हटेन बिजुली अभाव

भारतीय उत्पादकहरुसँग सोझै बिजुली किन्ने प्राधिकरणको गृहकार्य, अर्थ मन्त्रालयले उद्योगीहरुलाई बोलाएर भन्यो– ‘महँगोमा बिजुली किनिदिनुस्’
हेमन्त जोशी

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहरूमा चौबिसै घण्टा बिजुली कटौती गर्न थालेको छ । आन्तरिक उत्पादनले माग नधान्ने र भारतबाट पनि बिजुली नआउने भएपछि उद्योगहरूको विद्युत् लोड काटिएको हो । बिजुली पाउन छाडेपछि निजी क्षेत्रका छाता संगठनहरूले विरोध जनाएका छन् । पर्याप्त लोड उपलब्ध गराउनुपर्ने वा लोड कटौतीसम्बन्धी पूर्वजानकारी उद्योगहरूलाई दिइनुपर्ने उद्योगी–व्यवसायीहरूको माग छ ।

हटेन बिजुली अभाव

प्राधिकरणले भने अर्को कुनै विकल्प नभएसम्म उद्योगहरूलाई पर्याप्त बिजुली दिन नसकिने तर समस्या समाधानका लागि अधिकतम प्रयास भइरहेको बताएको छ । भारतीय उत्पादकहरूसँग सोझै बिजुली खरिद गर्ने गरी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग छलफल भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको समस्या अधिकतम एक साता मात्रै रहने दाबी गरे ।

‘ऊर्जा संकट विश्वव्यापी समस्या हो । हामीले पनि भारतबाट करिब ३ सय मेगावाट बराबर बिजुली नपाउँदा समस्या भइरहेको छ । तर व्यवस्थापनका लागि अधिकतम प्रयास गरिरहेका छौं । बढीमा एक साताभित्र समस्या सुल्झिन्छ,’ घिसिङले भने, ‘विश्वव्यापी समस्या हो भनेर सबैलाई थाहा छ । पूर्वसूचना दिने अवस्था पनि छैन । हिजो पानी पर्‍यो, खोलामा पानी बढ्यो । हामीले बिजुली दियौं । सधैं यस्तो हुँदैन ।’

महँगो मूल्यमै भए पनि भारतबाट बिजुली किन्न पाए ल्याउने प्राधिकरणले बताउँदै आएको छ । त्यहाँको सरकारी कम्पनी एनभीभीएनमार्फत सोझै उत्पादकहरूसँग बिजुली खरिद गर्न पहल भइरहेको घिसिङले बताए । ‘उत्पादकहरूले महँगोमा बाहिरै बिजुली बेच्न पाएपछि इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मा बेच्न छाडे । हामीले पनि बाहिरबाट सोझै बिजुली किन्न पाइन्छ कि भनेर एनभीभीएनमार्फत पहल गरिरहेका छौं,’ उनले भने ।

विद्युत् प्राधिकरणले भारु ४ रुपैयाँ १५ पैसामा ३५० मेगावाट बराबर बिजुली किन्ने गरी एनभीभीएनसँग सम्झौता गरेको छ । तर भारतमा बिजुली महँगो भएपछि उसले नेपाललाई बिजुली दिइरहेको थिएन । अहिले एनभीभीएनले भारतीय उत्पादकहरूसँग महँगो मूल्यमा बिजुली किन्ने र त्यो बिजुली नेपाललाई उपलब्ध गराउने गरी छलफल अघि बढाइएको हो ।

भारतबाट महँगोमा बिजुली किन्दा त्यसबाट पर्ने आर्थिक भार बेहोर्न प्राधिकरणले निजी क्षेत्रलाई गुहारिरहेको छ । प्राधिकरण आफैंले उद्योगीहरूलाई पटक–पटक महँगोमा बिजुली किनिदिन आग्रह गर्दै आएको थियो । पछिल्लो पटक भने अर्थ मन्त्रालयले समेत उद्योगीहरूलाई बोलाएर महँगोमा बिजुली किनिदिन भनेको छ ।

भारतबाट महँगोमा बिजुली किनेर उद्योगीहरूलाई सस्तो मूल्यमा बेच्दा प्राधिकरणलाई घाटा हुने भएपछि निश्चित समयका लागि महँगो मूल्यमा बिजुली किनिदिन भनेको हो । तर उद्योगी व्यवसायीहरूले भने अर्थ मन्त्रालयको उक्त प्रस्ताव मानेका छैनन् ।

केही समयका लागि महँगो मूल्यमा बिजुली किन्न उद्योगी व्यवसायीहरूलाई मनाउन सकिने भए पनि पर्याप्त बिजुली पाउनेमै आफूहरूलाई शंका रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । ‘उद्योगहरूलाई कति घण्टा बिजुली दिन सकिन्छ, त्यसको ग्यारेन्टी प्राधिकरणले गरिदिओस्, छोटो समयका लागि हामी महँगो मूल्यमै बिजुली किन्न तयार छौं,’ गोल्छाले भने । महँगो मूल्य तिर्दा पनि पर्याप्त बिजुली पाउने विश्वास उद्योगीहरूमा नरहेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले पनि प्राधिकरणले पर्याप्त बिजुली उपलब्ध गराउन सक्नेमा शंका रहेको बताए । ‘सरकारले महँगो महसुलमा बिजुली किनिदिन भनिरहेको छ तर महँगो मूल्य तिरेर पनि पर्याप्त बिजुली पाउनेमा हामी आश्वस्त छैनौं,’ अग्रवालले भने, ‘उद्योगहरूले डिजेल पनि महँगोमै किन्ने बिजुली पनि महँगोमै किन्दा त्यसले उत्पादनका शृंखला र वस्तुको मूल्यमा पनि असर गर्छ । त्यसमा पनि ध्यान दिइओस् ।’

वर्षायाममा नेपालको बिजुली खेर जाने भए पनि सुक्खायाममा उत्पादन घटेर आधाभन्दा कम हुन्छ । कुल २ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना सञ्चालनमा रहे पनि उत्पादन भने त्यसको आधा बराबर पनि छैन । अहिले नेपालको कुल बिजुली माग सामान्य अवस्थामा १४ सयदेखि १५ सय मेगावाट र पिक समयमा करिब १७ सयम मेगावाट बराबर हो । त्यसमध्ये प्राधिकरणको आन्तरिक उत्पादन र निजी क्षेत्रको समेत उत्पादन गरेर ९ सयदेखि १ हजार मेगावाटसम्म बिजुली प्रणालीमा उपलब्ध छ । बाँकी साढे ४ सय देखि ५ सय मेगावाटसम्म अपुग छ । यो बिजुली प्राधिकरणले भारतबाट आयात गर्दै आएको थियो । भारतमा पनि अहिले ऊर्जा संकट देखिएपछि नेपालको बिजुली पाउन छाड्यो । भारतले करिब ७० प्रतिशत बिजुली कोइला र थर्मल प्लान्टबाट उत्पादन गर्दै आएको छ । तर युक्रेनमाथि रुसको आक्रमणका कारण विश्व बजारमै कोइला अभाव भएपछि बिजुली उत्पादन घटेको छ । भारतले एक दर्जनभन्दा बढी राज्यहरूमा ऊर्जा संकट घोषणा नै गरिसकेको छ । यस्तो अवस्थामा नेपालले पनि बिजुली पाउन छाडेको हो । नेपालले मुख्य गरी भारतबाट तीन वटा तरिकाले बिजुली ल्याउने गरेको थियो । पहिलो, भारतीय सरकारी कम्पनीहरू एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र पावर ट्रेड कम्पनी (पीटीसी) मार्फत किनेर । दोस्रो, बंगाल राज्यसँग किनेर र तेस्रो इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मार्फत बोलकबोल प्रक्रियामा भाग लिएर ।

एनभीभीएन र पीटीसीसँग निश्चित दरमा विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गरिएकाले मूल्य बढेपछि उनीहरूले बिजुली बेच्नै छाडे । त्यस्तै बंगाल राज्यले पनि अहिले नेपाललाई बिजुली बेच्न छाडेको छ । आईईएक्सबाट ५ सय १० मेगावाटसम्म बिजुली किन्न प्रस्ताव हाल्ने गरेकामा त्यसको ५ प्रतिशत बराबर बिजुली पनि नेपालले पाइरहेको छैन । बिजुली अभावका कारण अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि अघिल्लो साता मात्र भारतले आईईएक्समा खरिद–बिक्री हुने बिजुलीको अधिकतम मूल्यसीमा भारु १२ तोकिदिएको छ । आईईएक्सभन्दा बाहिर नै महँगोमा बिजुली बिक्री हुने भएपछि उत्पादकहरूले आफैं बिजुली बिक्री गरिरहेका छन् । एक हिसाबले यो कालोबजारमा हुने खरिद–बिक्री हो । नेपालले पनि महँगो मूल्य तिर्नुपरे पनि सम्भव भएसम्म उत्पादकहरूबाट सोझै खरिद गर्ने तयारी गरेको देखिन्छ ।

अहिले औद्योगिक ग्राहकहरूका लागि करिब ३ सय मेगावाट बराबर बिजुली अपुग रहेको प्राधिकरणले जनाएको छ । अहिले उद्योगहरूलाई बत्ती बाल्ने प्रयोजनका लागि मात्रै बिजुली दिएको र मेसिनहरू नचलाउन भनिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । ‘उद्योगहरूलाई लाइटिङ लोड मात्रै दिइरहेका छौं । अर्को व्यवस्था नहुन्जेलसम्म उनीहरूलाई थप बिजुली दिन सकिँदैन । औद्योगिक भार २४ घण्टाजसो नै काटिएको छ,’ भट्टराईले भने, ‘बिजुली हुँदा दिएकै छौं । अहिले आपूर्ति नै नभएपछि दिन सकिँदैन भनेर हरेक दिनजसो ५ बजेअघि नै जानकारी गराइरहेका छौं ।’ धेरैजसो ठूला उद्योगहरूमा गत शुक्रबारयता नै बिजुली छैन ।

प्रकाशित : वैशाख १९, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?