कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

क्यान इन्फोटेकमा रमाइला स्टार्टअप

प्रदर्शनीमा गेमिङसहित फिनटेक, प्रकोप व्यवस्थापन तथा पूर्वतयारी, स्वास्थ्यलगायत क्षेत्रसम्बद्ध स्टल छन्
सजना बराल

काठमाडौँ — सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘क्यान इन्फो–टेक २०२२’ को एउटा स्टलमा ‘को बन्छ लखपति ?’ खेल्नेमा प्रायः सधैं घुइँचो हुन्छ । उनीहरू सामान्य ज्ञानका प्रश्नहरूको उत्तर मिलाउने प्रयत्नमा देखिन्छन् । सबैभन्दा धेरै उत्तर मिलाउनेलाई यहाँ पुरस्कृत पनि गरिन्छ ।

क्यान इन्फोटेकमा रमाइला स्टार्टअप

यो स्टल नेपालको सोसल गेमिङ प्लाटफर्म ‘रमाइलो गेम्स’ को हो । यस प्लाटफर्ममा १४० भन्दा बढी खेल समावेश छन् । अहिले वेब–वेस्ड (वेबसाइटमा मात्रै उपलब्ध) रमाइलो गेम्सलाई यसका विकासकर्ताहरू ‘गेमहरूको नेटफ्लिक्स’ भनेर बुझाउँछन् । नेटफ्लिक्समा फिल्महरूको संकलन राखिएझैं रमाइलो गेम्समा खेलहरूको संकलन छ ।

प्रयोगकर्ताले रमाइलोगेम्स डटकममा गएर ‘मःम जम्प’, ‘फाइटर बूढा’, ‘गल्ली रन थ्रीडी’, ‘चोर पुलिस’, ‘दाउरे दाइ’, ‘अन्तरिक्ष युद्ध’, ‘बाउन्सिङ बँदेल’ जस्ता खेल खेल्न सक्छन् । ‘हामीले सबै खेल नेपालीपन दिएर निर्माण गरेका छौं,’ रमाइलो गेम्सका रविन शर्मा भन्छन्, ‘विस्तारै यिनलाई एपमा पनि ल्याइनेछ ।’ प्रदर्शनीको स्टार्टअप र इनोभेसन खण्डमा गेमिङसहित फिनटेक, प्रकोप व्यवस्थापन तथा पूर्वतयारी, स्वास्थ्य, अपांगतामैत्री सूचना प्रविधिलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित स्टल राखिएका छन् । क्यानले यीमध्ये उत्कृष्टहरूलाई एक लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गर्ने जनाएको छ । प्रदर्शनीमा भाग लिन स्टार्टअपहरूका लागि आवेदन खुला गरिएको थियो ।

रेस्टुरेन्ट, फिटनेस क्लब, ब्युटी पार्लर, स्विमिङ पुल, गाडीको सर्भिस सेन्टर, इभेन्ट (कार्यक्रम) जस्ता विभिन्न व्यावसायिक स्थल तथा गतिविधिमा छुटको व्यवस्था मिलाइदिने ‘डिलखाना’ पनि यस पटक क्यानमा सहभागी छ । डिलखानाबाट कुपन लिएपछि विभिन्न ठाउँमा भारी छुट पाइन्छ । ‘हामीसँग २०/३० रुपैयाँमा कुपन किनेर ५ सय/१ हजार रुपैयाँ छुट लिन सकिन्छ,’ डिलखानाका सहसंस्थापक शोभित पौडेलले भने, ‘६/७ महिनाभित्र हामी ५० भन्दा बढी व्यवसायसँग सहकार्यका लागि जोडिइसकेका छौं ।’

डिस्काउन्ट स्टोर प्लाटफर्म, डिलखानाबाट कार्यक्रम आयोजकहरूले टिकट बिक्रीसमेत गर्न सक्छन् । यसमा आबद्ध हुँदा प्रयोगकर्ताले भारी छुटमा वस्तु तथा सेवा किन्न पाउनुका साथै व्यवसायीहरूले अफ–आवर (व्यापार कम हुने बेला) मा पनि निरन्तर ग्राहक पाइरहने शोभित बताउँछन् । ‘भारततिर यस्ता प्लाटफर्म धेरै छन्,’ उनले भने, ‘यसमा जोडिँदा सबैलाई फाइदै–फाइदा हुन्छ ।’ आफूहरूले भने कमिसनमार्फत आयआर्जन गर्ने उनको भनाइ छ ।

प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण र व्यवस्थापनबारे जानकारी दिने उद्देश्यले बनाइएको ‘म त छु तयार π’ स्टलमा सीतु श्रेष्ठ गो ब्याग, गाइडबुक आदिबारे अवलोकनकर्तालाई बुझाइरहेकी भेटिइन् । उनी भन्दै थिइन्, ‘ठूलोडटकम/तयारमा क्लिक गरेर तपाईंहरूले नेपालका प्राकृतिक जोखिमहरू, विपद् व्यवस्थापनका लागि सुझाव, विपद्का असर, विपद्का बेला आवश्यक पर्ने आपत्कालीन सम्पर्क सहायता, विपद्का बेला आवश्यक पर्ने सामग्रीहरूबारे जानकारी लिन सक्नुहुनेछ ।’

प्रकाशित : वैशाख ११, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?