ग्यास लुकाउने ललितपुरका दुई डिपोलाई कारबाही


काठमाडौँ — कृत्रिम अभाव देखाई ग्यास लुकाउने दुई ग्यास डिपो कारबाहीमा परेका छन । ललितपुरको शंखमुलमा रहेको राजु स्टोर्स र ललितपुरकै प्रयागपोखरी स्थित एस एण्ड जे एस स्टोर कारबाहीमा परेका हुन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी धनेश्वर पौडेलका अनुसार दुबै स्टोर्सले ग्यास लुकाएको पुष्टि भएपछि कारबाही गरिएको हो ।

‘ती डिपोमा आयल निगमको टोलीले अनुगमन गर्दा व्यवसायीले ग्यास नभएको बताएका थिए तर डिपोभित्र ग्यास लुकाएको भेटियो,’ सूचना अधिकारी पौडेलले भने, ‘निगमले कारबाही गर्न पत्राचार गरेपछि विभागले अनुसन्धान गरेर कारबाही गरेको छ ।’ पौडेलका अनुसार राजु स्टोर्समा १० र एस एण्ड जे एसमा १५ सिलिन्डर ग्यास फेला परेको थियो । ती दुबै स्टोर्सलाई जनही २० हजार रुपैयाँ जरिवाना गरिएको छ । ‘आपूर्ति नीतिलाई असहयोग गरेको कसुरमा उपभोक्ता संरक्षण ऐन अनुसार २०/२० हजार जरिवाना गरेका छौं,’ पौडेलले भने ।