कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ड्रोन युद्धको नयाँ सुरुवात

एजेन्सी — ई–कमर्स साइट अमेजनमा विदेशतिर सजिलै किन्न पाइने क्वाडकप्टर (ड्रोन) अहिले युक्रेनमा जारी युद्धका विरुद्ध ‘फ्रन्टलाइन’ मा खटिएको छ । जानकारहरू यसलाई ड्रोन युद्धको नयाँ सुरुआत बताइरहेका छन् । चालकरहित एरियल वाहन (यूएभी अर्थात् ड्रोन) को प्रयोग आतंकवाद वा विद्रोहीविरोधी युद्धमा मात्रै नभएर आम लडाइँमा समेत हुन थालेको बीबीसीको समाचारमा उल्लेख छ ।

ड्रोन युद्धको नयाँ सुरुवात

युक्रनी गैरनाफामूलक संस्था ‘कम ब्याक अलाइभ’ ले रुसी आक्रमणविरुद्ध लड्न आफ्ना सेनालाई गोली, राइफल, रेडियोलगायत सामग्रीसँगै डीजेआई म्याभिक थ्री ड्रोनहरूसमेत उपलब्ध गराउने गरेको छ । प्रायः युट्युब भिडियोलाई आकर्षक बनाउन प्रयोग गरिने यस्ता ड्रोन अहिले युद्धमा व्यापक प्रयोग भइरहेका छन् ।

‘ड्रोनहरू हाम्रा आँखा हुन्,’ एक युक्रेनी सैनिकलाई उद्धृत गर्दै सिनेट डटकमले लेखेको छ, ‘यदि रुसी पक्षले तोप आक्रमण गर्न आँटेको देखियो भने हामी हाम्रा नागरिकलाई अन्यत्र सार्न सक्छौं । ड्रोन प्रयोग गर्दा हामीले रक्षात्मक कदम चाल्न र युक्रेनी जनतालाई बचाउने सम्भावना रहन्छ ।’ ती सैनिकका अनुसार युक्रेनी सेनासँग आधिकारिक ड्रोन युनिट छैन । तर सैनिक र नागरिकहरूले पल्लो गाउँ वा अर्को किलोमिटरपारि के भइरहेको छ भनेर हेर्न ड्रोन प्रयोग गरिरहेका छन् ।

विशाल रुसी सेनाको अगाडि क्वाडकप्टरदेखि पंखाजडित ड्रोन युक्रेनका लागि महत्त्वपूर्ण साबित भइरहेका छन् । युद्धको सुरुआती दिनहरूमा एककठ्ठा भएको नागरिकहरूको ड्रोन समूह ‘एरोरोज्भिड्का’ ले युक्रेनको राजधानी किभतर्फ लम्किरहेका सैन्य सवारीलाई सुरक्षित रूपमा तैनाथ हुने माहोल मिलाउन सैनिक जत्थालाई सहयोग गरेको थियो । रुसले किभछेउको विमानस्थल कब्जा गर्न खोज्दा ड्रोनकै सहायताले त्यसो हुन दिइएको थिएन ।

युद्धमा मानवरहित विमानको प्रयोग सन् १८४९ देखि नै सुरु भएको सिनेटको समाचारमा उल्लेख छ । दोस्रो विश्वयुद्धमा जापानले प्रशान्त महासागर हुँदै संयुक्त राज्य अमेरिकामा बेलुन बम आक्रमण गरेको थियो । अफगानिस्तान र इराकमा अमेरिकी युद्ध चलेका बेला ‘जेनेरल अटोमिक्स एमक्यू–वान प्रिडेटर’ र ‘एमक्यू–नाइन रिपर ड्रोन’ प्रयोग भएका थिए । यसपछि नै ‘ड्रोन’ भन्ने शब्द लोकप्रिय भएको जोनाथन मर्कसले बीबीसीमा लेखेका छन् ।

सन् २०११ मा आइपुग्दा अमेरिकी सेनासँग ११ हजारवटा ठूला र महँगा ड्रोन रहेको तथ्यांक छ । सन् २०२० को जनवरीमा इरानी जेनेरल क्वासिम सुलेमानीलाई बगदाद विमानस्थलबाहिर मार्न रिपर ड्रोन (हन्टर–किलर) को प्रयोग गरिएको बताइन्छ । केही समयअघिसम्म अमेरिका र इजरायलले मात्रै यस्ता अपरेसन सञ्चालन गर्न सक्ने सामर्थ्य राख्थे । किनभने यी देशसँग आफ्नै ठूला ड्रोन उद्योग थिए/छन् । अहिले साना र आर्थिक रूपमा कमजोर देशहरूले पनि ड्रोन बनाउन वा खरिद गर्न सक्ने भएका छन् ।

हालको रुस–युक्रेन युद्धमा अर्बौं डलर खर्च गरिएका रुसका विशाल सशस्त्र वाहनहरूविरुद्ध युक्रेनी सैनिकले सफलतापूवर्क आफ्ना सैन्य–ड्रोन प्रयोग गरिरहेका छन् । उनीहरूका ड्रोन खासै ठूला वा जटिल प्रकारका छैनन् । यी कम लागतमा निर्माण गरिएका छन् भने यिनको उडान समय र दूरीमा सुधार गरिएको छ । टर्कीमा बनेको बेरक्टर टीबीटू ड्रोन प्रयोग गरी युक्रेनले रुसी रिसप्लाई भेहिकल र सर्फेस–टु–एयर मिसाइल लन्चर (सशस्त्र वाहन र तोप) नष्ट गरिरहेको छ ।

युद्धमा युक्रेनी प्रयोग नियालिरहेका विज्ञहरू ड्रोनले युद्धका नियम पुनर्लेखन गरिरहेको बताउन थालेका छन् । ‘कुनै बेला ट्यांक महत्त्वपूर्ण थिए,’ सैन्य अनुसन्धानकर्ता जोन पराचिनीले सीनेटसँग भनेका छन्, ‘अहिले ड्रोनहरू अझ बढी निर्याणक युद्ध–हतियार प्रणाली बन्न सक्छन् भन्ने देखिएको छ ।’ युक्रेनीहरूले युद्धमा करिब १ हजार वटा ड्रोन परिचालन गरेको बताइन्छ । यीमध्ये धेरै सामान्य खेलौनाजस्ता भएको एक सैनिक अधिकारले सिनेटलाई बताएका छन् । ‘तर, हामीसँग जे छ, त्यो (उपयोगी) छ,’ उनले भनेका छन् । व्यवसायबारे अनुसन्धान गर्ने कम्पनीहरूका अनुसार सैन्य ड्रोनको बिक्री प्रतिवर्ष ७ प्रतिशत दर बढेर सन् २०२६ मा १८ अर्ब डलर पुग्ने आकलन छ । सन् २०२१ मा १३ अर्ब डलर थियो ।

प्रकाशित : वैशाख २, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?