कागतीको मूल्य दुई वर्षमै दोब्बर- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

कागतीको मूल्य दुई वर्षमै दोब्बर

२०७७ वैशाखमा प्रतिकिलो २०० रूपैयाँसम्म पुगेको कागतीको मूल्यले २०७९ वैशाखमा ४०० रूपैयाँसम्म छोयो
सीमा तामाङ

काठमाडौँ — वैशाख पहिलो साता उपत्यकामा कागतीको मूल्य गोटाकै २५ रुपैयाँ पुग्यो । अहिले प्रतिगोटा १५ रुपैयाँमा पाइन्छ । साना व्यापारीले १५ रुपैयाँ गोटाको कागती किलोको ४५० रुपैयाँमा बेच्छन् । कालीमाटी तरकारी बजारमै होलसेल मूल्य न्यूनतम ३५० र अधिकतम ४ सय रुपैयाँ छ ।

स्वदेशमै कागती उत्पादन भए पनि पर्याप्त मात्रामा नहुँदा भारतबाट आयात हुने गरेको भन्सार विभागले बताएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार पनि कागतीको मूल्य बर्सेनि बढ्दै गएको पाइन्छ ।

२०७७ वैशाख १९ मा कालीमाटीमा कागती प्रतिकिलो मूल्य न्यूनतम १८० रुपैयाँ र अधिकतम २०० रुपैयाँ थियो । एक वर्षको अन्तरालमा सोही मितिमा कालीमाटीमा कागतीको मूल्य २४०/२५० रुपैयाँ पुग्यो । त्यति बेला एक वर्षमा ५० रुपैयाँ मूल्य बढ्यो । तर २०७९ वैशाखमा होलसेल मूल्य नै प्रतिकिलो ३५०/४०० रुपैयाँ पुग्यो । यस वर्ष प्रतिकिलो १५० रुपैयाँसम्म मूल्य वृद्धि भयो ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठ भने कागतीको मूल्य बढ्नुलाई स्वाभाविक बताउँछन् । ‘एक दिनकै अन्तरालमा

पनि मूल्य बढेको पाइन्छ, यो वर्षको कुरा भयो, त्यसमाथि यो भारतीय बजारमा पनि भर पर्छ,’ उनले भने, ‘अहिले भारतमा पनि मूल्य बढेको छ, त्यसकारण नेपालमा पनि बढ्यो, उता घट्दा यता पनि घट्छ ।’ स्वदेशमा स्थानीय कागतीभन्दा आयातितले ठूलो हिस्सा ओगटेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा मात्रै भारतबाट ८४ लाख ९७ हजार ५ सय ६८ किलो कागती आयात भएको छ । ६४ करोड ८९ लाख ९१ हजार रुपैयाँको कागती भित्रिएको भन्सार विभागको तथ्यांक छ । आयातित कागतीमध्ये ४७ लाख ३७ हजार ३१९ किलो कालीमाटी तरकारी बजारबाट खरिदबिक्री भएको समितिले जनाएको छ । यस अवधिमा कालीमाटीमा ४७ हजार १७४ किलो स्वदेशी कागती आएको छ ।

संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, झापा, सुनसरी, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहुँ, कास्की, पर्वतलगायत जिल्लामा कागतीको व्यावसायिक खेती नै हुन्छ । तर नेपालकै माग धान्न सक्ने स्थिति अझै छैन । बाह्रै महिना कागती उत्पादन हुने गरे पनि साउन/भदौमा मात्रै राम्रो उत्पादन हुन्छ । प्यूठानका किसान गोपाल भण्डारीले आफ्नै जिल्लामा झन्डै ७ वर्षदेखि कागती खेती गरिरहेका छन् ।

३५ बोट बिरुवा रोपेर सुरु गरिएकामा अहिले ५ रोपनी जग्गामा २ सयभन्दा बढी बिरुवा छन् । एउटा कागतीको बिरुवाले ३५ वर्षसम्म फल दिने गरेको भण्डारीले जानकारी दिए । वैशाखमा फूल खेल्ने बिरुवाले साउन/भदौमा फल दिन्छ । अहिले प्रतिकिलो चार सय रुपैयाँमा खरिदबिक्री भइरहेको कागतीको पर्याप्त उत्पादन भने छैन ।

‘अहिले पनि बारी घुमियो भने २/३ किलो कागती दैनिक निस्कन्छ । तर यो पर्याप्त हुँदैन,’ उनले भने, ‘एउटा बोटमा १२ महिना फल लाग्छ । तर साउनमा भने धेरै फल्छ ।’ कागती खेती गर्ने किसानलाई २ वर्षदेखि मौसमले साथ नदिएको उनले सुनाए । फूल खेल्ने बेलामा मुसलधारे पानी र असिना परेपछि कागतीको उत्पादन राम्रो हुन नसकेको उनले सुनाए । चैत–वैशाखमा स्थानीय कागती निस्कँदैन । कागती खेती राम्रै भएकाले थप बिरुवा रोपेर खेती फैलाउने भण्डारीको योजना छ ।

कागती खेतीले पनि किसानको ध्यान तान्न थालेको छ । प्यूठानकै टंक रेग्मीले पनि जिल्लामै कागतीका बिरुवा रोपेको ४ वर्ष पुग्न लाग्यो । एकै पटक रोपेका बिरुवा सबै नहुर्किंदा राम्ररी फूलसमेत नखेलेको उनले बताए । ‘फरक–फरक जातका बिरुवा एकै पटक रोप्यौं । तर सबै बिरुवा राम्ररी हुर्केका छैनन्,’ उनले भने, ‘कागतीका बिरुवा रोपेको २ देखि ३ वर्षदेखि नै फल दिन थाल्ने रहेछ, केही बिरुवाले फूल खेलेका छन् । केहीमा फल नै लाग्न थालिसक्यो, बाह्रैमास हुने रहेछ ।’

आर्थिक वर्ष २०७६/७७ को कृषि मन्त्रालयको तथ्यांक हेर्दा देशभर ११ हजार ७ सय ९४ टन उत्पादन भएको छ । मुलुकभर १४ सय ८८ हेक्टर जमिनमा कागती खेती गरिन्छ ।

प्रकाशित : वैशाख २१, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्

सामाजिक सञ्जालका कारण खस्कियो झण्डाको व्यापार

सीमा तामाङ

काठमाडौँ — यसअघिका चुनावमा बागबजारका सडक र गल्लीहरू विभिन्न राजनीतिक दलका झण्डाहरूले झकिझकाउ हुन्थे । झण्डा छाप्ने पसलमा चुनावी चटारो देखिन्थ्यो । तर, यसपाली माहोल सुस्त छ । पार्टीहरूले र्‍यालीको सट्टा सामाजिक सञ्जालमार्फत् चुनावी प्रचारप्रसार गरेकाले झण्डा व्यवसायमा कमी आएको व्यापारीहरू बताउँछन् ।

‘पहिले–पहिलेको चुनावमा दैनिक ८ देखि १० हजार पिसको अर्डर आउँथ्यो,’ व्यापारी नरेश चौधरी भन्छन्, ‘किन्न आउनेहरू पनि उत्तिकै हुन्थे । अहिले ७/८ सय पिस मात्र अर्डर आउँछ । किन्ने मान्छेको आवात–जावत नै छैन ।’ अघिल्ला चुनावको दाँजोमा यसपटक ८५ प्रतिशत काम घटेको चौधरीले बताए । चुनावमा पार्टीका झण्डा, टिसर्ट, क्याप बेचेर आफूहरूले कुनै बेला १५ देखि २० लाख रुपैयाँ कमाउने गरेको व्यापारीहरूको भनाइ छ । यस वर्ष भने पार्टीका झण्डा बनाएर मौज्दात राख्दा पनि कोही किन्न आएका छैनन् ।

निर्वाचन आचारसंहितले टिर्सट र क्याप उत्पादन, प्रयोग, विक्रि-वितरण र प्रदर्शनमा रोक लगाउँदा व्यापार स्वात्तै घटेको व्यापारीहरूको अनुभव छ । आचारसंहित २०७८ को परिच्छेद २ को दफा ४ मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेटलगायत सांकेतिक सामग्री उत्पादन, प्रयोग, विक्रि-वितरण, प्रदर्शन गर्न वा गराउने नहुने उल्लेख छ ।


‘पहिलाको चुनावमा सुरुमा टिसर्ट, क्याप प्रयोग गर्न दिइएको थियो तर पछि दिइएन,’ व्यवसायी शंकर मानन्धरल भन्छन्, ‘तर, यसपाली सुरुमै रोक लगाइयो । चुनावका लागि टिसर्ट अर्डर आएको भए पनि पछि फिर्ता पठाउनुपर्‍यो ।’ अब झण्डाको अर्डर आएमा २३/२४ गतेसम्म छाप्ने र अर्डर नआए मौज्दात झण्डा मात्रै बेच्ने उनले बताए । चुनावताका बागबजारका सबै व्यवसायी झण्डा बेच्नतिर लाग्दा प्रतिस्पर्धा अत्यधिक बढेको मानन्धरको भनाइ छ ।

साइजअनुसार झण्डाको मूल्य १७ रुपैयाँदेखि ३ सय रूपैयाँसम्म पर्छ । तर, व्यापार नभएकाले सस्तोमै बेच्ने गरेको व्यापारी सञ्जय खत्रीले बताए । ‘किन्ने मान्छे नआउँदा झण्डाको मूल्य सस्तो भयो, कच्चा पदार्थको मूल्य महंगो छ,’ उनी भन्छन्, ‘पहिला चुनाव आउँदा व्यापार धेरै हुने गरे पनि यसपाली ठप्प छ ।’ बागबजारका लगभग प्रत्येक घरमा कम्तीमा एउटा डिजाइन एन्ड प्रिन्टिङ प्रेस छन् । प्रेसमा मात्रै नभएर लुगा पसल, पुस्तक पसलमा समेत झण्डा बेच्न राखिएको देखिन्छ ।


‘पहिला चुनावमा मात्र १० देखि २० लाख रुपैयाँ कमाइन्थ्यो, यो चोटी २ लाख कमाउन पनि मुस्किल होला जस्तो छ,’ व्यवसायी रत्न खड्गी भन्छन्, ‘झण्डा छाप्न भ्याइ–नभ्याइ हुनुपर्ने समय हो अहिले । तर, त्यस्तो छैन । दिनमा ६/७ सय पिस मात्र बिक्रि भइरहेको छ, अर्डर पनि कम छ ।’ यसपाली र्‍यालीभन्दा फेसबुकबाट धेरै मार्केटिङ गरिएकाले झण्डाको व्यापार सुकेको उनको बुझाइ छ ।

मनोनयन दर्ता सकिएपछि झण्डा किन्न आउनेको भिड हुने व्यापारीहरूले अनुमान गरेका थिए । त्यो पनि भएन । पहिलाको चुनावमा मागअनुरुप झण्डा छाप्न नसकिएकाले व्यवसायी रमा बस्नेतले यसपाली महिना दिनअगाडि नै विभिन्न पार्टीका झण्डा छाप्न सुरु गरेकी थिइन् । तर, विक्रि नहुँदा करिब ६ लाख रुपैयाँको झण्डा पसलमै थन्किरहेको सुनाइन् । ‘पहिला खोज्दै आउँथे, छाप्दा-छाप्दै अवस्थामा झण्डा उठाएर लैजान्थे,’ उनले भनिन्, ‘यसपाली छापेका झण्डा पनि लिन आएका छैनन् ।’ झण्डा मौज्दात भएकाले बिहेको कार्ड, स्कुलका टिसर्ट प्रिन्ट गरिरहेको उनले सुनाइन् । ‘अहिलेसम्म एक लाख जतिको बेचियो होला,’ उनले भनिन्, ‘धेरै बेच्नेले ३/४ लाख रुपैयाँको बेचे होलान् । यसपालि यति नै हाेलाजस्तो छ ।’

प्रकाशित : वैशाख २०, २०७९ १७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×