कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्वायत्त सीप प्रतिष्ठान गठन हुँदै

श्रम मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालय पठाएको प्रतिष्ठान गठन र सञ्चालनसम्बन्धी आदेश मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयनमा आउने
अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गरिने
होम कार्की

काठमाडौँ — बर्सेनि श्रम बजारमा थपिने जनशक्तिमा कुनै खास सीपमा दक्ष कति हुन्छन् ? अदक्षका तुलनामा दक्षले रोजगारीमा प्राथमिकता पाउने मात्रै होइन आम्दानी पनि राम्रो गर्छन् । तर, वैदेशिक रोजगारीमा जाने नेपालीको ठूलो संख्या अदक्ष कामदारको हुने गरेको छ । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुरूप सीपयुक्त जनशक्ति उत्पादन गर्न अधिकारसम्पन्न तालिम प्रतिष्ठान स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

स्वायत्त सीप प्रतिष्ठान गठन हुँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशिष्टीकृत निकायका रूपमा राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान स्थापना गर्न लागिएको हो । यो एउटा स्वायत्त निकायका रूपमा रहनेछ । ‘रोजगारदाताले कुनै विषयमा दक्ष जनशक्ति खोज्यो भने बजारमा भेटिँदैन । अन्तर्राष्ट्रिय बजारमा पनि अदक्ष जनशक्ति गइरहँदा तलबमा पनि मोलमोलाइ गर्न सकिरहेको छैन । रेमिट्यान्स पनि पर्याप्त आइरहेको छैन,’ श्रम सचिव एकनारायण अर्यालले कान्तिपुरसँग भने, ‘दक्ष, प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्न हामीलाई ठूलो दबाब छ । यसका लागि स्वतन्त्र ढंगले काम गर्ने अधिकारसम्पन्न प्रतिष्ठान गठन हुँदै छ ।’

प्रतिष्ठानको गठन र सञ्चालनसम्बन्धी आदेश तयार गरी श्रम मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पेस गरेको छ । ‘अर्थबाट सहमति आउनासाथ मन्त्रिपरिषद्को बैठकमा पेस गर्नेछौं,’ उनले भने । पारित भएपछि श्रम मन्त्रालयले ललितपुरको भैंसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानलाई नै स्तरोन्नति गर्नेछ । बुटवल र इटहरीमा रहेका तालिम प्रतिष्ठानलाई पनि नयाँ प्रतिष्ठानअन्तर्गत ल्याइनेछ । ‘हाल कायम रहेको भैंसेपाटीस्थित प्रतिष्ठानसँग निश्चित स्रोत र साधन छ । उसलाई विदेशी रोजगारदातासँग सम्झौता गर्न अधिकार नै छैन । ऊ आफैंले दिएको तालिमका प्रमाणपत्रले गन्तव्य देशमा मान्यता पाएको छैन,’ श्रम सचिव अर्यालले भने ।

भारतले वैदेशिक रोजगारीमा जानेलाई लक्ष्य गरी ‘भारत अन्तर्राष्ट्रिय सीप केन्द्र’ स्थापना गरी वाार्षिक १० हजार ३ सय ७३ तालिम केन्द्रबाट ३६ वटा सीपसम्बन्धी तालिम दिइरहेको छ । त्यस्तै फिलिपिन्सले सीप विकासलाई मद्दत गर्न सैद्धान्तिक तथा व्यावहारिक ज्ञानसहितको तालिम दिन प्राविधिक शिक्षा तथा सीप विकास प्राधिकरण स्थापना गरेको छ ।

श्रम मन्त्रालयका अनुसार प्रस्तावित अधिकारसम्पन्न नयाँ प्रतिष्ठानले रोजगारदाता मुलुकसँग समझदारीसमेत गर्न पाउनेछ । कतार र संयुक्त अरब इमिरेट्ससँग भएको उच्चस्तरीय बैठकमा आफूहरूलाई चाहिने जनशक्ति उत्पादन गर्न ठूलो राशिमा आर्थिक सहयोग गर्न तयार भएको छ । कतार र यूएईले प्रतिष्ठानको भौतिक पूर्वाधार विकास र जनशक्ति उत्पादनका लागि अनुदान दिन तयार देखिएको हो । तर, हाल कानुनी अड्चन भएकाले भैंसेपाटीको प्रतिष्ठानले अनुदान स्वीकार गर्न सकेको छैन ।

आन्तरिक श्रम बजारमा वार्षिक ५ लाख श्रमशक्ति भित्रिने गरेको छ, जसको ठूलो हिस्सा वैदेशिक रोजगारीमा जाने गरेको छ । श्रम मन्त्रालयको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार ५९ प्रतिशत अदक्ष श्रमिकको हैसियतमा वैदेशिक रोजगारीमा गएका छन् । जसको मासिक आम्दानी सरदर ३० हजार रुपैयाँ छ । श्रम सर्वेक्षणको प्रतिवेदनअनुसार बेरोजगारी दर ११.४ प्रतिशत भने श्रम शक्तिको ३६.५ प्रतिशत औपचारिक क्षेत्रमा संलग्न छ । १५ वर्षमाथिको श्रम शक्तिको सहभागिता दर ३८.५ प्रतिशत छ ।

भैंसेपाटी तालिम केन्द्रबाट चालु आर्थिक वर्ष १ सय ३८ वटा विषयमा ६ हजार ८ सय जनालाई तालिम दिने लक्ष्य राखेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट अनुबन्धन प्राप्त गरी डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालन गर्न तीन सय संघसंस्थाले अनुमति पाएका छन् । यी संस्थाहरूबाट ३३ हजार दक्ष जनशक्ति उत्पादन गर्न सक्ने क्षमता छ । छोटो अवधिको व्यावसायिक तालिम केन्द्र स्थापना गर्न १ हजार १ सयभन्दा बढी संस्थाबाट झन्डै ४५ हजार जनालाई तालिम प्रदान गर्न सक्ने क्षमता छ ।

वैदेशिक रोजगार बोर्डको सिफारिसमा पनि झन्डै एक सयवटा केन्द्रले तालिम दिइरहेको छ । यसले आन्तरिक र वैदेशिक रोजगारीको मागलाई सम्बोधन गर्न नसक्नुका साथै आवश्यक दक्षता नपुग्ने अवस्था पनि विद्यमान छ । ‘वैदेशिक रोजगार ऐनअनुसार विदेश जाने व्यक्तिले तालिम लिएको हुनुपर्छ भन्ने प्रावधान छ । त्यसलाई देखाउनका लागि मात्रै तालिम दिने काम भएको छ,’ उनले भने, ‘अब बन्ने प्रतिष्ठानले दिएको तालिम रोजगारदाता मुलुकले पनि मान्यता दिने गरी हुन्छ । त्यो देशको कोर्स, प्रशिक्षक प्रयोग गरिन्छ ।’

प्रकाशित : वैशाख ७, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?