सजिवनका पात पेलेर पाउडर- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सजिवनका पात पेलेर पाउडर

प्रतिकिलो ८५० देखि ३ हजार रूपैयाँसम्ममा बिक्री
सीमा तामाङ

काठमाडौँ — उपत्यकामा सजिवन (कोसा) को होलसेल मूल्य प्रतिकिलो ९० देखि १०० रुपैयाँ छ । स्थानीय र भारतबाट ल्याइएका सजिवनको होलसेल मूल्य भने प्रतिकिलो एक सय रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

तस्बिर : सटरस्टक

सजिवनको कोसा खुद्रा बजारमा प्रतिकिलो तीन सयदेखि चार सय ५० रुपैयाँ पर्छ । बजारमा विदेशी सजिवन बिक्रीवितरण भइरहे पनि किसानको जोड सजिवनको पातमा देखिन्छ । तराई क्षेत्रमा सबैजसोका घरमा हुने सजिवनको व्यावसायिक खेती पनि भइरहेको छ । व्यावसायिक खेती गर्नेले पनि सजिवनको कोसाभन्दा पातलाई जोड दिएका छन् । सजिवनको पातको पाउडर बनाएर प्रतिकिलो ८५० देखि ३ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको व्यवसायी बताउँछन् ।

सजिवनको पात ४५/४५ दिनको अन्तरमा टिप्न मिल्छ । यसको डाँठ, फूल, कोसा र बियाँ सबै प्रयोग गर्न मिल्छ । रूपन्देहीस्थित वैकण्ठपुरका गोविन्दप्रसाद कँडेलले ७ वर्षदेखि सजिवन खेती गरिरहेका छन् । रोजगारीका क्रममा ९ वर्ष दुबई बसेका उनले २०७१ सालमा साढे ३ लाख रुपैयाँ लगानी गरेर खेती सुरु गरेका हुन् । दुबईमा यसबारे जानकारी लिएका उनले तीन बिघा जग्गाबाट खेती सुरु गरेका थिए । अहिले २३ बिघामा यसको खेती गरिरहेका छन् । ‘सजिवनका पात औषधिमा, फूल अचारमा, कोसा तरकारीमा, बोक्रा र जरा पनि औषधिमा प्रयोग हुन्छ । तर मैले पात मात्र प्रयोग गरेको छु,’ उनले भने । कँडेलले इनोभेटिभ बहुउद्देश्यीय कृषि फर्म खोली प्रशोधन उद्योग पनि चलाएका छन् ।

स्थानीय किसानसँग प्रतिकिलो ४० रुपैयाँमा सजिवनका पात किन्ने गरेका उनले वार्षिक ५० टन पाउडर उत्पादन गरी बिक्रीवितरण गरिरहेका छन् । यसबाट अहिले वार्षिक १० देखि ५० लाख रुपैयाँ आम्दानी गरिरहको उनले सुनाए । ‘सुरुवातमा भारतको तामिलनाडुमा बीउ ल्याएर बिरुवा उत्पादन गरेको हुँ,’ उनले भने । अहिलेसम्म खेती र उद्योगमा ३० लाख रुपैयाँ लगानी भइसकेको उनले जानकारी दिए । ‘धेरै मात्रामा पाउडर लिइरहनेलाई प्रतिकिलो ८५० रुपैयाँमा बेच्छौं, खुद्रामा एक हजार रुपैयाँ पर्छ,’ उनले भने, ‘काँचो १० किलो सजिवनको पातको एक किलो पाउडर निस्कन्छ,’ उनले भने, ‘२३ जनालाई रोजगारी पनि दिएको छु ।’

सहिजन, सैजन, सजिवन, मनुगा, ड्रमस्टिक, शीतलचिनी, मोरिंगालगायत नामले सजिवनलाई चिनिन्छ । नेपालको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको तराई क्षेत्रमा उत्पादन हुने सजिवनका कोसाले बजार पाउनेमा ढुक्क नहुँदा किसान यसप्रति त्यति ढुक्क भने छैनन् । धेरैजसो किसानले सजिवनको पात नै टिपेर बेच्ने गरेका छन् । नेपालगन्जका हेमन्तराज काफ्लेसहितको ३ जनाको समूहले पनि १० वर्षदेखि सजिवन खेती गरिरहेको छ । काफ्लेको समूहले ५ वर्षदेखि चियापत्ती, तेल र पाउडर उत्पादन गरी बिक्रीवितरण गरिरहेको हो ।

सजिवनको पाउडर किलोकै तीन हजार रुपैयाँ पुग्छ । चियापत्ती भने प्रतिकिलो २५ सय रुपैयाँ पर्ने गरेको काफ्लेले बताए । उनीहरूले सजिवनको बियाँबाट तेल पनि उत्पादन गरिसकेका छन् । तर महँगो हुँदा बजारमा लैजान नसकिएको उनले सुनाए । ‘१० किलो सजिवनको दानाबाट एक लिटर मात्र तेल निस्कियो । बियाँ मात्र प्रतिकिलो ६ हजार रुपैयाँ छ,’ उनले भने, ‘यो हाम्रो कल्पनाबाहिरको भयो । त्यसैले निर्यात गर्ने कि भनेर जापानका व्यवसायीसँग छलफल अघि बढाइरहेका छौं ।’

प्रकाशित : चैत्र २५, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्

किसानलाई गहुँ भित्र्याउने चटारो

भवानी भट्ट

कञ्चनपुर — पश्चिम तराईमा गहुँ पाकेर खेतहरू पहेंलपुर भएका छन् । तिनै खेतहरूमा कतै गहुँ कटाइ र कतै थ्रेसिङ भइरहेको छ । चैत अन्तिमतिरको चर्को गर्मीसँगै कृषकहरूलाई गहुँ भित्र्याउने चटारो छ । उनीहरू सबै काम थाती राखेर यसमा जुटेका छन् ।

कार्तिक पहिलो साताको बेमौसमी बर्षाले धानवाली भित्र्याउन नपाएका कृषकहरू यतिबेला गहुँ भित्र्याउन धुमधामले लागेका छन् । एकातिर कृषि यन्त्रको प्रयोग नबढ्नु र अर्कोतर्फ कृषि मजदुरको अभावका कारण कृषकहरू समस्यामा परेका छन् । जसका कारण खेतीपाती लगाउन होस् वा भित्र्याउन धेरै समय लाग्ने गरेको छ ।

‘गहुँ पाकेर पुरै पहेंलपुर भएको छ, रात दिन नभनी काट्नुपरेको छ,’ कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का जनक जोशीले भने, ‘सिजनमा कामदार पाउन पनि गाह्रो हुन्छ ।’ उनको परिवारमा गहुँ काट्ने तीनजना मात्रै छन् । अन्य कामदार नपाए तीन जनाले मात्रै गहुँ काटनेदेखि थ्रेसिङ गर्न एक/डेढ हप्ता लाग्ने उनले बताए ।

ग्रामीण भेगमा गहुँसॅंगै मसुरो, केराउलगायतका दलहन बाली भित्र्याउने काममा कृषकहरू व्यस्त देखिन्छन् । कतिपयले चैत पहिलो साता नै गहुँ काटेर चैते धानको रोपाइँ पनि गरिसकेका छन् । ‘चैत लागेदेखि नै मसुरोदेखि गहुँ भित्र्याउने चटारो लाग्छ,’ शुक्लाफाँटा नगरपालिका–३ का रामु डगौंराले भने, ‘यसपालि हिउँदमा पानी परेकाले मसुरो त कुहियो तर गहुँ राम्रो छ ।’ उनका अनुसार विगतका वर्षमा एक/डेढ क्विन्टल मसुरो फल्ने खेतमा अहिले ४०/५० किलो पनि फलेन । कञ्चनपुरमा करिब ३५ हजार हेक्टरमा गहुँ खेती गरिन्छ । यहाँ गहुँको उत्पादकत्व ३ मेट्रिक टन प्रतिहेक्टर हाराहारी छ ।

प्रकाशित : चैत्र २५, २०७८ १२:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×