मोरङमा लोडसेडिङको विरोधमा व्यवसायी

विनोद भण्डारी

विराटनगर — नेपाल विद्युत् प्राधिकरणले अघोषितरुपमा लोडसेडिङ गरेको भन्दै सुनसरी-मोरङ औद्योगिक क्षेत्रका उद्योगी/व्यवसायीले विरोध गरेका छन् । सूचनाबिनै औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङ गरेको भन्दै मोरङ व्यापार संघ, उद्योग संगठन र नेपाल उद्योग परिसंघले समाधानको उपाय खोज्न आग्रह गरेका छन् ।

उद्योगको अक्सिजनका रुपमा रहेको विद्युत‌्‌को निरन्तर आपूर्तिलाई प्राधिकरणको प्रतिष्ठामै आँच आउने गरी तालिकाबिनै पटक-पटक कटौती गरेर उत्पादनका क्रममा रहेको करोडौं मूल्य बराबरको कच्चा पदार्थ नष्ट गराएर उद्योगलाई ठूलो आर्थिक क्षति गराएको उद्योगीहरुको गुनासो छ ।

प्राधिकरणले तत्कालै लोडसडिङको तालिका सार्वजनिक गरेर औद्योगिक कच्चा पदार्थ नष्ट हुनबाट जोगाउनु पर्ने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको माग छ । प्राधिकरणले बिनासूचना विद्युत् कटौती गरेर उद्योगलाई ठूलो मात्रामा आर्थिक भार थुपारेको उल्लेख गर्दै रिजालले विद्युत् कटौती हुँदा उद्योग नै बन्द हुने र त्यस अवधिको विद्युत् डिमान्ड शुल्क लिनु न्यायोचित नभएको उनले बताए ।

औद्योगिक क्षेत्रका उद्योग विद्युत् कटौतीले थप मारमा परेको उल्लेख गर्दै उद्योग संगठनका कार्यवहाक अध्यक्ष प्रदीप मुरारकाले विद्युत् उत्पादक कम्पनीहरुले प्राधिकरणसँग गरेको सम्झौता परिमाणभन्दा बढी उत्पादन गर्न सक्ने अवस्थामा थप विद्युत् उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गरे । सुख्खायाममा पनि रन अफ रिभरमा आधारित विद्युत् गृहबाट जडित क्षमताभन्दा कम विद्युत् उत्पादन भइरहेको र भारतबाट पनि आश गरेअनुसार विद्युत् आयात नभएमा विद्युत् आपूर्ति नियमित नभएसम्म औद्योगिक क्षेत्रमा मात्र विद्युत् कटौती नगर्न उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेको भनाइ थियो । उनले पीक आवरमा उद्योग र घरायसीमा समानुपातिकरुपमा विद्युत् वितरण गरिनु पर्ने औंल्याए ।

यहाँका उद्योगी व्यवसायीले विद्युत् आपूर्ति अवरुद्ध हुँदा औद्योगिक क्षेत्रमा पुगेको क्षतिलाई ध्यान दिएर कूटनीतिक पहलमार्फत समस्या समाधन गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।

प्रकाशित : वैशाख १८, २०७९ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?