रको हत्या हुँदा छोरा विवेक ६ वर्षका र छोरी विद्यालक्ष्मी चार वर्षका थिए । अहिले विवेक काठमाडौंमा छन् भने विद्या इटहरीमा । गाउँमा उमरामवती एक्लै छिन् । आफूलाई छोराछोरीको पढाइ र घर खर्च चलाउन गाह्रो परेको उनले दुखेसो पोखिन् । पत्रकार महासंघले मासिक १० हजार रुपैयाँ दिने भनेर सुरुमा गरेको प्रतिबद्धता पूरा नगरेकामा पनि उनको गुनासो छ । सुरु–सुरुमा आइरहने मानवअधिकारकर्मी, पत्रकार र पेसागत संस्थाहरूले पनि अहिले बिर्सेका छन् । ‘श्रीमान्सहित सँगै बस्ने गाउँले महिलालाई त कति गाह्रो छ । म १५ वर्षदेखि एक्लै संघर्ष गरेर कसरी बाँचेकी छु, यो पीडा कसैले बुझ्दैन,’ उनले भनिन्, ‘साह्रै दुःख गरेर छोराछोरी हुर्काएँ । उनीहरूलाई सकेजति पढाएकी छु । कसैले जागिर लगाइदिए परिवारलाई नि सहयोग पुग्थ्यो ।’

वीरेन्द्रको हत्याको आरोप लागेकामध्ये लालबहादुर चौधरी अहिलेसम्म पक्राउ परेका छैनन् । प्रहरीको फरार सूचीमा रहेका उनलाई साह परिवारले नै कलैया आसपास हिँडिरहेको देख्छन् । ‘हामी यतैतिर देख्छौं तर प्रहरीले देख्दैन,’ भैयारामले भने ।

प्रकाशित : वैशाख २३, २०७९ १०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×