कस्तो छ मेटाभर्सको माहोल ?
काठमाडौँ — सन् २०२२ मा आइपुग्दा इन्टरनेट क्षेत्रमा ‘मेटाभर्स’ शब्द असाध्यै लोकप्रिय बनेको छ । सामान्य अनलाइन अन्तरक्रिया वा गेमिङ–अनुभवको तुलनामा मेटाभर्स थप रोचक र बढी वास्तविक हुने भएकाले यसमा मानिसहरू दिन प्रतिदिन आकर्षित भइरहेका छन् । मेटाभर्सले प्रयोगकर्तालाई के–कसरी जोखिममा पार्न सक्छ भन्नेबारे पनि हरेक दिनजसो समाचार आउने गरेका छन् ।
सन् २०३० सम्म मेटाभर्सको विश्व बजार ६ सय ८० अर्ब डलर पुग्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन् । ‘मेटाभर्स भर्चुअल रियालिटि जगत हो जहाँ कन्सर्टमा गएर चर्चित र असाध्यै रमाइला व्यक्तिहरूलाई भेट्न पाइन्छ,’ १२ वर्षीय कुपर स्टोनलाई उद्रित गर्दै फोर्ब्सले लेखेको छ, ‘म मेटाभर्समा भर्चुअल रियालिटी हेडसेट प्रयोग गरेर फोर्टनाइटजस्ता भिडियो गेम खेल्छु ।’
गत अक्टोबरमा फेसबुकले आफ्नो मूल कम्पनीको नाम फेरेर मेटा राखेपछि मेटाभर्सबारे असाध्यै चर्चा चुलिएको थियो । त्यो ताका तत्कालिन फेसबुकका जेसन रुबिनले भर्चुअल रियालिटीमा आयोजित सीबीएस न्युजसँगको अन्तरवार्तामा भनेका थिए, ‘हामीले मेटाभर्समा गर्ने काम र यसमा बिताउने समय विस्तारै र अवश्य यति बढ्नेछ कि हामी एकदिन सम्पूर्ण रूपमा इमर्सिभ संसारमा हुनेछौं ।’
सूचना प्रविधिका कम्पनीहरू अहिले मेटाभर्स प्लाटफर्म सिर्जना गर्न र त्यहाँबाट पैसा कमाउन विभिन्न तरिका खोजिरहेका छन् । जहाँ पैसा हुन्छ त्यहाँ अपराधीका पनि आँखा पुग्छन् । मेटाभर्समा रहेका प्रयोगकर्ताका व्यक्तिगत विवरण र सामाजिक सुरक्षा नम्बरहरू संकलन गरी ह्याकरहरूले बेच्ने वा बैंक एकाउन्टबाट नगद चोरी गर्न सक्ने सीबीएस न्युजले लेखेकाे छ । माथि उल्लेख गरिएका कुपर गत साल यस्तै ठगीमा परेका थिए । ह्याकरहरूले उनको फोर्टनाइटको एकाउन्टमा पहुँच बनाएर त्यसबाट ५० डलर निकालेका थिए ।
ह्याकरले प्रयोगकर्ताको भीआर हेडसेटमा पनि पहुँच बनाए समस्या अझै भयावह हुने विज्ञहरू बताउँछन् । भीआर हेडसेटमा पहुँच हुनु भनेको ह्याकरहरू प्रयोगकर्ताको कार्यालय, घर वा सुत्ने कोठासम्मै पुग्नु हो । त्यसपछि हामीले हेर्ने र सुन्ने गतिविधिमा तिनले नियन्त्रण कायम गर्न सक्छन् । यसका साथै, मेटाभर्समा रहेका सामग्रीहरू विशेषतः बालबालिकाका लागि हानिकारक हुने भन्दै यसबारे धेरै आवाज उठिरहेका छन् ।
मेटा (फेसबुक) को होराइजन वर्ल्डस् (मेटाभर्स) मा आफूहरूले जहिँतहिँ बन्दुक फेला पारेको र स-साना उमेरका केही प्रयोगकर्ताले ती टिपेर पड्काएको सीबीएस न्युजका पत्रकारले जनाएका छन् । तिनका अनुसार एउटी बालिका तिनै बन्दुकसँग खेलिरहेकी थिइन् । यसबारे मेटाले क्वेस्ट हेडसेटहरू १३ वर्ष उमेरदेखि माथिका बालबालिकाको लागि बनाएको र भर्चुअल रियालिटिभित्रका कतिपय अनुभव १८ वर्षदेखि माथि उमेरकाहरूका लागि मात्रै भएको बताएको थियो ।
मेटाभर्समा बालबालिकाहरू यौन हिंसामा परेको, अश्लिल गतिविधिमा तिनको पहुँच बनेको, उमेर हदलाई लिएर भर्चुअल रियालिटिका प्लाटफर्महरूले त्यति ध्यान नपुर्याएको बताउने गरिएको छ । ठूला प्रीवधि कम्पनीले यस मामिलामा अभिभावक जिम्मेवार हुनुपर्ने अभिव्यक्ति दिने गरेका छन् । तर, प्रविधि विज्ञहरू भर्चुअल रियालिटि प्लाटमर्फ निर्माण गर्ने कम्पनीहरूले नै सुरक्षा र सावधानीका उपाय अपनाउनुपर्ने बताइरहेका छन् ।
के हो मेटाभर्स ?
यो भनेको विभिन्न थ्रीडी भर्चुअल संसारको एकीकृत स्वरुप हो । यसको उदेश्य मूलतः सामाजिक सम्पर्क बढाउनु नै हो । भर्चुअल वा अग्मेन्टेड रियालिटीका हेडसेटमार्फत् यो संसारमा प्रवेश गरिन्छ । प्रयोगकर्ताले यसभित्र एकाउन्ट बनाएर साथीभाइसँग जोडिने, किनमेल गर्ने, भ्रमणमा निस्किने, स्वास्थ परीक्षण, मिटिङ वा कार्यक्रम सञ्चालन लगायत भौतिक जीवनका सबै कृयाकलाप डिजिटल स्पेसमा गर्न सक्छन् ।
मेटाभर्सलाई मानव जीवनको सबैभन्दा ठूलो प्राविधिक अवरोध र व्यापारका लागि खबौंं डलरको अवसरका रूपमा अर्थाउने गरिएको छ । अहिले नै यसमा गायिका एरियाना ग्रान्डी र र्यापर ट्रेभिस स्कटले प्रस्तुति दिएर पैसा कमाइसकेका छन् । शुक्रबार मात्रै भारतमा बनेको ‘जुपिटर मेटा’ नामक मेटाभर्स प्लाटफर्ममा ‘मद्रास महारानी कन्सर्ट’ आयोजना गरिएको र त्यसमा संगीतकर्मी कार्तिकले प्रस्तुति दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका थिए ।
ठूला टेक–कम्पनीहरूले मेटाभर्सको माहोल विकास गर्न संस्थागत रूपमै कम्पनीहरूलाई सहयोग गर्न थालेका छन् । टेलिग्राफ डटकममा अनुसार भीआर हेडसेटहरू विस्तारै घरका अत्यावश्यक वस्तु बन्नेछन् । तिनै हेडसेटको माध्यमबाट मानिसहरूले वेब ३.० को भर्चुअल दुनियाँमा वास्तविक संसारको अनुभूती गर्न पाउनेछन् ।
प्रकाशित : वैशाख ३, २०७९ १५:०९