२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

मुद्रा कोषको प्रक्षेपणः एसियामा ४.९ र नेपालमा ४.१ प्रतिशत आर्थिक वृद्धि

काठमाडौँ — सन् २०२२ मा एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ४.९ प्रतिशत बराबर मात्रै हुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सार्वजनिक गरेको छ । ‘वल्र्ड इकोनोमिक आउटलुक डाटाबेस, २०२२’ सार्वजनिक गर्दै आईएमएफले यस्तो प्रक्षेपण गरेको हो ।

मुद्रा कोषको प्रक्षेपणः एसियामा ४.९ र नेपालमा ४.१ प्रतिशत आर्थिक वृद्धि

गत जनवरीमा गरेको ५.४ प्रतिशतको आर्थिक वृद्धिदर अनुमानलाई ०.५ प्रतिशत बिन्दुले घटाउँदै आईएमएफले नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो । रुस–युक्रेन युद्धका कारण बिग्रँदो वस्तु बजार, कोभिड महामारी पछिको आर्थिक पुनरुत्थानमा ढिलाइ तथा चर्को ब्याजदरलगायतका कारणहरूले एसिया र प्रशान्त क्षेत्रको वृद्धिदर घट्ने अनुमान गरिएको हो । त्यस्तै यस क्षेत्रका अधिकांश देशहरुमा मुद्रास्फीति दर बान्छित सीमाभन्दा बाहिर जानसक्ने अनुमान पनि आईएमएफले गरेको छ ।

सन् २०२२ का लागि नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान आईएमएफको छ । आगामी वर्ष अर्थात् सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत हुने अनुमान गरिएको छ । नेपालले अहिले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । यसअघि विश्व बैंक र एसियाली विकास बैंकहरूले पनि नेपालको उक्त लक्ष्य प्राप्त हुन नसकिने र लक्ष्यभन्दा निकै कममात्र आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरिसकेका छन् । यस वर्ष अर्थात् सन् २०२२ मा नेपालले ३.७ प्रतिशत बराबर मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान विश्व बैंकको छ ।

यही एप्रिलमा ‘नेपाल डेभलप्मेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण सार्वजनिक गरेको थियो । विश्व बैंकका अनुसार नेपालको आर्थिक वृद्धिदरमा संकुचन यस वर्ष मात्र नभई आगामी २ वर्षसम्मै देखिनेछ । नेपालले सन् २०२३ मा ४.१ प्रतिशत र सन् २०२४ मा ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ । नेपालको अर्थतन्त्रमा कोभिड महामारीको गहिरो असर देखिएका कारण वृद्धिदर खुम्चिएको बताइएको छ ।

एसियाली विकास बैंक (एडीबी) ले पनि नेपालले लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । एसियन डेभलप्मेन्ट आउटलुक २०२२ प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

कोभिड महामारी विरुद्धको खोप अभियान प्रभावकारी हुँदा आर्थिक वृद्धिदर बढ्ने अनुमान गरिएको भएपनि पछिल्लोपटक रुस–युक्रेन युद्धको असर अर्थतन्त्रमा देखिएको एडीबीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । एडीबीले सन २०२३ का लागि भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको छ ।

प्रकाशित : वैशाख १३, २०७९ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?