१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भूकम्पको सात वर्षमा पनि सकिएन पुनर्निर्माण

विमल खतिवडा

काठमाडौँ — भूकम्प गएको सात वर्ष पुग्यो । तर अझै पुनर्निर्माणका काम सकिएका छैनन् । सबैभन्दा जटिल कामका रूपमा रहेको निजी आवास निर्माणले पूर्णता पाएको छैन । अहिलेसम्म ७७.५ प्रतिशत मात्र निजी आवास निर्माण भएको सहरी विकास मन्त्रालयको भवन विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले जनाएको छ ।

भूकम्पको सात वर्षमा पनि सकिएन पुनर्निर्माण

समयावधि गत पुसमा सकिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेको हो । समयमै काम नसकिएपछि अब फेरि समय थप माग्ने तयारी हुँदै छ । निजी आवासको काम सक्न अझै असारसम्म समय माग गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ । ‘हामीलाई पुसमा जिम्मेवारी हस्तान्तरण भएको हो,’ आयोजनाका निर्देशक कोषनाथ अधिकारीले भने, ‘त्यो बेला निजी आवास निर्माण ७५ प्रतिशत भएको थियो । त्यसैले असार मसान्तसम्म थप्न पाए काम सकिन्थ्यो ।’

लाभग्राहीको संख्या ८ लाख ६८ हजार १ सय ४० छ । यसमध्ये करिब ३९ हजारले अनुदान सम्झौता गरेका छैनन् । तिनलाई लाभग्राहीको सूचीबाट हटाइँदै छ । गत मंसिर मसान्तसम्म अनुदान सम्झौता नगर्नेलाई लाभग्राही सूचीबाट हटाउन लागिएको हो । यो संख्या हटेपछि निजी आवासको प्रगति केही बढी देखिने अधिकारीले बताए ।

अनुदान सम्झौता गरेका लाभग्राही ८ लाख ३२ हजार ८८ छन्, जसमा दोस्रो किस्ता लिन अझै ७० हजार ७ सय ६ र तेस्रो किस्ता लिन बाँकी २१ हजार ५ सय ८१ छन् । चालु आर्थिक वर्षमा विनियोजित ४ अर्ब ७४ करोडमध्ये २ अर्ब ८४ करोड ६९ लाख ५० हजार खर्च भएको निर्देशक अधिकारीको भनाइ छ । पुनर्निर्माणमा मात्र अहिलेसम्म ३ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको उनले जानकारी दिए ।

‘निजी आवास निर्माण सकिइसकेकाहरूलाई पनि भुक्तानी दिन बाँकी छ, यसबारे अर्थ मन्त्रालयमा अनुरोध गरिरहेका छौं,’ उनले भने, ‘भुक्तानी दिने र अनुदान सम्झौता गर्न नआएकालाई लाभग्राहीबाट हटाएपछि निजी आवास निर्माणको प्रगति ८५ प्रतिशतसम्म पुग्छ ।’

स्वास्थ्य संस्था भवन ११ सय ६५ पुनर्निर्माण गर्नुपर्नेमा आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म ७ सय ५१ वटा मात्र सकिएका छन् । निर्माणाधीनको संख्या ३ सय ५४ वटा छ । स्रोत सुनिश्चितता नहुँदा ५९ वटा भवनको काम अझै अघि बढ्न सकेको छैन । ४ सय १५ वटा सरकारी भवनमा भूकम्पले क्षति पुर्‍याएकामा ३ सय ८८ वटाको मात्र निर्माण सकिएको छ । निर्माणाधीन २० छन् । ६ वटाको काम अर्को आर्थिक वर्षका लागि बाँकी रहने अधिकारीको भनाइ छ ।

पुरातात्त्विक सम्पदामा भारतीय अनुदानतर्फ २८ वटाको संरक्षण तथा जीर्णोद्धारको जिम्मा सहरी मन्त्रालयले पाएकामा २४ वटाको काम सकिएको छ । अन्यको पालिका र उपभोक्ता समितिमार्फत जीर्णोद्धारको काम भएको निर्देशक अधिकारीले बताए । रानीपोखरीको काम सकिइसकेको र धरहरामा भने पार्किङ, धरहरातर्फ जाने सडक बनाउनेलगायत काम बाँकी छन् ।

जिम्मेवारी हस्तान्तरणपछि नयाँ कार्यालय स्थापना गर्नुपर्दा पनि काम र अनुदान वितरणमा समय लागेको आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माको भनाइ छ । प्राधिकरणले जिम्मेवारी हस्तान्तरण गरेपछि २३ जिल्लामा नयाँ कार्यालय र बाँकी ९ जिल्लामा सहरी विकासअन्तर्गतका पुरानै कार्यालयबाट काम गरिएको छ । भूकम्पमा अतिप्रभावित १४ र कम प्रभावित १८ जिल्ला छन् । २०७२ पुस १० मा गठित प्राधिकरणको समय २०७८ पुस १० मा सकिएको थियो । प्राधिकरण सम्बन्धित मन्त्रालयहरूलाई जिम्मेवारी हस्तान्तरण गरेर बहिर्गमन भएको थियो । यसअघि प्राधिकरणले समयमै पुनर्निर्माणको काम सम्पन्न नहुनुमा कोभिड मुख्य कारण रहेको औंल्याएको थियो ।

प्रकाशित : वैशाख १२, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?