३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर

कास्की — स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणका लागि वालिङ नगरपालिकाले कोसेली घर सञ्चालनमा ल्याएको छ । नगरपालिका कार्यालय परिसरमा नगरका १४ वटै वडामा उत्पादित स्थानीय वस्तुको प्रचारप्रसार तथा बजारीकरणमा सघाउने उद्देश्यले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याइएको नगरप्रमुख दिलीपप्रताप खाँडले बताए । 

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर

वालिङ नगरपालिकाभित्र उद्यमशीलता विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाइएको उनले जनाए । ‘स्थानीय स्रोतसाधनलाई अधिकतम प्रयोग गरी निर्मित तानका कपडा, स्विटर, गरगहना, उपहार, अन्य हस्तकलाका सामग्री कोसेली घरमा राखेका छौं,’ उनले भने, ‘स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रचारप्रसार हुनुका साथै बजारीकरणका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।’ वालिङ नगरभित्र उद्यमशीलताको विकास गर्ने क्रममा खाद्य तथा तरकारी र मासुजन्य उत्पादनलाई व्यवस्थित गर्न वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थालाई जिम्मा दिइएको छ ।

उत्पादक र उपभोक्ताबीचमा समन्वयकारी भूमिका खेलेर नगरपालिकाले दुई पक्षलाई जोडिदिने काम गरेको स्वस्तिका वैदिक हस्तकला उद्योगकी सञ्चालक दुर्गा न्यौपाने बताउँछिन् । ‘आफू जस्तै अन्य उत्पादकले उत्पादन गरेको सामग्री कोसेली घरमा राखेर नगरपालिकाले प्रचारप्रसारसँगै बजारीकरणका लागि काम गरेको छ,’ उनले भनिन्, ‘यसले नयाँ–नयाँ सामग्री उत्पादन गर्न ऊर्जा मिलेको छ ।’

प्रकाशित : वैशाख १४, २०७९ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?