अर्थतन्त्रको अवस्थाले आत्तिहाल्नु पर्दैन, श्रीलंकाजस्तो हुँदैन : गुणाकर भट्ट- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थतन्त्रको अवस्थाले आत्तिहाल्नु पर्दैन, श्रीलंकाजस्तो हुँदैन : गुणाकर भट्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका वस्तु आयातमा रोक लगाइएको बताएका छन् । बिहीबार न्युज एजेन्सीसँग कुराकानी गर्दै उनले मुलुकको शोधनान्तरमा बढ्दो घाटा र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमी आएको बताए । 

‘केही वस्तुको आयातलाई हामीले रोक्न सक्छौं । सुन चाँदी, सवारीसाधन आयातलाई रोक्न सक्छौं । विदेशी मुद्रा सञ्चिति व्यवस्थापनमा थप दबाब आउन सक्ने भएकाले समयमा नै सम्हालिनुपर्छ भनेर राष्ट्र बैंकले भनेको हो । आत्तिहाल्नुपर्ने, अर्थतन्त्रमा संकट आयो भन्ने होइन । अहिले पनि राष्ट्र बैंकसँग ६.७ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति छ । करिब साढे ६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति जोगाएर राख्न सक्यौं भने आगामी दिनमा अर्थतन्त्रमा अप्ठेरो आउँदैन।’

मुलुकको अर्थतन्त्र संकट देखिएर नभई संभावित संकटबाट जोगाउनका लागि एउटा टुल्स प्रयोग गरी विलासिताका वस्तु आयातमा रोक लगाउन खोजिएको उनले बताए । पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेत समेत देखा परेको उनले दाबी गरे । उनले भने ‘आयात किन बढ्छ भन्दा आर्थिक गतिविधि पनि बढिरहेका छन् । पर्यटकीय गविधिहरु पनि बढिरहेका छन् ।’ रुस र युक्रेन युद्धका कारण त्यसबाट पनि अर्थतन्त्रमा समस्या आउन सक्ने भएकाले सतर्क हुनुपर्ने अवस्था भने रहेको उनले बताए ।

प्रवक्ता भट्टले नेपालको अर्थतन्त्र श्रीलंकाजस्तो अवस्थामा नपुग्ने बताए । श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको उनको भनाइ छ । श्रीलंकामा कुल गार्हस्थ उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्था आएको तर नेपालको कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत मात्रै विदेशी ऋण भएकाले तुलना गर्न नमिल्ने उनको दावी छ । उनले भने ‘श्रीलंकामा सरकारी स्वामित्वका संस्थाहरुको ऋण समेत जोड्ने हो भने सरकारको दायित्व कुल गार्हस्थ उत्पादनको ११७ प्रतिशत हुन आउँछ । श्रीलंका पछिल्लो समय आर्थिक व्यवस्थापन भन्दा बाहिर गएको थियो । करका दर घटाउने, करका दरहरुलाई खारेज गर्ने, सामाजिक सुरक्षाका कार्यक्रमहरुमा अनावश्यक रुपमा उदारता देखाउनेजस्ता गतिविधि भए ।’

तर हाम्रो मुलुकमा कोरोना महामारीबाट अर्थतन्त्र माथि उठ्न खोजेका बेला गत वर्ष उच्च रुपमा भएको कर्जा विस्तारको कारण दवाव देखिएको उनले बताए । उनले भने ‘उत्पादनभन्दा आयात, घरजग्गा र सेयर बजारमा बढी लगानी भएको प्रभाव स्वरुप पनि अहिले अर्थतन्त्रमा दबाब देखिएको अवस्था हो । अब विदेशबाट आउने रेमिट्यान्समा दबाब पर्दैन । वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ ।’ रुस र युक्रेन युद्धका कारण तेलको आपूर्तिमा हाल समस्या देखिएको उनले बताए । यद्यपि अर्थतन्त्रमा संकट तथा थप चुनौती आउन नदिनको लागि सरकारले दीर्घकालको लागि अहिले नै सोच्नु पर्ने अवस्था आएको उनले बताए ।



प्रकाशित : चैत्र २४, २०७८ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

तालमेलबिनै कांग्रेस स्थानीय निर्वाचनमा विजयी हुन्छ : कोइराला

विनोद भण्डारी

विराटनगर — नेपाली कांग्रेस नेता शेखर कोइरालाले आपसी तिक्ततालाई बिर्सेर नेता, कार्यकर्ता एक हुने हो भने आसन्न स्थानीय निर्वाचनमा कांग्रेसले कसैसँग तालमेल गरिरहन जरुरी नभएको बताएका छन् । 'महाधिवेशनको आपसी तिक्तता सबैले बिर्सँदै एक भएर चुनावमा होमियौ,' मोरङ कांग्रेसले बिहीबार विराटनगरमा गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा कोइरालाले भने कांग्रेसी एक हुने हो भने कसैले हराउन सक्तैन र गठबन्धनको पनि आवश्यक पर्दैन ।'

केन्द्रीय समितिले निर्णय नगरेसम्म पार्टीका नेता, कार्यकर्ताको सोचाई फरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै कोइरालाले आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्ने भनिए पनि जिल्ला र क्षेत्रलाई दबाब नदिए तालमेलबिनै कांग्रेस स्थानीय निर्वाचनमा विजयी हुने दाबी गरे । उनले आगामी स्थानीय निर्वाचनमा उम्मेदवारले गर्न सकिने काममा आधारित घोषणापत्र बनाउन निर्देशन दिए । भ्रामक घोषणापत्र बनाएर जनता भुल्याउने काम नगर्न उनको आग्रह थियो ।

केन्द्रीय सदस्य महेश आचार्यले संघीयता कम्युनिस्टको हातमा सुरक्षित नभएको आरोप लगाउदै साढे तीन वर्ष कम्युनिष्टले सरकार चलाउँदा मुलुक अहिलेको अवस्थामा गुज्रिएको दाबी गरे । एमाले सरकारले महिला हिंसा र बलात्कार नियन्त्रण गर्ने कानुन बनाएन र अहिले पनि संसद् चल्न नदिएर कानुन बनाउन नपाउँदा महिला हिंसा र बलात्कारका घटना मुलुकभरी बढेको आचार्यको भनाइ थियो ।

आगामी निर्वाचनमा कांग्रेस कोसँग जोडिएर जनतासामु जाने भन्ने कुरा गौण भएको उल्लेख गर्दै अर्का केन्द्रीय सदस्य मिनेन्द्र रिजालले कांग्रेस आफ्नै सिद्धान्त बोकेर निर्वाचनमा जनतासामु जानुपर्ने धारणा राखे । रिजालले गठबन्धन कांग्रेसलाई नभई सत्ता सहकर्मीहरुलाई चाहिएको बताए ।

केन्द्रीय सदस्यहरु अमृत अर्याल, डिला संग्रौला र भीम पराजुलीले पनि पार्टीको १४ औं महाधिवेशनले सिर्जना गरेको आपसी तुषलाई बिर्सिएर कांग्रेसजन एक भए आगामी तीनै तहका निर्वाचनमा जित निश्चित भएको दाबी गरे ।

यसअघि प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्की, कांग्रेस प्रदेश उपसभापति रमेशजंग रायमाझी र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले चुनावी तालमेलका विषयमा मञ्चमै जुहारी खेलका थिए । कोइराला समूहका कार्की र घिमिरेले चुनावी तालमेलको विरोध गर्दा देउवा समूहका रायमाझीले तालमेलको बचाउ गरेका थिए ।

प्रकाशित : चैत्र २४, २०७८ १८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×