कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिपलाइनको लहर

सीमा तामाङ

काठमाडौँ — पछिल्लो समय साहसिक खेल जिपलाइनमा आकर्षण बढ्दै गएको छ । एक दशक लामो इतिहास भए पनि पनि करिब ४ वर्षदेखि मात्र जिपलाइनमा लगानीकर्ता र सेवाग्राहीको आकर्षण बढेको हो । यति बेला पर्यटन व्यवसायीदेखि रिसोर्ट सञ्चालकसम्मले जिपलाइनमा लगानी गर्न थालेका छन् । यसको पछिल्लो उदाहरण हो— हाल सञ्चालनमा आएको नौबिसे ट्रम्फ अर्गानिक रिसोर्ट एन्ड जिपलाइन ।

जिपलाइनको लहर

धादिङस्थित थाक्रेमा थानकोटका सानुकाजी खड्गीसहितको १२ जनाको समूहले रिसोर्टसहित जिपलाइन सञ्चालनमा ल्याएको हो । ११ सय मिटर लम्बाइको जिपलाइनको दूरी पार गर्न न्यूनतम ३८ सेकेन्ड लाग्छ । जिपलाइनबाट हरियालीसँगै विभिन्न हिमालसमेत देख्न सकिने सञ्चालकको दाबी छ ।

हाइग्राउन्ड एडभेन्चरले सन् २०१० देखि नै सञ्चालनमा ल्याएको कास्कीको सराङकोट डाँडाबाट हेम्जामा झर्ने जिपलाइन नेपालमा पहिलो रहेको कम्पनीले जनाएको छ । १८५० मिटर लामो यो जिपलाइन संसारकै सबैभन्दा भिरालो जिपलाइनमध्ये एक मानिने कम्पनीको दाबी छ । हाइग्राउन्डपछि धुलिखेल दोस्रो जिपलाइन र सुपरम्यान र टेन्डम (दुई जनाले एकैसाथ खेल्न मिल्ने) जिपलाइन सञ्चालन गर्ने पहिलो रहेको सञ्चालक केदार थापा बताउँछन् । धुलिखेलमा झन्डै ४ वर्षअघि जिपलाइन सुरु भएको हो ।

काठमाडौंदेखि नजिकै रहेको जिपलाइन उपत्यकाका युवापुस्ताको आकर्षण बनेका छन् । धुलिखेल जिपलाइनको लम्बाइ ११ सय मिटर छ । वर्ल्डवाइड एडभेन्चर (धुलिखेल जिपलाइन) कै सञ्चालक थापाले नै स्थानीयसहितको लगानीमा नगरकोट, भेडेटार र मकवानपुरगढीमा समेत जिपलाइन सञ्चालनमा ल्याइसकेका छन् । प्रतिदिन १५ देखि २० जना जिपलाइनमा पुग्ने गरेको उनले बताए । नेपालमा साहसिक पर्यटकको संख्या बढेकाले पनि यस्ता खेलको संख्या वृद्धि भइरहेको थापाको भनाइ छ ।

जिपलाइनसहितको रिसोर्ट मात्रै नभएर अहिले वाटरपार्क, मठमन्दिरमा समेत जिपलाइन सञ्चालनमा आइसकेका छन् । चोभारस्थित हुप्पिल्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्कमा साहसिक खेलबाट पनि सर्वसाधारणलाई मनोरञ्जन दिने उद्देश्यले ‘जिपलाइन’ सञ्चालन गरिएको छ । चन्द्रागिरिमा पनि मिनी जिपलाइन छ । चन्द्रागिरि हिल्स लिमिटेडले उपत्यकाकै अग्लो स्थानमा मिनी जिपलाइन सुरु गरेको हो । चन्द्रागिरि डाँडामा एक सय मिटर लम्बाइको जिपलाइनमा मिनी टेन्डम (दुई जनाले खेल्न मिल्ने) जिपलाइन सुरु भएको हो । यसमा ५ वर्षदेखि ८० वर्षसम्म उमेर समूहले आनन्द लिन सक्छन् ।

पहिलेदेखि चलिरहेका रिसोर्टमा समेत व्यवसायीले साहसिक खेल जिपलाइन थप्न थालेका छन् । पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारस्थित रिभर फन बिच रिसोटसम्म पुग्ने ‘रिभर फन जिपलाइन’ सञ्चालनमा छ । अधिकांश भाग त्रिशूली नदीमाथि पर्ने कारण ५ सय ५८ मिटर लामो जिपलाइन झनै साहसिक र रोमाञ्चक हुने रिसोर्टको दाबी छ । १८ मिटर अग्लो पाँचतले टावरको चौथो तलाबाट सुरू हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकाले दुई जना एकै पटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने रिभर फन बिच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले जानकारी दिए । ‘र्‍याफ्टिङ पहिलेदेखि थियो, त्रिशुलीकै नदी छेउमा भएकाले त्यही माथि जिपलाइन बनाउँदा अझै साहसिक अनुभव लिन सकिन्छ । अब एडभेन्चर पार्क नै बनाउने योजना छ,’ उनले भने ।

कम्पनीहरूले जिपलाइन खेलेको दूरी हेरेर १ हजारदेखि ५ हजार रुपैयाँसम्म शुल्क उठाउँछन् । देशभरका विभिन्न सामुदायिक वनमा पनि जिपलाइन निर्माण भएका छन् । चितवनको जलदेवी सायुदायिक वन, रुपन्देहीको लक्ष्मी आदर्श सामुदायिक वन र ललितपुर, गोदावरीको विशंखुनारायण सामुदायिक वनमा पनि जिपलाइन बनेका छन् । रुपन्देहीको लक्ष्मी आदर्श सामुदायिक वनमा ९० मिटर, ललितपुरको गोदावरीस्थित विशंखुनाराणमा ८ सय मिटर लम्बाइका जिपलाइन बनेका हुन् ।

पछिल्लो समय वर्ल्डवाइड एडभेन्चरका प्रबन्ध निर्देशक थापा र उनको समूहले रोज बिजनेस इन्टरनेसनल कम्पनी नै खोलेर जिपलाइन जडानमा काम गरिरहेका छन् । सबै मापदण्ड पूरा गरी १ हजार मिटर लामो जिपलाइन निर्माण गर्न न्यूनतम डेढ करोड रुपैयाँ खर्च लाग्ने थापाले जानकारी दिए । जिपलाइन जडान गर्दा पर्यटन विभागबाट अनुमति प्राप्त जिपलाइन मात्र जडान गरिने उनले सुनाए । ‘साहसिक खेल भएका कारण सुरक्षामा सम्झौता गर्नुहुँदैन,’ उनले भने, ‘त्यसैले जिपलाइन निर्मााण अनुमति प्राप्त कम्पनीको मात्र काम गर्छौं ।’ थापाको समूहले अहिलेसम्म रिभर साइड रिसोर्ट मेलेखु, रिभरफन रिसोर्ट, चन्द्रागिरि हिल्स, अन्नपूर्ण केबलकारको टप स्टेसनमा जिपलाइन निर्माण गरिसकेको छ । प्रत्येक जिपलाइनमा ८ देखि १२ जनालाई रोजगारीसमेत दिइरहेको उनले बताए ।

कम्पनी रजिस्ट्रार, साहसिक पर्यटन र होटलसँगै जोडिएकाले उद्योग विभाग र पर्यटन विभागबाट जिपलाइन निर्माण स्वीकृति लिनुपर्छ । सरकारको मापदण्डअनुसार दुई करोडभन्दा माथिका लागतको योजनामा प्रारम्भिक वातावरण परीक्षण (आईईई) गर्नुपर्छ । ‘निजी जमिनको हकमा पर्यटन विभागको स्वकृति लिई प्रयोग गर्ने सामग्रीको कम्पनी खुलाई विभागका मानिसलाई देखाउनुपर्छ,’ थापाले भने, ‘निर्माण भइरहेको अवस्थामा निरीक्षण र तयार भइसकेपछि अन्तिममा परीक्षण गर्न विभागका प्रतिनिधि आउँछन् ।’ त्यहाँको स्थिति, स्थानीयसँगको छलफल, सेयर लगत, वडा र गाउँपालिकाको सिफारिस, प्यान र १० लाख रुपैयाँ बराबरको ग्यारेन्टी बुझाएपछि मात्र जिपलाइन सञ्चालनको पूर्ण स्वीकृति पाइने उनले सुनाए । पर्यटन उद्योग सेवा प्रभाव निर्देशिका २०७० को परिच्छेद ९ को दफा ९३ अनुसार जिपलाइन सञ्चालनका लागि इजाजत लिनुपर्छ ।

विभागका अनुसार हालसम्म ६ वटा कम्पनीले जिपलाइन सञ्चालनको अनुमति लिइसकेका छन् । इजाजत लिनेमा दरबार एडभेन्चर नुवाकोट, वर्ल्डवाइड एडभेन्चर धुलिखेल, होटेल गढी भ्यू एन्ड रिसोर्ट, योयो जिपलाइन घ्याम्पेडाँडा, श्री बेट एन्ड डाइनो एम्युजमेन्ट वाटर पार्क सुनसरी र हाइग्राउन्ड जिपलाइन पोखरा हुन् । आईई गरेर अन्तिम चरणमा रहेको ट्रायलका रुपमा जिपलाइन चलाइरहेका हार्नेस जिपलाइन पर्वत, मणिच्युड जर्सिङपौवा, नगरकोट जिपलाइन, फिस्टेल जिम पार्क छन् । अन्य जिपलाइन पनि इजाजत लिन आउने चरणमा रहेको विभागले जनाएको छ ।

प्रकाशित : वैशाख १८, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?