कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बुटवल–लुम्बिनी प्रसारण लाइन वैशाख अन्तिमबाट

एक महिनाभित्र आयोजना सञ्चालनमा ल्याउने तयारी
माधव ढुंगाना

भैरहवा — रूपन्देहीको भैरहवा र आसपासका व्यवसायी र सर्वसाधारणले वर्षौंदेखि भोग्दै आएको विद्युत् अभावको समस्या छिट्टै समाधान हुने भएको छ । बुटवल–लुम्बिनी १ सय ३२ केभी प्रसारण आयोजना सञ्चालनमा आउन लागेकाले विद्युत् अभाव समाधान हुने लगानीकर्ताको अपेक्षा छ । आयोजनासँगै नेपाल–भारतबीच विद्युत् व्यापारका लागि संरचना पनि तयार हुनेछन् । त्यसपछि नेपालले भारतलाई विद्युत् बिक्री गर्नेछ । एक महिनाभित्र आयोजना सञ्चालनमा ल्याउने तयारी छ ।

बुटवल–लुम्बिनी प्रसारण लाइन वैशाख अन्तिमबाट

आउँदो वैशाख अन्तिमतिर आयोजना सञ्चालनमा ल्याउने गरी निर्माण कार्य जारी रहेको आयोजना प्रमुख हरि पाण्डेले बताए । आयोजनाको प्रगति ८५ प्रतिशत पुगेको छ । मागअनुरूप विद्युत् उपलब्ध नहुनु र उपलब्ध विद्युत् पनि गुणस्तरीय नहुने समस्या अझै छ । विद्युत् अभावले उत्पादन कटौती गर्नुपर्ने बाध्यता यहाँका व्यवसायीलाई छ । ‘उद्योगका लागि आवश्यक विद्युत् उपलब्ध नहुने र विद्युत् उपलब्ध भएको समयमा पनि भोल्टेजमा एकरूपता नहुँदा उद्योग सञ्चालन गर्न अति कठिनाइ हुने गरेको छ,’ भैरहवा–लुम्बिनी औद्योगिक करिडोरस्थित बृज सिमेन्ट उद्योगका महाप्रबन्धक रविरञ्जन कुमारले भने, ‘विद्युत् आपूर्तिमा हुने गरेको अनियमितताले उत्पादन कटौती गर्नुपर्ने बाध्यता मात्रै होइन, लाखौं रुपैयाँ मूल्यका उपकरण बिग्रेका छन् ।’

क्षणक्षणमै आउने जाने र फरक–फरक भोल्टेजको विद्युत्ले गर्दा उद्योगमा राखिएको १८ लाख रुपैयाँ मूल्यको स्टेपलाइजर बारम्बार बिग्रिने गरेको र मर्मतका लागि भारतको पुनादेखि प्राविधिक झिकाउनुपर्ने बाध्यता रहेको उनले बताए । यो पीडा एक्लो उद्योगको मात्र नभएर समग्र उद्योगको साझा हो । केही दिनदेखि उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् पाइए पनि बारम्बार ट्रिपिङ हुने समस्या अहिले पनि विद्यमान रहेको उनले सुनाए । ‘भैरहवा क्षेत्रका उद्योगले माग गरेअनुरूपको विद्युत् उपलब्ध गराउनका लागि आवश्यक पर्ने संरचना धमाधम तयार भइरहेका छन्,’ पाण्डेले भने, ‘भैरहवा, लुम्बिनी क्षेत्रमा पहिलाको जस्तो विद्युत् अभाव र गुणस्तरहीन विद्युत् समस्या अब रहनेछैन ।’ आयोजना सम्पन्न भएपछि विद्यमान उद्योगले माग गरेअनुरूपको मात्र नभएर अहिलेको उद्योगको अनुपातमा दोब्बरभन्दा धेरै संख्यामा थप उद्योग सञ्चालन गर्न सकिने विद्युत् उपलब्ध हुने दाबी उनले गरे ।

भैरहवा क्षेत्रका उद्योगले उद्योगले बेहोर्नुपरेको विद्युत् अभाव, ओभरलोड, बारम्बार हुने ट्रिपिङ, कम र उच्च भोल्टेजलगायतका समस्या समाधानका लागि १ अर्ब १९ करोड रुपैयाँ लागतमा २०७२ सालदेखि आयोजना सुरु भएको हो । आयोजनाअन्तर्गत भैरहवा नजिकै मैनैया भन्ने स्थानमा सबस्टेसन निर्माण गरिएको छ । बुटवलमा रहेको राष्ट्रिय प्रसारण लाइन ग्रिडसँग जोडेर २ सय मेगावाट क्षमताको लाइन सबस्टेसनमा ल्याइएको छ । विद्युत्को यस खालको समस्याबाट भैरहवा क्षेत्रका उद्योगी मात्रै होइन, सर्वसाधारण पनि पीडित छन् । बिजुली आए पनि पानी तान्ने मोटर, लुगा धुने मेसिन, पंखा, एयरकन्डिसन, फ्रिज, कम्प्युटरजस्ता उपकरण नचल्ने र उच्च र कम भोल्टेजका कारण ती सामग्री बिग्रिने गरेकाले क्षतिपूर्ति उपलब्ध गराउनसमेत सर्वसाधारणले लिखित माग प्राधिकरणसमक्ष गरेका छन् ।

विद्युत् अभाव र गुणस्तरहीन विद्युत्का कारण तीव्र गतिमा अघि बढेको भैरहवा क्षेत्रको औद्योगीकरणको गति अवरुद्ध हुन पुगेको भैरहवाका व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवालले बताए । ‘विद्युत्को यो समस्या नभएको भए भैरहवा–परासी औद्योगिक करिडोरमा थप दुई दर्जन उद्योग स्थापना भई सञ्चालनमा आइसक्ने थिए,’ उनले भने, ‘विद्युत् सहज भए श्री स्टिल्ससँगै त्यस क्षेत्रमा अर्को उद्योगमा लगानी गर्ने मनसायमा छौं ।’ आफ्नो लगानीको अर्घाखाँची सिमेन्ट उद्योगमा कहिलेकाहीं प्रतिदिन १० पटकजति विद्युत् अवरुद्ध हुने गरेको र यसबाट कारखानाका उपकरण बिग्रिने, उत्पादन लागत बढ्ने हुँदा प्रतिस्पर्धा गर्न नसकिने अवस्था आएको उनले बताए ।

आयोजनाका अनुसार हाल भैरहवा क्षेत्रका उद्योग र सर्वसाधारणलाई करिब ६० मेगावाट विद्युत् आपूर्ति भएको छ । जबकि, उद्योग क्षेत्रबाट मात्रै विद्युत्को माग ९० मेगावाट छ । आयोजना सम्पन्न हुनासाथ ९० मेगावाट विद्युत् तत्कालै आपूर्ति गर्ने योजनामा आयोजना छ । पछि माग थप भएमा २ सय मेगावाट विद्युत् मैनैया सबस्टेसनबाट उपलब्ध गराउन सकिनेछ ।

‘वैशाखसम्म सबस्टेसन सञ्चालन गर्ने तयारीमा छौं,’ आयोजना प्रमुख पाण्डेले भने, ‘सबस्टेसन सञ्चालनमा नआएसम्म भैरहवा क्षेत्रको लोडसेडिङ थेग्न सकिने अवस्था छैन ।’ विगत दुई वर्ष कोरोनाका कारण लकडाउनले उद्योग बन्द हुँदा लोडसेडिङ हुनबाट भैरहवा क्षेत्र जोगिएको उनले बताए । मैनैया सबस्टेसनसँग जोडेर ‘मैनैया सम्पत्तिया १३२ केभी प्रसारण लाइन आयोजना’ पनि सँगसँगै अघि बढेको छ । मैनैया सबस्टेसनदेखि २७ किमि दक्षिण भारतको सम्पत्तियामा भारत सरकारले सबस्टेसन तयार गरिसकेको छ । मैनैया र सम्पत्तिया सबस्टेसन विद्युत् लाइन जोडिएपछि नेपाल–भारतबीच २ सय मेगावाट क्षमताको विद्युत् आयात निर्यात गर्ने बाटो तयार हुनेछ । आउँदो असार महिनासम्ममा यो योजना पनि सम्पन्न हुने तयारीमा छ ।

प्रकाशित : चैत्र २७, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?